कनकाई खबर / नेपाली काँग्रेसको जारी १४ औँ महाधिबेशन अन्तर्गत प्रदेश सभा (ख) को सभापतिमा ख्यामराज सिटौला अत्यधिक मतका साथ विजयी बनेका छन् ।
जिल्ला सभापतिका उम्मेद्वार देउमान थेवेको लाइनबाट उम्मेद्वार बनेका सिटौलासँगै विजेता बनेका पदाधिकारीहरुको परिणामले आगामी जिल्लामा हुने निर्वाचनको समेत अनुमान गर्न थालिएको छ ।
आज शुक्रबार भएको निर्वाचनमा सिटौलाले ३१७ मत प्राप्त गर्दै विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी नारद गिरीले ४९ मत मात्र प्राप्त गरेका छन् । पूर्वकै ऐतिहासिक जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र एवम् जामुनवारी सामुदायिक वन समूहको दोस्रो कार्यकालमा समेत निर्वाचन जितेका सिटौला पछिल्लो समय नेपाली कांग्रेसको सक्रिय राजनीतिमा थप क्रियाशिल देखिन्छन् । विद्यार्थी राजनीति हुँदै तरुण दल, नेपाल शिक्षक संघको जिल्ला समितिमा समेत वसेर काम गरिसकेका सिटौला विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत त्यतिक्कै सक्रिय रहेका छन् ।

त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधि खुल्ला तर्फ ७ जनाको आवश्यक पर्नेमा १० जनाको उम्मेद्वारी परेको साथै दलित खुल्ला तर्फ एकजनाको पदमा दुईजनाको उम्मेद्वारी मनोनयन भएपछि सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघमा सुक्रबार निर्वाचन भएको हो । प्रदेश अधिवेशन प्रतिनिधि खुल्ला तर्फ भएको निर्वाचनमा कुमारसिंह साँवालिम्बूले सबैभन्दा बढी मत ३४२ प्राप्त गरी विजयी बनेका छन् । शिवसताक्षी नगरपालिकाको एक ईमान्दार कर्मचारीका रुपमा समेत परिचित साँवा सामाजिक क्षेत्रमा पनि त्यतिक्कै सक्रिय छन् । सतासीधाम जेसीजका निवर्तमान अध्यक्ष समेत रहेका साँवा राजनीतिसँगै सामाजिक क्षेत्रमा लोकप्रिय मानिदै आएका छन् ।
साँवासँगै विजयी बनेका अग्नीप्रसाद राईले ३२२, जगन्नाथ राजवंशीले ३२२, अग्नीप्रसाद दुलालले ३०९, जीवन गिरी ३०९, दुर्गाप्रसाद उप्रेती ३०१, मनोजकुमार पोखरेलले २८० मत प्राप्त गरी विजयी बनेका छन् । प्रत्यासीका रुपमा रहेका भुवन बुढाथोकीले १२३, हेमराज विमलीले ८५ र टेकनाथ लुइटेलले ७५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । प्रदेश अधिवेशन प्रतिनिधि दलित खुल्ला तर्फ दिलीप विश्वकर्माले २७४ मत प्राप्त गरी विजय बनेका छन् भने उनका प्रत्यासी कैलाशमान दर्जीले ८२ मत प्राप्त गरेको जनाइएको छ ।
यसै विच हिजो विहिबार भएको उम्मेद्वारी मनोनय पछि सचिवमा पत्रकार घोर्साईँसहित १५जना निर्विरोध चयन भएका छ्न ।
कनकाई सुरुङ्गा प्रेस क्लवका पूर्व उपाध्यक्ष समेत रहेका घोर्साईँ लामो समय देखि संचार क्षेत्रमा क्रियाशिल छन् । स्थानिय स्तरका विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशिल युवा पत्रकार घोर्साईँ पत्रकार महासंघ प्रदेश नम्बर १ को परिषद सदस्य साथै नेपाल प्रेस युनियन झापाका सचिव समेत हुन् ।
निर्विरोध निर्वाचित हुने अन्य पदाधिकारीहरुमा उपसभापतीद्वय छत्रप्रसाद पाण्डे र रोहित खवास, अर्का सचिव बेदनिधि अधिकारी, सहसचिवद्वयमा सुन्दर बेस्रा र बिष्णु राजवंशी रहेका छन । यता प्रदेश अधिवेशन महिला प्रतिनिधिमा पुष्पा प्रसाईं, दुर्गा देबि ओली र तारा खड्का चयन भएका छन । कृष्ण प्रसाद अधिकारी, हिमादेवि ढुंगेल, गंगा बहादुर भुजेल, वर्षा श्रेष्ठ, नन्दकिसोर पोद्धार र अब्दुल हाकिम मियाँ पनि प्रदेश अधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन ।
यस क्षेत्रमा रहेका १७ वटा वडाका वडासभापति साथै क्षेत्रीय प्रतिनिधी गरी ४०४ जना मतदाता रहेकोमा ३९५ मत खसेको नवनिर्वाचित सचिव डिल्लीराम घोर्साईँले कनकाई खबरलाई जानकारी दिएका छन् ।