कनकाई खबर / कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि कनकाई ३ स्थित पशुपति अंग्रेजी माविका पूर्व विद्यार्थी आशिष संग्रौला र दिपा ओली संग्रौलाले २५ हजार सहयोग गरेका छन् ।
कनकाई ३ को सुरुङ्गा बजार स्थायी घर भएपनि हाल अमेरिकामा बस्दै आएका संग्रौला पशुपति अंग्रेजी माविको एसएलसी वर्ष २०६२ को व्याचका विद्यार्थी हुन् ।
कोरोना भाइरसका कारण संक्रमित भएका विरामीहरुले सहज रुपमा अक्सिजन नपाएर ज्यान गुमाइरहेको समाचार झापाको कनकाई नगरबाट प्रकाशन हुँदै आएको कनकाई खबर डटकम अनलाइन सहित विभिन्न सामाजिक संजालहरुबाट समेत जानकारी प्राप्त भएसँगै कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्येश्यले संग्रौलाले आर्थिक सहयोग गरेको बताएका छन् । सहयोग रकम पशुपति माविको भूतपूर्व विद्यार्थी समाजका प्रतिनिधिहरुबाट चाँडै कनकाई नगरपालिकालाई हस्तान्तरण हुने संग्रौलाले बताए ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका सकारात्मक साथै रचनात्मक सोच भएका जुझारु युवाका रुपमा स्थापित संग्रौला हालै सम्पन्न नेपालीहरुको गयर आवासीय संस्था एनआरएनएको निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएको बताइएको छ । बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएसँगै संग्रौलालाई पशुपति माविका पूर्व विद्यार्थीहरुद्वारा बधाई शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको कामना गरिएको विद्यालयका पूर्व विद्यार्थी दुर्गाप्रसाद उप्रेती (हाल अष्ट्रेलिया) ले बताए ।
एनआरएनएको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर जस्तो महत्वपूर्ण जिम्मेवारीमा निर्वाचित हुन सफल कनकाई खबर डटकमका अत्यन्तै सहयोगी एवम् शुभचिन्तक संग्रौलाको कार्यकाल सफलताको कामना गर्दै कनकाई खबरका सम्पादक÷ प्रकाशक राम निरौलाले आगामी दिन थप रचनात्मक बनोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।