कनकाई खबर \ कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि कनकाई माविको एसएलसी वर्ष २०६१ को ब्याचले १ लाख ४ हजार ५ सय १७ रुपैंयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको यो समयमा कनकाई नगरपालिकाले प्रस्तावित नगर अस्पतालमा स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्येश्यले आर्थिक सहयोग गरेको कनकाई मावि पूर्व विद्यार्थी समाज २०६१ ब्याचका संयोजक पुष्पराज ढकालले बताए । स्थानीय सरकारले चालेको अभियानमा आफूहरुको समेत दायित्व सम्झेर पूर्व विद्यार्थीहरुबाट सामाजिक संजाल मार्फत भएको कुराकानीका आधारमा संकलन भएको सहयोग रकम हस्तान्तरण गरिएको पूर्व विद्यार्थी समाजका ढकालले जानकारी दिए । पूर्व विद्यार्थी समाजका ढकालसहित उमेश अधिकारी, सुरेश सिटौला, लिलानाथ अधिकारी, सल्मा श्रेष्ठ, निर्मला खड्का र प्रधानाध्यापक कर्णवहादुर डाँगी समेतको उपस्थितीमा कनकाई नगरपालिकाको कार्यालयमा नै गएर सहयोग रकम हस्तान्तरण गरिएको हो ।
कोरोना भाइरसका कारण संक्रमित भएका विरामीहरुले सहज रुपमा अक्सिजन नपाएर ज्यान गुमाइरहेको वर्तमान अवस्थामा कनकाई नगरपालिकाले चालेको अभियानका बारेमा झापाको कनकाई नगरबाट प्रकाशन हुँदै आएको यहाँको लोकप्रिय संचार माध्यम कनकाई खबर डटकम अनलाइन मार्फत समाचार सार्वजनिक भएपछि दाताहरुबाट सहयोग रकम संकलन हुने क्रम तिब्र गतिमा अघि बढेको छ ।
कनकाई माविको एसएलसी वर्ष २०६१ को ब्याचबाट यो महामारीको समयमा भएको सहयोग महत्वपूर्ण भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । अक्सिजन प्लान्ट सहयोग तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका नगरपालिकाका प्रमुख पोखरेलले यस महान मानवीय कार्यमा जोडिनुभएकोमा सहयोगी मनहरुप्रति हार्दिक आभार प्रकट गर्दै सुस्वास्थ्य एवम् दिर्घायुको कामना गरेका छन् ।
साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई तपशिलमा उल्लेखित विवरणको खातामा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने नगर प्रमुख पोखरेलले जानकारी गराएका छन् ।
नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१