कनकाई खबर / ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिले एक विशेष कार्यक्रमका विच सम्मान एवम् सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कनकाईको वडा नं.६ चम्पापुरस्थित गायत्री मन्दिरको सभा हलमा सम्पन्न कार्यक्रममा नगर क्षेत्रका १० जना ज्येष्ठ मातापितालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा वडा नं. १ देखि वडा नं. ९ सम्मका क्रमशः ७८ वर्षिय गंगादेवी पोखरेल, ८२ वर्षिय कृष्णमाया गिरी, ८५ वर्षिय पुण्यप्रसाद अधिकारी, ७९ वर्षिय दिननाथ पौडेल, ९५ वर्षिय मेघनाथ नेपाल, ८४ वर्षिय जंगवहादुर मगर, ८४ वर्षिय रमादेवी ओली, ७४ वर्षिय नरमाया काफ्ले, ७५ वर्षिय केदारप्रसाद चुडाल र मानिकचन मण्डल रहेका छन् । सम्मानित सबै ज्येष्ठ मातापितालाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रवक्ता एवम् कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौडेलले सम्मान गरेका थिए ।
ज्येष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सहसचिव यामनाथ सेड्याइँले स्वागत गरेका थिए । अध्यक्ष बाह्रकोटीले नगर क्षेत्रभित्रका निम्न वर्ग र समुदायका ज्येष्ठ नागरिकलाई सरकारका तर्फबाट विशेष परिचयपत्रको व्यवस्था गरी संरक्षण संवद्र्धन एवम् उचित व्यवस्थापन गर्नु पर्नेमा जोड दिए । मातापिता औंसीमा बुबाआमाको मुख हेर्ने भन्दा पनि स्वास्थ्य अवस्था साथै दुख पिडाका बारेमा नजिकैबाट बुझ्ने प्रयास भएमा मात्र पर्वको विशेष महत्व झल्कने भन्दै संघका अध्यक्ष बाह्रकोटीले सन्ततीलाई संस्कारयुक्त शिक्षाको आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अधिकृत हरीशरण महतले विपद व्यवस्थापनमा ज्येष्ठ नागरिकको भुुुमिकाको विषयमा प्रोजेक्टर मार्फत जानकारीमूलक प्रस्तुती दिएका थिए । त्यस्तै मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.टंकप्रसाद बाह्रकोटीले स्वास्थ्य सम्बन्धि सचेतनामुलक प्रस्तुती दिएका थिए । कार्यक्रममा उपस्थित सम्पुर्ण ज्येष्ठ नागरिकलाई प्राथमिक उपचार सेवाकालागि आवश्यक पर्ने औषधि निशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले ज्येष्ठ नागरिकहरुलाई समय सापेक्ष विभिन्न रोगका विषयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर संचालन गरेर स्वास्थ्य परिक्षण साथै उपचार सेवा उपलव्ध गराउँन सकेमा ज्येष्ठ नागरिकलाई सच्चा सम्मान हुने बताएका थिए ।
संघका नगर सचिव शम्भु पोखरेलले संचालन गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, नेत्रज्योती संघ झापाका अध्यक्ष मेमलाल राजवंशी, कनकाई नगरपालिका महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत टिका खतिवडा, सम्मानित व्यक्तित्व केदार चुडाल, संघको कनकाई ६ का अध्यक्ष पदम ओली, समाजसेवी तुलाराम बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।