कनकाई खबर \ झापाको कनकाईमा निर्माण हुन लागेको अक्सिजन प्लान्टकालागि स्थानीय सरकार प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो पारिश्रमिक बापतको सवै रकम सहयोग गर्नुभएको छ ।

नगर प्रमुख पोखरेलले नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ मार्फत आफुले पाउने तीन वर्षको पारिश्रमिक बापतको १० लाख रुपैंयाँको चेक हस्तान्तरण गर्नुभएको हो । अक्सिजन प्लान्ट निर्माकालागि स्वदेश तथा विदेशमा समेत रहेका सहयोगी एवम् शुभचिन्तकहरुलाई जानकारी समेत गराउँने उद्येश्यले नगरपालिकामा एक संक्षिप्त पत्रकार सम्मेलनको आयोजना गरेर नगर प्रमुख पोखरेलले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको संक्षिप्त कार्यक्रममा शहिदहरुप्रति पुष्पगुच्छा अर्पण गरिएको थियो ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफुले अहिले सम्म पाएको पारिश्रमिक वापतको सवै रकम विपदका बेला यसरी सहयोग गर्ने नगर प्रमुख पोखरेल एक उदाहरणीय जनप्रतिनिधिका रुपमा रहेको बताइएको छ । यस अघि पनि आँफू निर्वाचित भएको पहिलो वर्षको सवै पारिश्रमिक नगरपालिका क्षेत्रमा रहेका मजदुरहरुको हितकालागि ‘मजदुर हितकोष’ खडा गरेर नगरप्रमुख पोखरेलले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमण तिव्र गतिमा फैलिएपछि महामारीको यो समयमा मानव स्वास्थ्यलाई प्राथमिक्तामा राखेर नगर प्रमुख पोखरेलले प्रस्तावित कनकाई नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि आँफैबाट रकम जुटाउँने कार्यको अभियान संचालन गरेको बताउँनुभएको छ ।

कोरोनाको माहामारीकै कारण सर्वसाधारणले अक्सीजनको अभावमा दिनहुँ ज्यान गुमाउन थालेपछि स्थानीय संघसंस्थाहरुको सहयोगमा कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । नगर प्रमुख पोखरेलको संयोजकत्वमा उपप्रमुख सहसंयोजक रहनेगरी नगर कार्यपालिकाको तर्फबाट पाँचजना, स्थानीय सामाजिक संघसंस्थाबाट पाँचजना र स्थानीय राजनीतिक दलका तर्फबाट तीनजना गरी १३ सदस्यीय कनकाई अक्सिजन प्लान्ट सहयोग तथा व्यवस्थापन समिति गठन भइसकेको समितिका सदस्य सचिव समेत रहनुभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउँनुभएको छ ।
नगर प्रमुख पोखरेलले करिव २ करोडको लागत अनुमान गरिएको प्लान्ट ३ महिना भित्र साविकको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा संचालनमा आउँने प्रतिवद्धता जनाउँनुभएको छ । प्रदेश नं. १ का स्थानीय तहहरु मध्ये अक्सिजन प्लान्ट स्थापना गर्ने कनकाई नगरपालिका १ नं. प्रदेशकै पहिलो स्थानीय तह भएको अनुमान गरिएको छ । कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने क्षमताको प्लान्ट निर्माण हुन लागेको नगर प्रमुख पोखरेलले जानकरी दिनुभयो ।
‘कनकाई नगरमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन्,’ नगर प्रमुख पोखरेलले भन्नुभयो, ‘दाताबाट १ करोड संकलनको अपेक्षा गरेका छौं । बाँकी रकम नगरपालिकाले बिभिन्न आयोजनाका लागि बिनियोजन गरी खर्च हुन नसकेको बजेटबाट थपिने छ ।’ अक्सिजन प्लान्ट निर्माण गर्नका लागि स्थानीय दाता, सामाजिक संघ संस्थाले पनि प्रतिवद्धता जनाएका छन् । नगर प्रमुख पोखरेलले भन्नुभयो,‘कतिपय दाताले सिलिण्डर र नगद सहयोग गर्न थालिसक्नुभएको छ ।’
नगर उपप्रमुख मन्जु प्रसाईले कोरोनाको दोश्रो लहर सुरु भए यता नगरमा १ हजार २ सय १५ जनाको स्वाव संकलन गरिएको जानकारी दिनुभयो । त्यसमध्ये ३ सय ७४ संक्रमित भएका थिए । हाल सम्म १ सय २९ जना निको भएर घर फर्किएका छन् भने २ सय २९ जना होम आईसोलेनमा रहेका जानकारी दिनुभएको छ ।