कनकाई खबर / कनकाई खबर साप्ताहिक प्रकाशनको चौथो वर्षमा प्रवेश गरेको छ । समाजको सबै क्षेत्रको दरिलो साथ र समर्थन प्राप्त गरेकै कारण हाम्रो यो यात्रा निरन्तर अगाडि बढिरहने विश्वास दिलाउन चाहन्छौँ । हामी यस अवसरमा बलियो साथ दिनुहुने श्रद्धेय पाठक, सहयोगी विज्ञापनदाता, सिर्जनशील लेखक, सहयोगी एवम् शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दछौँ ।

पाली पत्रकारिता अझै पूर्ण व्यावसायिक बन्न सकेको छैन । त्यसमा पनि मोफसलका सञ्चार माध्यमहरु अभावका बीचमा सञ्चालन भइरहेका छन् । सञ्चार क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेकै आर्थिक स्रोत हो । अभावका बीचमा पनि कुनै दबाब र प्रभावमा नपरिकन पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारिताको धर्म र मर्म अनुरुप निष्पक्ष ढंगवाट अघि बढ्दै हामी चौथो वर्षमा प्रवेश गरेका हौँ ।
अरु क्षेत्रसँगै पत्रकारिता पनि कोरोना महामारीबाट प्रभावित बन्न पुगेको छ । यो विषम परिस्थितिमा हामी कति पनि विचलित भएनौँ । अभावका बाबजुद पनि जनतालाई सही र सत्य समाचार दिन हामी प्रयासरत् छौँ । कठिन अवस्थालाई सहज बनाउने प्रयत्नबाट हामी कति पनि विचलित भएनौँ र हुँदैनौँ । यो हाम्रो विश्वास हो ।
प्रविधिको विकाससँगै अघि बढेको अनलाइनसहितको कनकाई खबरले स्थानीय मुद्दाको संवेदनशीलतालाई अझै प्रभावकारी बनाएका छौँ । स्थानीय समाचार सधैंभरी हाम्रो प्राथमिकतामा पर्ने कुराको विश्वास दिलाउँदछौँ । आगामी दिनमा थप परिस्कृत बन्दै स्थानीय विषयलाई अझै गहिरो खोज र अनुसन्धान मार्फत पाठकमाझ पस्किरहने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
निश्चय नै अहिले पनि देशमा कोरोनाले आक्रान्त बनाएको छ । न्याय र अधिकार माग गर्नेहरु सडकमा अझै सक्रिय छन् । सत्तामा जोसुकै पुगे पनि आन्तरिक व्यवस्थापनमा देखिएको समस्याका कारण घातक श्रृंखला दोहोरिने गरेको यथार्थ सबै सामु छर्लङ्ग छ । यी र यस्तै विविध विषयवस्तुको पल पलको खबर जनता माझ राख्नका लागि यस साप्ताहिकको अनलाइन संस्करण समेत सञ्चालनमा रहेको पाठक वर्गमा सर्वविधित नै छ । अनलाइनमार्फत पनि अध्ययन गर्न सकिने यस अखबारका विषयमा केही सल्लाह सुझाव भएमा सम्पादकको व्यक्तिगत म्यासेन्जरमा सम्प्रेषण गर्न सहज हुने कुरालाई प्राथमिकता दिन चाहन्छौँ ।
अन्त्यमा, कनकाई खबर साप्ताहिकको चौथो वार्षिकोत्सवको अवसरमा नजिक आइरहेको नेपालीहरुको महान चाड वडादशैं, दिपावली, छठ पर्व, नेपाल सम्बद लगायतका चाडपर्वहरुको समेत सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।