राम निरौला,
कनकाई खबर / झापा निर्वाचन क्षेत्र नं. ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूले आफ्नो निर्वाचन क्षेत्रसहित झापामा १५ लाख बराबरको स्वास्थ्य सामाग्री उपलव्ध गराएका छन् ।
नेकपा एमालेका १ नं.प्रदेश कमिटी सदस्य समेत रहेका विकासप्रेमी साँसद साँवाको पहलमा उपलव्ध भएको स्वास्थ्य सामाग्री शनिवार कनकाई नगरको कोरोना अस्पतालमा सम्पन्न एक संक्षिप्त कार्यक्रमका विच मेची प्रादेशीक अस्पताल भद्रपुर, स्वास्थ्य कार्यालय झापा, कनकाई नगरपालिकाको कोरोना अस्पताल र शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । अक्सिजन सिलिण्डर, पिपिसेट, सर्जिकल मास्क, ग्लोब्स, अक्सो मिटर, थर्मल गन, सेनीटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री साँवाका स्वकीय सचिव सिकिन पास्वानले सम्बन्धित निकायलाई हस्तान्तरण गरेका हुन् । स्वकीय सचिव पास्वानले कोरोना संक्रमणको यो महामारीमा पनि अग्र भागमा रहेर समाचार संकलन कार्यमा क्रियाशिल झापाका १० जना पत्रकारहरुलाई समेत पिपिसेट, मास्क र सेनीटाइजर हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण भएका स्वास्स्थ्य सामाग्रीहरु मध्ये मेची प्रादेशीक अस्पताललाई पिपिसेट २ सय थान, अक्सिजन सिलिण्डर १५ थान, पिसिआर रिएजेन्ट २ सय थान, अक्सोमिटर १ थान साथै सर्जिकल मास्क, सेनीटाइजर, ग्लोब्स लगायत रहेको बताइएको छ । त्यस्तै कनकाई नगर स्वास्थ्य अस्पतालमा पिपिसेट ५० थान, ग्याँस सहितको अक्सिजन सिलिण्डर १० थान, सर्जिकल मास्क, सेनीटाइजर, ग्लोब्स लगायत रहेको बताइएको छ । स्वास्थ्य कार्यालय झापा र शिवसताक्षी नगरपालिकालाई समेत पिपिसेट, मास्क, सेनीटाइजर, ग्लोब्स, थर्मल गन लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताइएको छ ।
प्रदेश नं.१को सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगर साथै स्वास्थ्य विभाग काठमाण्डौबाट सांसद साँवाको पहलमा स्वास्थ्य सामाग्रीको व्यवस्थापन भएको बताइएको छ । राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य मिलन कट्टेलको अगुवाईमा स्वास्थ्य सामाग्री झापा आएको हो । राष्ट्रिय राजनीतिको चहल पहलका कारण हाल काठमाण्डौमा नै रहेका सांसद साँवासँग कनकाई खबरसँगको फोन सम्पर्कमा भएको संक्षिप्त कुराकानीमा उनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा झापावासीलाई सधैं सचेत हुन अनुरोध गरेका छन् । थोरै भएपनि आफ्नो पहलमा दोस्रो लहरसँगै संक्रमणमा परेका झापाबासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोनाको रोकथाम तथा नियन्त्रणकालागि अतिआवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्थापन गरेको सांसद साँवाले बताए ।
निवर्तमान प्रदेश सभा सदस्य हीराकुमार थापा, पूर्व साँसद तारा समयाङ्यासहितको उपस्थितीमा स्वास्थ्य सामाग्री हस्तान्तरण भएको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चम्लगाईँ, नेकपा एमाले १ नं. प्रदेश कमिटि सदस्य राजीव घिमिरे लगायतले निवर्तमान प्रतिनिधि सभा सदस्य साँवाबाट यो महामारीको समयमा भएको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए । नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष धनवहादुर थेवेको सभापतित्व रहेको सामाग्री वितरण कार्यक्रमको सहजीकरण नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष रविन्द्र लम्सालले गरेका थिए ।