कनकाई खबर / जिल्ला प्रशासन कार्यालय झापाले विर्तामोडका व्यवसायीलाई गरेको अन्यायप्रति चेम्बर अफ कमर्श कनकाईले विज्ञप्ती प्रकाशित गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
झापाको व्यस्त बजारका रुपमा रहेको विर्तामोड ५स्थित फुटस्टेप होटलका संचालक तीलहाङ लिम्बूलाई निषेधाज्ञाको समयमा नियम विपरीत होटल संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले २० हजार रुपैंयाँ जरिवाना गराएको विषयमा चेम्बर अफ कमर्श कनकाईले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
व्यवसायीको वर्तमान असहज परिस्थितीलाई नजरअन्दाज नै नगरी प्रशासनले गरेको दण्डप्रति चेम्बर अफ कमर्श कनकाईले दुःख व्यक्त गरेको छ । मुलुकको अर्थतन्त्र व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने उद्योगी, व्यवसायीहरुको कोरोना महामारी र निषेधाज्ञाका कारण दैनिक जीवन कष्टकर बन्दै गएको साथै बैंक र साहुको व्याज समेत तिर्न नसक्ने दयनीय अवस्था सिर्जना भएको यो संकटको घडीमा प्रशासनबाट भएको यस किसिमको दण्ड जरिवाना न्याय संगत नभएको चेम्बर अफ कमर्श कनकाईका अध्यक्ष मीनाल तिम्सिनाले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाइएको छ ।
संक्रमणकालिन यो अवस्थामा व्यवसायीलाई कोरोना विरुद्धको प्रयाप्त खोपको समेत व्यवस्था नहुनु , दैनिक उपभोग्य सामाग्री नष्ट भएर जानु साथै दैनीक रुपमा हुने आर्थिक व्ययभारका कारण मानसिक रुपमा निराश बन्दै आएका व्यवसायीहरु प्रशासनका कारण अब आक्रोस पोख्दै सडकमा जाने अवस्था सिर्जना हुन लागेको भन्दै समयमै सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको विज्ञप्तीमा बताइएको छ ।
प्रशासनको धरपकड, दण्ड जरिवाना नै समस्या समाधानको कडी होइन भन्ने कुरामा जोड दिँदै चेम्बर अफ कमर्श कनकाईले समयमै सम्बन्धित निकायको ध्यान जान नसकेमा समय बितिसकेपछि पछुताउँनु सिबाय अरु केही नहुने भन्दै विज्ञप्ती मार्फत सम्बन्धित निकायको ध्यान केन्द्रित गर्न चाहेको जनाएको छ ।
व्यवसायीहरुको संस्था कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेतीले ब्यवसायीमाथिको दण्ड जरिवाना खेदयोग्य भएको जनाएका छन् । दलका र्याली र प्रदर्शनमा कहाँ छ प्रशासन ? किन तमासे मात्रै बन्छ प्रशासन ? लकडाउन समस्याको समाधान होईन तर खोई त खोप ? भन्ने प्रश्न गर्दै वरिष्ठ उपाध्यक्ष उप्रेतीले ब्यवसायीहरुमाथिको निरन्तर प्रहार निन्दनीय भएको बताएका छन् । यस्तो कार्यको प्रतिवाद गरौं भन्दै उप्रेतीले समस्यालाई जटिल बनाउँन होइन सम्बन्धित संघसंस्थाहरुले सहजीकरण गर्न चाहेको प्रतिक्रिया दिएका छन् ।