राम निरौला,
कनकाई खबर / झापाको कनकाई नगरपालिकाले पहिलो चरणमा अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याउँने भएको छ ।
आवश्यक सामाग्रीका साथमा चाँडै आइसोलेशन कक्ष संचालनकालागि तयारी गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन् । कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सवै शैय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै संक्रमितलाई स्वास्थ्यकर्मीवाट आवश्यक परामर्श सेवा संचालन गरिने भएको छ ।
कोरोना सम्वन्धि आवश्यक परामर्शकालागि २४ सै घण्टा सेवा उपलव्ध गराउँन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर अभिषेक नायकसहित अन्य स्वास्थ्यकर्मीबाट छुट्टै सेवा प्रदान गर्ने गरी जिम्मेवारी दिइएको नगर प्रमुख पोखरेलले बताए । हाल यस स्वास्थ्य अस्पतालमा युवा जोस जाँगरका साथ कार्यरत डाक्टर मनिष तिमल्सिनाको नेतृत्वमा डाक्टर अभिषेक नायकसहित अन्य २५ जना स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेको बताइएको छ ।

जिम्मेवारी पाएसँगै डाक्टर नायकले हाल कोरोनाबाट संक्रमित भई होम आइसोलेशनमा रहेका कनकाई नगरवासीसँग फोन सम्पर्क गरी स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श लिने साथै प्राथमिक औषधोपचारका विषयमा सल्लाह दिने गरेको जानकारी दिए । कोरोना संक्रमितहरुले डाक्टर नायकको ९८५२६३०११९ नम्बरमा सम्पर्क गरेर अफ्नो स्वास्थ्यका बारेमा परामर्श गर्न सकिने बताएका छन् ।
नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणका कारण कनकाई नगर क्षेत्रमा यो वैशाख महिनाको हालसम्ममा एक सय बढी संक्रमित भइसकेका छन् । निको भएर सामान्य अवस्थामा आएका नगरवासीको संख्या भने न्युन रहेको बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी एवम् कोरोना फोकल पर्सन नारायण अधिकारीले दिएको जानकारी अनुसार कनकाई नगरमा दोस्रो लहरको कोरोना संक्रमित भएका मध्ये एक महिला र एक पुरुष गरी दुईजनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितका रुपमा रहेका मध्ये चारजना विभिन्न अस्पतालमा रहेका छन् भने अन्य सबै होम आइसोलेशनमा सामान्य अवस्थामा रहेको कोरोना फोकल पर्सन अधिकारीले जानकारी दिएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिव्र गतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय तहले यतिबेला आइसोलेशन कक्ष संचालनको कार्यलाई तिव्रताका साथ अघि बढाएका छन् ।
कोरोनाका कारण अति प्रभावित भएका स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणकालागि अन्य ठूला अस्पतालहरुमा दिने प्राथमिक चरणको सेवा संचालनकालागि स्थानीय सरकारका तर्फबाट आवश्यक स्वास्थ्य सामाग्रीको विशेष तयारी भएको बताइएको छ । सक्रिय संक्रमितहरुकालागि ठूला अस्पतालमा विरामीको चाप अत्यधिक बढेसँगै उपचार सेवाको अभावमा अस्पताल घुमाउँदा घुमाउँदै धेरै विरामीहरुले ज्यान गुमाउँनु परेको दयनीय अवस्थालाई मध्यनजर गर्दै नगरवासीको जीउधनको सुरक्षाकालागि गम्भिर हुँदै पहिलो चरणमा आवश्यक तयारीका साथ आइसोलेशन कक्ष संचालन गर्न लागेको स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले कनकाई खबरलाई जानकारी दिएका छन् ।