कनकाई खबर \ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ( एन.एम.सी) ले सुरुङ्गा एकाईको एकाईगत साधारणसभा सम्पन्न गरेको छ ।

सहकारीको परिवर्तित विधान अनुसार सबै सदस्यलाई वार्षिक साधारण सभामा उपस्थित गराउन नसक्ने भएकोले यसरी एकाईगत रुपमा साधारण सभा संचालन गरिएको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताएका छन् । एकाईगत रुपमा साधारण सभा सम्पन्न गर्दै २९ औं वार्षिक साधारणसभाकालागी प्रतिनिधी छनौट गरिएको बताइएको छ । सेवा विस्तारका क्रममा झापामा ४१ स्थानमा साथै मोरङ् र ईलाममा १\ १ स्थानमा गरी ४३ वटा एकाईको यतिबेला एकाईगत साधारण सभा धमाधम भइरहेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
सुरुङ्गा एकाईगत समितिका संयोजक मीनकुमार प्रधान(गोपाल) को सभापतित्व एवम् कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँको प्रमुख आतिथ्य रहेको कार्यक्रम कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख प्रसाईँले सहकारी संस्था भएर पनि नेपाल बहुुउद्येश्यीय सहकारी संस्था बचत तथा ऋणको कारोबारमा मात्र सिमित नभई समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै खुशी व्यक्त गरेकी छन् । संस्थाले बचत तथा ऋणको कारोबारसँगै सदस्यलाई आत्मनिर्भर बनाउँदै स्थानीय सरकारको समेत साझेदारी संस्था झैं बनेर समुदायको हितकालागि खेलेको भूमिकाको बारेमा उपप्रमुख प्रसाईँले प्रशंसा गरेकी छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सञ्चालक समितिकोतर्फबाट समितिका सदस्य खेमनाथ मिश्रले वार्षिक साधारण सभाकालागि अध्यक्षले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि व्यापक छलफल र सुझाव सहित पारित गरिएको थियो । सुरुङ्गा एकाईगत समितिका सदस्य गोकर्ण ओझाले स्वागत गरेको कार्यक्रमको संचालन सुरुङ्गा कार्यालयका प्रमुख धर्मेन्द्र सुवेदीले गरेका थिए ।