कनकाई खबर \ दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु भएको छ । कनकाई नगरपालिका र झापा गाउँपालिकाको छनौट खेल मंगलवारबाट सुरु भएको हो ।
दुबै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँवाले गरेका छन् । साँवाकी ममतामयी माता दिलमायाको स्मृतिमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको आयोजनामा झापा क्षेत्र नम्बर ४ अन्तर्गत वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।

कनकाई नगरपालिकाको छनौट खेल कनकाई माविको खेल मैदानमा भएको छ । सो खेलको उद्घाटन खेल संघीय सांसद साँवा र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संयुक्त रुपमा गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि साँवाले कोभिडका कारण थलिएको खेल क्षेत्रलाई थोरै भए पनि सहयोग पुर्याउन दिवंगत माता दिलमायाको स्मृतिलाई ताजै राख्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाबाट धेरै राष्ट्रिय खेलाडीहरु उत्पादन हुँदै आएको बताउँदै नगरपालिका धेरै भन्दा धेरै खेलाडीहरु उत्पादन गर्ने काममा अगाडि बढेको जानकारी दिए ।
कार्यक्रममा दिलमाया स्मृति कपका मुल समारोह समितिका संयोजक तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य सुनिल भेटवालले प्रतियोगिता भव्य र सभ्य बनाउन आयोजकबाट कुनै कसर बाँकी नराख्ने जानकारी दिदै प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार २ लाख २५ हजार र १ लाख २५ हजार रुपैँया रहेको बताए ।
कार्यक्रममा कनकाई ३ नम्बर वार्डका वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया लगायतले मन्तव्य राखेका थिए । कनकाई खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्सालले स्वागत गरेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, कनकाई ५ का वडाअध्यक्ष कृष्ण राई, कनकाई ३ का वडासदस्य छवि थपलिया, कनकाई ७ की वडासदस्य गीता चौहान लगायतको आतिथ्य रहेको थियो ।
पहिलो खेल कनकाई ३ र ६ बिच भएकोमा खेल अधुरो रहेको छ । समय बाँकी रहँदै अध्याँरो भएपछि बाँकी खेल बुधवार दिउँसो ३ बजेका लागि सारिएको आयोजक समितिका संयोजक तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य भेटवालले बताए । खेल गोल रहित बराबरी भएको थियो ।
झापा गाउँपालिकामा वडा ५ र ७ को विजयी सुरुवात
यस्तै झापा गाउँपालिकामा भएको पहिलो दिनको छनोट खेलमा वडा नं. ५ र ७ को बिजयी सुरुवात भएको छ । झापा–७ को जनकल्याण माविको खेल मैदानमा संघीय सांसद एलपी साँवाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटनकै दिन समूह ‘ए’ अन्तरगत झापा गाउँपालिका वडा ५ र १ बिच भएको पहिलो प्रतिस्पर्धामा वडा ५ बिजयी भएको छ । वडा ५ को जितमा उपहार गोल नै निर्णायक बनेको छ । ५ नम्बरका भरत हेमरमले हानेको गोललाई रोक्न खोज्दा अमरेस राईले आफ्नै गोलपोष्टमा बल छिराउँदा ५ नम्बर लक्की सावित भएको थियो । छेक्दा सो गोल पोस्टमा ठोकिएर गोलमा परिणत भएको थियो ।
त्यस्तै समूह ‘बि’ अन्तरगत भएको दोस्रो खेलमा वडा ७ ले वडा २ लाई ३–० को गोलान्तर पराजित गरेको छ । वडा ७ का मानबहादुर आलेमगरले एक्लै २ गोल गरे भने संजय टुडुले थप १ गोल गरे ।
झापा गाउँपालिकामा रहेका ७ वडा बिच छनौट खेल हुनेछन् । खेलको अन्तिम दुई स्थान हासिल गर्ने वडाले दिलमाया स्मृती कपमा हुने खेलमा सहभागी हुन पाउने प्रारम्भीक छनौट समितिका संयोजक सनित राईले बताए ।
यसरी नै क्षेत्र नं–४ मा रहेका प्रत्येक पालिकामा छनौट खेल हुनेछन् । कुल २८ वडामा हुने प्रारम्भिक छनौट खेलबाट दिलमाया स्मृती कपमा ८ टिम सहभागी हुन पाउँने प्रावधान रहेको खेल व्यवस्थापन समितिका संयोजक गजेन्द्र ताम्ली लिम्बूले बताएका छन् । ।