कनकाई खबर \ आफ्नो जीवन र जवानी खेलकुदकै क्षेत्रमा बिताएका खेलाडीहरुलाई खेल जीवनको अन्त्यसँगै आत्मनिर्भर हुुन सक्नेगरीको सुविधा हुनु पर्ने भन्दै नेपाल खेलकुुद महासंघका अध्यक्ष रमेश पौडेलले खेलाडीहरुको क्षमताका आधारमा नेपाल सरकारले ग्रेडिङ तोक्नु पर्ने बताएका छन् ।

झापाको क्षेत्र नम्बर ४ मा हुने वडास्तरीय फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार सुरुङ्गास्थित होटल डिलाइटमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष पौडेलले खेललाई उत्पादनसँग जोड्नु पर्ने र यसलाई व्यवसायिक बनाउँनु पर्ने तर्फ जोड दिए । खेलकुदको कुनै पनि विधामा दक्ष भएको एउटा खेलाडी आर्थिक रुपले समेत सम्पन्न हुन सक्ने गरीको वातावरण सिर्जना हुनु पर्नेमा नेपाल खेलकुद महासंघका अध्यक्ष पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन् ।
एमालेको भातृ संगठनका रुपमा रहेको नेपाल खेलकुद महासंघको आयोजना एवम् बुद्धिमान साँवा लिम्बू साथै साँवा परिवारको संरक्षण तथा प्रायोजन रहने दिलमाया स्मृति कप फुटबल प्रतियोगितामा झापाको क्षेत्र नं.४ का २८ वटा वडाका खेलाडीहरुले सहभागिता जनाउँने भएका छन् । प्रत्येक वडाबाट २० जना खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउँने व्यवस्था गरीएको छ । पत्रकार सम्मेलनकै अवसरमा २८ वडा वडाका खेलाडीहरुलाई जर्सी र १–१ वटा फुटवल पनि वितरण गरिएको छ ।

प्रतियोगिताको लागि कनकाई नगरपालिकाबाट ७ वटा वडा, झापा गाउँपालिकाका ७ वटा, शिवसताक्षी नगरपालिकाका ११ वटा वडा, गौरादह नगरपालिकाको एक र गौरीगञ्ज गाउँपालिकाका २ वडाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने महासंघका केन्द्रिय सदस्य एवम् खेल संयोजक सुनिल भेटवालले जानकारी दिए । क्षेत्र नं. ४ अन्तर्गत कनकाई नदी पूर्व १४ र पश्चिममा १४ वटा वडा रहेका छन् । जसअनुसार कनकाई र झापाबाट दुई—दुई, शिवसताक्षीबाट तीन र गौरीगञ्ज र गौरादहबाट एक टिम छनोट चरण पार गरेर अन्तिम आठमा प्रवेश गर्ने खेल व्यवस्थापन संयोजक गजेन्द्र ताम्ली लिम्बूले बताए ।
स्थानीय वडाहरुले आफ्नो पालिकामा छनोट चरण खेल्ने छन् भने क्वार्टर फाइनलदेखिका सात खेल दुधे खेल मैदानमा हुने छन् । पालिकाको छनोट खेलहरु असोज १२ गतेबाट सुरु हुने छन् भने अन्तिम आठको खेल तथा उट्घाटन कार्यक्रम कात्तिक ८ गते र फाइनल खेल कात्तिक १६ गते हुने महासंघले जनाएको छ । संयोजक भेटवालका अनुसार प्रतियोगिताका विजेताले नगद दुई लाख २५ हजार र उपविजेताले एक लाख २५ हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, अन्तिम आठबाट बाहिरिने चारवटा टिमले नगद १५ हजार र अन्तिम चारबाट बाहिरिने दुई टिमले नगद २५ हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ५०० रुपैयाँ पाउनेछ । व्यक्तिगत विधातर्फ उच्च गोलकर्ताले सात हजार ५०० तथा उत्कृष्ट रक्षक, उत्कृष्ट मिड फिल्ड र उत्कृष्ट गोलरक्षकले समान पाँचपाँच हजार रुपैयाँ पाउने भेटवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ७० हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आयोजक नेपाल खेलकुद महासंघले २८ वटै टिमलाई आज ६०० थान जर्सीसमेत प्रदान गरेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न दिलमायाको स्मृतिमा उनका पति बुद्धिमान साँवा तथा साँवा परिवारले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने बताइएको छ । स्वर्गीय दिलमाया सो क्षेत्रका संघीय सांसद एलपी साँवा लिम्बूकी आमा हुन् । कम्युनिष्ट आन्दोलनकी सेल्टरदाताको रुपमा रहेकी दिलमायाको उच्च सम्मान गर्दै उनको स्मृत्तिमा फूटबल प्रतियोगिता संचालनमा ल्याइएको हो । प्रतियोगितालाई निरन्तरता दिने उद्येश्यले स्थापना गरिएको दिलमाया स्मृत्ति अक्षयकोषमा साँवा परिवारका तर्फबाट १ लाख १ हजार १११ रुपैंयाको चेक हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सांसद साँवाले लिम्बु परंम्परामा आफ्ना दिवंगत हुने परिवारका सदस्यहरुको स्मृतिमा चौतारो, पाटी, पौंवा बनाउने चलन थियो, त्यो चलन अहिले आवश्यक नपर्ने भएको छ । चौतारो बनाउनुको साटो आमाको स्मृतिमा फुटवल खेलाउने पारिवारको सल्लाह भएपछि लामो समयको लक डाउनले ठप्प रहेको खेलकुद क्षेत्रलाई चलायमान बनाउन खेल खेलाउन पाएकोमा खुशी लागेको बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष दिपेन्द्रप्रसाद दाहाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, एमाले झापाका कार्यालय सचिव शिव ढुंगेल लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए । खेल संयोजक सुुनिल भेट्वालको सभापतित्वमा सम्पन्न भएको पत्रकार सम्मेलनको संचालन आयोजक समितिका सदस्य भिम लिवाङ्गले गरेका थिए ।