कनकाई खबर \ पार्टीको १० औं महाधिवेशनको संघारमा रहेको नेकपा एमालेभित्र यतिबेला नयाँ नेतृत्व चयनकालागि चहलपहल बढेको छ ।
महाधिवेशनकै तयारीकालागि केन्द्रको सर्कुलर अनुसार यही कात्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका स्तरको अधिवेशनकालागि पार्टीका कार्यकर्ता विच चहल पहल बढेको हो । यसै क्रममा कनकाई नगरको वडा र पालिका दुवै क्षेत्रको सर्वसम्मत नेतृत्व चयनकालागी पार्टीभित्र छलफल र बहस भइरहेको बताइएको छ । नेकपा एमाले कनकाई नगर कमिटीको नेतृत्वकालागि यतिबेला ५ जना आकांक्षीहरुको नाम चर्चामा आएको भएपनि आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वास गरिएको छ ।
नजिकै आइरहेको स्थानीय तह निर्वाचनमा पार्टीलाई अत्यधिक मतका साथ विजय गराउँनकालागि यो नेतृत्वको भूमिका महत्वपूर्ण रहने भन्दै पार्टीका अगुुुवा कार्यकर्ताहरुले सोही अनुरुपको अनुभव प्राप्त नेतृत्वको छनौटकालागि पहल भइरहेको बताएका छन् ।
यसै क्रममा यस अघि पनि सुरुङ्गा गाउँ कमिटीको अध्यक्षमा दुई कार्यकाल र नगर कमिटीमा एक कार्यकाल सचिवको जिम्मेवारीमा रहेर अनुभव प्राप्त गरेका आधारमा अबको नेकपा एमाले कनकाई नगरको नेतृत्व आँफूले गर्न पाउँनु पर्ने भन्दै कनकाईको वडा नं.४ का वडाअध्यक्ष समेत रहेका सालिन व्यक्तित्व गोविन्द पौडेलले नगर कमिटीको अध्यक्षकालागि आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका छन् । कनकाई नगरपालिकाको प्रवक्ता समेत रहेका पौडेल हाल पार्टीको क्षेत्रीय समिति सदस्यको जिम्मेवारीमा छन् ।
त्यस्तै पार्टीको क्षेत्रीय कमिटीकै जिम्मेवारीमा रहेका तुलाराम बस्नेत नगर कमिटीको अध्यक्षका अर्का दावेदार हुन् । पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका एक कुशल नेतृत्व कर्ताका रुपमा परिचित बस्नेतले यस अघि निर्वाचित जनप्रतिनिधिका रुपमा घैलाडुवा गाविसको उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका हुन् ।
त्यस्तै यस पटकको कनकाई नगरको नेतृत्व आँफूले पाउँनु पर्ने भन्दै पार्टीको क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारीमा रहेका खड्ग प्रसाईँले समेत आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो कुशल नेतृत्व प्रदान गरिसकेको आधारमा अबको कनकाई नगरको नेतृत्व आँफूले पाउनु पर्ने प्रसाईँको दावी छ । यस्तै पार्टीको क्षेत्रीय कमिटी सदस्य ओम पाठकले समेत कनकाईको नेतृत्व आँफूले पाउँनु पर्ने भन्दै दावेदारी प्रस्तुत गरेका छन् । सुरुङ्गा गाउँ कमिटी हुँदै कनकाई नगरको समेत पार्टी राजनीतिमा सक्रिय सहभागिता जनाउँदै आएका पाठक एक कुशल नेतृत्वकर्ताका रुपमा परिचित छन् ।
नेकपा एमाले सुरुङ्गा गाउँ कमिटी हुँदै हाल सम्म पनि कनकाई नगरको उपसचिवको जिम्मेवारीमा रहेका जुझारु युवा कृष्णकुमार खतिवडाले अबको नगरको नेतृत्व आँफूले पाउँनु पर्ने भन्दै अध्यक्षको दावेदारी प्रस्तुत गरेका छन् । अध्यक्षका अन्य आकांक्षीहरुको तुलनामा आँफूू मात्र पार्टीको नगर कमिटी भन्दा माथि नभएकाले यस पटकको कनकाई नगरको नेतृत्व आँफूले पाउँनु पर्ने खतिवडाको दावी छ । युवा संघ सुरुङ्गाको अध्यक्षको जिम्मेवारी समेत सम्हालीसकेका खतिवडाले यस अघि नेकपा कनकाई नगरको प्रवक्ताको जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरिसकेको बताएका छन् ।
नेकपा एमाले कनकाई नगर कमिटी साथै वडा कमिटीको समेत नेतृत्व चयन सर्वसम्मत हुने कुरामा आँफू विश्वस्त रहेको नगर कमिटीका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिएका छन् ।