कनकाई खबर / कोरोना भाइरसको संक्रमणका कारण कनकाई ४ को वडा कार्यालय यतिबेला पूर्ण रुपमा बन्द छ । वडा कार्यालयका सवै कर्मचारी विदामा रहेका छन् । तर पनि कनकाई नगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष गोविन्द पौडेलले अति आवश्यकीय कामको सिफारीसकालागि घरैबाट वडावासीलाई सेवा दिन छोडेका छैनन् ।
कोरोनाको दोस्रो लहरसँगै संक्रमण तिव्र गतिमा फैलिएपछि भाडामा चल्दै आएको वडा कार्यालयमै संक्रमण फैलिएपछि वर्तमान अवस्थामा अलिकति पनि विचल्लित नभइकन वडाअध्यक्ष आँफै जनताको सेवामा जुटेका हुन् । साना नाति-नातीनासहित परिवारमा रहेका वडाअध्यक्ष पौडेलले संक्रमणको यो समयमा जोखिम मोलेरै भएपनि वडावासीकालागि गरेको सेवा महत्वपूर्ण रहेको स्थानीयवासी बताउँछन् ।
आज भन्दा तीन दिन अघिको रिपोर्ट अनुसार वडामा ३८ जना कोरोना संक्रमित रहेकोमा सबैको अवस्था सामान्य रहेको र सवै होमआइसोलेशनमा रहेको वडाअध्यक्ष पौडेलले कनकाई खबरलाई जानकारी दिए । संक्रमित सबैसँग प्रत्यक्ष भेटघाट साथै फोन सम्पर्कबाट समेत स्वास्थ्य अवस्थाको बारेमा जानकारी प्राप्त गरिरहेको वडाअध्यक्ष पौडेल बताउँछन् ।
विभिन्न स्वास्थ्य समस्याका कारण नियमित औषधि सेवन गर्दै गरेका वडावासीहरुलाई यो निषेधाज्ञाको समयमा जनप्रतिनिधिहरुले नै घर घरमा औषधि ल्याइदिएर ठूलो सहयोग भएको स्थानीय अमृत रेग्मी बताउँछन् । सुगर पिडित रेग्मीले नियमित सेवन गर्दै आएको औषधि वडाअध्यक्ष पौडेलले घरैमा ल्याइदिएर सहयोग गरेका थिए । रेग्मी मात्र हैन, यस अवस्थाका विरामीहरु वडामा अन्य धेरै रहेकाले वडासमितिबाट सहजीकरण हुँदै आएको बताइएको छ । यो महामारीका बेला जनप्रतिनिधि थिएनन् भने हाम्रो के हालत हुने रहेछ भन्दै रेग्मीले प्रतिप्रश्न गरे ।
कनकाई नगरमा सवै वडाका जनप्रतिनिधिहरुले स्थानीयवासीकालागि खेलेको भूमिका वास्तवमै स्मरणयोग्य रहेको बताइएको छ । त्यसमध्ये पनि कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल हरेक दिन आवश्यक्ता अनुसार डाक्टरसहित पौष्टिक खाद्य सामाग्रीका साथ संक्रमित नगरवासीका घर घरमा पुग्नुले पनि विरामीहरुमा आत्मबल बढेको बताइएको छ । वर्तमान अवस्थामा जनप्रतिनिधिहरुबाट कोरोना संक्रमितहरुकालागि भएको सहयोग सानै भएपनि महत्वपूर्ण भएको स्थानीबासीले महसुस गरेका छन् ।