कनकाई खबर / कनकाई नगरपालिकाले नगर क्षेत्रका कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विद्यालय पोशाकमा एकरुपता ल्याउँने भएको छ ।
नगर क्षेत्रमा रहेका १४ वटा सामूदायिक विद्यालयमा अध्ययनरत वालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीको सदनात्मक पोशाक (हाउस ड्रेस) मा एकरुपता ल्याउँनलाई नगरपालिकाले १९ लाख बजेट बिनियोजन गरी पोशाक वितरण सुरु गरिसकेको छ । पोशाकको अग्र भागमा कनकाई नगरपालिकाको लोगो र पछाडीको भागमा ‘कनकाई नगरपालिका’ लेखिएको सदनात्मक पोशाक वितरणकालागि कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल सम्बन्धित विद्यालयहरुमा आफैं उपस्थित भएर पोशाक वितरणको प्रारम्भ गरेका हुन् ।

कनकाई ६ स्थित चम्पापुर माविमा पोशाक वितरणको सुरुवात गर्दै नगर प्रमुख पोखरेलले मुलुकको समृद्धि भनेकै शैक्षिका सुधारको कार्यक्रम रहेको बताएका छन् । कनकाई नगर क्षेत्रको शैक्षिक सुधारकालागि नीतिगत परिवर्तनलाई पहिलो प्राथमिक्तामा राख्दै कनकाई नगरपालिकाले योजना तर्जुमा गरेको नगर प्रमुख पोखरेलले जानकारी दिए । कनकाई नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुमा एउटा छुट्टै पाठ्यक्रम समेत संचालनमा ल्याइसकेको बताइएको छ ।
कनकाई नगरीलाई शैक्षिक हबको गन्तव्य बनाउँने योजनाका साथ स्थानीय सरकार क्रियाशिल रहेको भन्दै नगर प्रमुख पोखरेलले जेहेन्दार तथा विपन्न वर्ग र समुदायका बालबालिकाको शैक्षिक स्तर वृद्धिकालागि छात्रवृत्ति लगायत विशेष योजना बनाएर अघि बढेको बताए । नगर क्षेत्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरणको सुरुवात गरेका नगर प्रमुख पोखरेलले पहिलो दिन चम्पापुर माविका १५० र कनकाई ४ स्थित सिंहदेवी आधारभूत विद्यालयका ३६५ विद्यार्थीलाई विद्यालय परिसरमै गएर पोशाक वितरण गरेका हुन् ।

चम्पापुर माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्मभूषण सिटौलाको सभापतित्वमा सम्पन्न पोशाक वितरण कार्यक्रममा समितिका सदस्य होमनाथ खतिवडाले नगर क्षेत्रका विद्यालयको शैक्षिक सुधार साथै भौतिक संरचना निर्माणमा स्थानीय सरकारबाट महत्वपूर्ण भूमिका निर्वाह भइरहेको भएपनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सोचेअनुुरुप वृद्धि हुन नसक्दा निजी विद्यालयहरुले यसको फाइदा लिइरहेको बताए । गुणस्तरीय शिक्षाकालागि सामुदायिक र निजी विद्यालय विचको दुरीलाई समानान्तर बनाउँन स्थानीय सरकारबाट थप कार्य योजना निर्माण हुनु पर्नेमा खतिवडाले जोड दिए । विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालाले विद्यालयको शैक्षिक सुधारकालागि स्थानीय सरकारबाट थप सहयोगको अपेक्षा राख्दै नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक रुद्रवहादुर थापाले गरेका थिए ।
उता सिंहदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र डाँगीको सभापतित्व एवम् नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न पोशाक वितरण कार्यक्रममा विद्यालयमा अध्ययनरत वालविकासदेखि कक्षा ५ सम्मका ३६५ विद्यार्थीलाई सदनात्मक पोशाक वितरण गरिएको बताइएको छ । स्थानीय सरकारबाट वितरण भएको विद्यालय पोशाकले विद्यार्थीमा हौसला जगाएको साथै अभिभावकलाई समेत राहत मिलेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डाँगीले स्थानीय सरकारको सहयोगप्रति खुशी व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक डम्बरप्रसाद फूयालले स्वागत मन्तव्य राख्दै स्थानीय सरकारले शैक्षिक सुधारकालागि ल्याएको प्याकेज थप प्रशंसनीय रहेको बताएका छन् । विद्यालयमा यस किसिमको सदनात्मक पोशाक प्रयोगमा आइरहेको भएपनि अभिभावकहरुले आफ्नै खर्चमा व्यवस्थापन गर्दै आइरहेका थिए । अब स्थानीय सरकारबाटै सहयोग प्राप्त भएपछि अभिभावकहरुलाई समेत केही राहत मिलेको भन्दै प्रधानाध्यापक फूयालले विद्यालयका थप विविध समस्याका बारेमा नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए । विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थीसहितको उपस्थितीमा भएको पोशाक वितरण कार्यक्रमको संचालन शिक्षक विरेन्द्र ओलीले गरेका थिए । पोशाक वितरणको अभियान यहि रुपमा नगर क्षेत्रका सवै विद्यालयमा यसै साता सम्पन्न हुने बताइएको छ ।