माईधार \ झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित गैंडे सामुदायिक वनको आगामी तीन वर्षे कार्यकालका लागि नेतृत्व चयन भएको छ ।
शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार विहान सार्वजनिक भएको मतदान अधिकृत गणेशप्रसाद प्रसाईँले बताए । निर्वाचन प्रक्रियाद्वारा चयन गरिएको सामुदायिक वनको कार्यकारिणी समितिमा मिश्रित परिणाम आएको छ । नेकपा एमाले एक्लैको ७ र नेपाली कांग्रेस र माओवादी गठबन्धनको ६ पदका उम्मेदवार विजेता बनेका छन् । अध्यक्ष पदका लागि नेपाली कांग्रेसका नरबहादुर थपलिया बिजेता बनेका छन् । नेकपा एमालेका लिलाप्रसाद भट्टराईलाई ३१ मत फरकले हराउँदै अध्यक्ष पदका लागि थपलिया निर्वाचित भए । थपलियाले ४६६ र भट्टराईले ४३५ मत पाएका थिए । यस्तै सो पदका स्वतन्त्र उम्मेदवार सोमनाथ योङहाङले ९० मत पाएका थिए ।
यता नेकपा एमालेका तर्फबाट उपाध्यक्ष पदका उमेद्वार बनेका रामध्वज लावती विजयी बनेका छन् । उनले ५७२ मत प्राप्त गर्दा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका तर्फबाट उमेद्बारी दिएका ठाकुरप्रसाद ढकालले ४०६ मत पाएका थिए ।
सचिव पदमा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कुमारी योङहाङ ५४३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी बबिता विकले ४२४ मत पाइन ।
यता कोषाध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा–माओवादीका रबिन न्यौपाने विजयी भएका छन् । उनले ५५५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण अधिकारीले ४३१ मत पाएका थिए ।
यस्तै सदस्य पदमा नेकपा एमालेले ६ पदमा विजय हासिल गरेको छ । कमल प्रसाद तिम्सिना ४५२, बुद्धकुमार लिम्बू ५०१, इन्द्रबहादुर दमाई ४६५, कला सुब्बा ४९५ कोपिला मैनाली ४७१ र लीला भट्टराई ४४४ मत पाएर विजयी भएका छन् । यता गठबंधन अन्तर्गत नेपाली कांग्रेसका अर्जुन चौहान ४६६ र दिल कुमार पधालुङ ४५० मत पाएर विजयी भएका छन् ।