कनकाई खबर / कोरोना भाइरसको संक्रमण तिव्र गतिमा अघि बढेसँगै सरकारलाई खोप खरिदमा सहयोग पुर्याउँने उद्येश्यले झापामा क्रियाशिल एक सहकारी संस्थाले १० लाख डोज खोप खरिद गर्ने घोषणा गरेको छ ।
देशकै उत्कृष्ट र सबैभन्दा ठूलो सहकारी संस्थाको रुपमा परिचित झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप खरिद गर्ने घोषणा गरेको हो ।
‘यदि मिल्छ भने १० लाख डोज खोप सहारा नेपालले खरिद गर्न तयार छ’– संस्थाका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले भन्नुभयो– ‘झापावासी र संस्थाका सदस्यहरुका लागि आफै खरिद गरेर खोप लगाउन हामी तयार छौं ।’
संस्थाका सचिव समेत रहनुभएका गिरीले उक्त कार्यका लागि आवश्यक पहल गरिदिन स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘सरकारले अनुमति दिने हो भने सहकारी र सामुदाय मिलेर सबै झापावासीका लागि तत्काल खोप उपलब्ध गराउन सकिन्छ । यसका लागि जनस्तरबाट समेत खबरदारी र राजनीतिक तहबाट सरकार समक्ष पहल कदमी आवश्यक छ ।’
अहिलेसम्म सरकारले समुदाय तथा निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको छैन । यदि सरकारले निर्णय गरेर निजी क्षेत्रलाई जिम्मेवारी दिने हो भने झापाका लागि भारत, चीन तथा तेस्रो मुलुकबाट तत्काल खोप ल्याउन सकिने सामाजिक अभियन्ता तथा एकका लागि एक अभियानका संयोजक समेत रहनुभएका गिरीले बताउनुभयो ।
विभिन्न मुलुकले अनुदानमा दिएको तथा सरकारले चिनबाट खरिद गरेको खोप नेपालका थोरै मात्र नागरिकले लगाएका छन् । अधिकांश नागरिकहरु खोपबाट बञ्चित छन् । विकसित मुलुकहरुमा अधिकांश नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
नेपालमा पर्याप्त मात्रामा खोप उपलब्ध नहुँदा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । झापासहित मुलुकका १० जिल्ला संक्रमित संख्याको उच्च सूचीमा छन् । आफ्ना सदस्य र झापावासीको स्वास्थ्य सुरक्षाका लागि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत एकदेखि डेढ करोड रुपैयाँसम्म खोप खरिदमा लगानी गर्न सकिने गिरीले बताउँनुभयो ।