हजुरआमाको प्रेरणाबाट मानव सेवामा लाग्ने हौसला जागेको हो : लिलाप्रसाद चिमरीया
कनकाई खबर / झापाको कनकाई नगर क्षेत्रका सामाजिक अभियन्ता रुद्रप्रसाद चिमरीया र नेत्रप्रसाद चिमरीया लगायतकी ममतामयी माता पवित्रा चिमरीयाको निधन भएको छ ।
कनकाई ५ चप्रामारीस्थित कान्छा छोरा नेत्रप्रसाद चिमरीयासँग बस्दै आएकी माता चिमरीयाको ९४ वर्षको उमेरमा साउन २४ गते बेलुका निधन भएको बताइएको छ । वि.सं.१९८४ को साउन २४ गतेका दिन जन्मिएकी माता चिमरीयाको आफ्नो जन्मोत्सवकै दिन पारेर साउन २४ गतेकै दिनमा परमधामगमन भएको हो । स्व.चिमरीया १२ वर्ष अघिदेखि नै उच्च रक्तचापका कारण अस्वस्थ बन्दै आएकी थिइन् । विभिन्न अस्पतालमा औषधिउपचार भइरहेपनि तीन वर्ष अघिदेखि स्मरण शक्ति कमजोर भएकी चिमरीया, परिवारको विशेष रेखदेखमा रहँदै आएकी थिइन् ।
स्व.चिमरीयाका दुई छोराबुहारी रुद्रप्रसाद \ धनमाया र नेत्रप्रसाद \ मीना चिमरीया साथै एक छोरीज्वाइँ धनमाया \ धनपति भट्टराई रहेका छन् । जेठा छोरा सामाजिक अभियन्ता रुद्रप्रसाद चिमरीया कनकाई सामुदायिक वन समूहका पूर्व अध्यक्ष साथै कनकाई ३ का वर्तमान वडाअध्यक्षको जिम्मेवारीमा रहेका छन् भने कान्छा छोरा नेत्रप्रसाद चिमरीया नेपाली कांग्रेसको नगर सभापतिको जिम्मेवारीमा २०५९ देखि नै निरन्तर रुपमा पार्टी राजनितीमा कनकाईको नेतृत्वमा छन् । कनकाई ५ स्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.साथै सुरुङ्गा—शरणामति सिंचाईँ आयोजनाको अध्यक्षको जिम्मेवारीमा रहेका नेत्र चिमरीया सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।
स्व. चिमरीयाका १४ जना नातिनातिना मध्ये युवा सामाजिक अभियन्ता सुरुङ्गा जेसिज एवम् लायन्स क्लव कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लिलाप्रसाद र लता चिमरीया साथै सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष एवम् कनकाई उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष त्रिलोचन र ममता चिमरीया, युवा समाजसेवी विष्णु र बबिता, गोपाल र रुपा चिमरीया रहेका छन् । त्यस्तै नातीहरु विर्तामोड निवासी युवा सामाजिक अभियन्ता वुद्धिराम र यशोदा, सुवास र रीमा, उमेश र बिमला, दिनेश र चन्द्रा, एवम् तेजप्रकाश भट्टराई साथै नातिनीहरु अम्बिका र केशव मैनाली , पार्वता पाठक, विमला र सन्तोष सुवेदी, चन्द्रा र ध्रुव सुवेदी, कल्पना र कृष्ण काफ्ले रहेका छन् । परिवार साथै समाजकै मार्गनिर्देशकका रुपमा रहेकी सरल, शान्त र धार्मिक स्वभावकी धनी स्व. चिमरीयाका २६ पनातिपनातिना रहेका छन् ।
एक असल संस्कारी अभिभावकका रुपमा स्थापित हजुरआमाबाटै आँफुहरुले सेवाभावमा लाग्ने प्रेरणा पाएको युवा सामाजिक अभियन्ता लिलाप्रसाद चिमरीया बताउँछन् । आँफू २८ वर्षकी हुँदा वि.सं.२०१२ सालमा श्रीमान् दुर्गाप्रसाद चिमरीयाको निधन भएपछि दुधे बालक छोराछोरीको लालनपालनमा अत्यन्तै संघर्ष गर्दै आएकी स्व.चिमरीयाले आफ्ना तीन सन्तानलाई कहिल्यै पनि बुबाको अभाव हुने गरीको महशुस हुन नदिएको कान्छा छोरा नेत्रप्रसादले कनकाई खबरसँगको कुराकानीमा बताए ।
अत्यन्तै सहयोगी एवम् धार्मिक स्वभावकी धनी स्व.चिमरीयाबाट स्थानीय स्तरमा विभिन्न धार्मिक, शैक्षिक तथा सामाजिक संघसंस्थाहरुको स्तर वृद्धि साथै भौतिक संरचना निर्माणमा उत्साह र हौसलाका साथ महत्वपूर्ण सहयोग पुगेको स्थानीयवासी बताउँछन् । मानिसको चोला लिएर धर्तीमा जन्म लिएपछि समाजमा मान्छेजस्तो भएर बाँच्नुपर्छ भन्ने उपदेशकै कारण मानव सेवामा लाग्ने प्रेरणा परिवारमा जागेको स्व.माताका नाती लिलाप्रसाद चिमरीया बताउँछन् ।
स्व.पवित्रा चिमरीयाको निधनप्रति कनकाई खबर साप्ताहिक एवम् कनकाई खबर डटकम अनलाइन परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै कनकाई खबरका सम्पादक तथा प्रकाशक रामप्रसाद निरौलाले दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामनाका साथ हार्दिक समवेदना प्रकट गरेका छन् ।
