कनकाई खबर \ कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि सहयोग रकम जुट्ने क्रम जारी छ ।

यसै क्रममा कनकाई ६ चम्पापुर स्थायी बसोबास भएका होम प्रसाद र ललिता खतिवडाले हाल अस्ट्रेलिया स्थित सिड्नीमा बस्दै आएका छोराबुहारी निरोज र दिपीका सहित परिवारको तर्फबाट एक लाख रुपैंया सहयोग रकम हस्तान्तरण गरेका छन् । खतिवडा दम्पतीले नातिनी एलोराईमानको मिति २०७७ \ १२ \२६ गतेका दिन आगमन भएको खुसियालीमा स्थानीय सरकारप्रमुख राजेन्द्र पोखरेल र वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीलाई निजी निवासमै निमन्त्रणा गरी सहयोग रकम हस्तान्तरण गरेको बताएका छन् । स्थानीय स्तरमा रहेका विभिन्न शैक्षिक, धार्मिक तथा सामाजिक संघसंस्थाहरुमा समेत आर्थिक लगायत महत्वपूर्ण सहयोग गर्दै आएका खतिवडा परिवारका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्दै शिक्षासेवी होमप्रसाद खतिवडाले कोरोना महामारीको यो संकटमा स्थानीय सरकारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
कोरोना महामारीको यो समयमा कोरोना भाइरसका कारण संक्रमित भएका विरामीहरुले सहज रुपमा अक्सिजन नपाएर ज्यान गुमाइरहेको वर्तमान अवस्थामा कनकाई नगरपालिकाले चालेको अभियानका बारेमा झापाको कनकाई नगरबाट प्रकाशन हुँदै आएको यहाँको लोकप्रिय संचार माध्यम कनकाई खबर डटकम अनलाइन मार्फत जानकारी प्राप्त भएपछि आँफूहरुलाई समेत सहयोगको भावना जागेको दाता खतिवडाले बताएका छन् । आफ्नी नातिनीको आगमनकै खुशीयालीमा छोराबुहारीको समेत ईच्छाअनुसार खतिवडा परिवारले कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्येश्यले आर्थिक सहयोग गरेको खतिवडाले बताए ।
सहयोग रकम ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले यो महामारीको समयमा खतिवडा परिवारबाट भएको सहयोग महत्वपूर्ण भएको बताएका छन् । अक्सिजन प्लान्ट सहयोग तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका नगरपालिकाका प्रमुख पोखरेलले यस महान मानवीय कार्यमा जोडिनुभएकोमा सहयोगी मनप्रति हार्दिक आभार प्रकट गर्दै सुस्वास्थ्य एवम् दिर्घायुको कामना गरेका छन् । साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई तपशिलमा उल्लेखित विवरणको खातामा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने नगर प्रमुख पोखरेलले जानकारी गराएका छन् ।
नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१