कनकाई खबर / दिलमाया स्मृत्ति कप २०७८ को दोस्रो चरण अन्तर्गतको सुपर आठ फुटबल प्रतियोगिता आज सुक्रबारदेखि संचालन भएको छ ।
झापा क्षेत्र नं. ४ अन्तर्गत संचालन भएको वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ११ विजयी भएको छ । झापा गाउँपालिका ७ लाई १–० गोलअन्तरले पराजित गर्दै शिवसताक्षी ११ विजयी भएको हो ।
झापा क्षेत्र नं.४ का संघीय सांसद एलपी साँवा लिम्बूकी ममतामयी माता स्व.दिलमाया लिम्बूको स्मृत्तिमा वुद्धिमान साँवा लिम्बू साथै परिवारका तर्फबाट प्रायोजन गरीएको प्रतियोगिताको नेकपा एमालेका नेता एवम् संविधान सभाका सभामुख सुबास नेम्बाङ्ले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा विभिन्न जातजातीको झाँकी सहित सुपर आठ टिमका खेलाडीहरुले मार्चपास गरेका थिए ।
शिवसताक्षीको दुधेस्थित खेलमैदानमा संचालन भएको प्रतियोगितामा झापा क्षेत्र नं.४ का आठवटा टिमको सहभागिता रहेको बताइएको छ । यसअघि झापा क्षेत्र नम्बर ४ का २८ वडाबाट प्रतिगोगितात्मक छनौट खेल गरि उत्कृष्ट ८ टिमको छनौट गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख २५ हजार र दोस्रो हुने टिमले १ लाख २५ हजार रुपैँया पाउने मुल आयोजक समिति नेपाल खेलकुद महासंघका खेल संयोजक सुनिल भेट्वालले जानकारी दिए ।
संयोजक भेट्वालको सभापतित्व एवम् खेल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र ताम्लीको स्वागत मन्तव्य रहेको उद्घाटन समारोहमा नेपाल खेलकुद महा संघका केन्द्रिय अध्यक्ष रमेश पौडेल, प्रतियोगिताको प्रायोजक परिवारका तर्फबाट संघीय सांसद एलपी साँवा लिम्बू लगायतले सम्बोधन गर्दै खेलकुदलाई उद्योगको रुपमा विकास गर्दै समृद्धिसँग जोड्नु पर्ने बताए ।