राम निरौला,
कनकाई खबर / सामुदायिक वन मार्फत पर्यापर्यटनका क्षेत्रमा अघि बढ्दै आएको कनकाई—२, स्थित सुकेडाँगी सामुदायिक वन समूहको निर्वाचनमा स्थानीय शान्ती उपाध्याय घिमिरे अध्यक्षमा निर्वाचित भएकी छन् ।
माओवादी केन्द्रको समर्थनमा सामुदायिक वन समूहमा अध्यक्षकालागि उम्मेद्वारी दिएकी उपाध्यायले आफ्ना प्रतिस्पर्धी कमल ढकाललाई ८५ मतको अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । विहिबार भएको निर्वाचनमा उपाध्यायले २ सय ९७ मत प्राप्त गरेकी थिइन् भने ढकालले २ सय १२ मत प्राप्त गर्न सफल भएका थिए ।

विभिन्न सामाजिक संघसंस्थामा बसेर काम गरेको अनुभवका आधारमा दीर्घकालिन साथै अल्पकालिन योजनाका साथ धार्मिक तथा मौलिक पर्यटकीय सम्भावना बोकेको सुकेडाँगी सामुदायिक वनको मुहार फेर्ने काममा आफ्नो नेतृत्वदायी भूमिका रहने नवनिर्वाचित अध्यक्ष उपाध्यायले बताएकी छन् । कनकाई खबरसँगको संक्षिप्त कुराकानीमा नवनिर्वाचित अध्यक्ष उपाध्यायले सुकेडाँगी सामुदायिक वन क्षेत्रलाई समय सापेक्ष थप प्रवद्र्धन गर्न सकारात्मक साथै रचनात्मक सहकार्यकालागि सम्बन्धित सबैसँग अपिल गरेकी छन् ।
उता नेकपा एमालेको कार्यकर्ता समेत रहेका अध्यक्षका प्रत्यासी ढकालले सुकेडाँगी वन समूहको निर्वाचनमा आफ्नो जित सुनिश्ति हुने बताएपछि वन समूहको नेतृत्व सम्हाल्न ढकाललाई नेकपा एमालेले सिफारीस गरेको थियो । नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्षमा उम्मेद्वारी दिएका ढकालले सहकार्य कागजमै मात्र सिमित भएका कारण परिणाम सोचे विपरीत भएको प्रतिक्रिया दिएका छन् । मत परिणाम सार्वजनिक भए लगत्तै उनले कनकाई खबरसँगको संक्षिप्त कुराकानीमा—नेपाली कांग्रेसको कुरा त परै राखौँ, आफ्नै पार्टीका जिम्मेवार उपभोक्ताहरुबाट समेत विश्वासघात भएपछि परिणाम अकल्पनीय आएको बताएका छन् । मत परिणाम जे जस्तो आएपनि आँफू सुकेडाँगी सामुदायिक वनको एक जिम्मेवार उपभोक्ता भएका कारण यस वन क्षेत्रको विकास एवम् विस्तारमा सधैं सक्रिय रहँदै अघि बढ्ने अध्यक्षका प्रत्यासी ढकालले बताए ।

यसैगरी उपाध्यक्षमा लालवहादुर राई अत्यधिक मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी तीर्थ वहादुर श्रेष्ठलाई १६९ मतको अन्तरले पछि पार्दै राई विजयी भएका हुन् । नवनिर्वाचित उपाध्यक्ष राईले ३ सय ३८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी श्रेष्ठले १६९ मत मात्र प्राप्त गर्न सफल भएका छन् । श्रेष्ठ नेकपा एमाले समर्थक प्यानलबाट उपाध्यक्ष पदकालागि निर्वाचनमा होमिएका थिए ।जम्मा ५सय ४८ जना मतदाता रहेको सामुदायिक वनको निर्वाचनमा ५ सय ३६ मत खसेको निर्वाचन आयुक्त माधव ढकालले बताएका छन् ।
यसअघि सचिवमा गोमादेवि बोहोरा (निरौला ), सहसचिवमा खिलनाथ गुरागाईँ र कोषाध्यक्षमा स्थानीय युवा समाजसेवी एवम् पत्रकार आईपी भट्टराई सर्वसम्मत भइसकेको निर्वाचन समितिका सदस्य श्रीप्रसाद खरेलले जानकारी दिएका छन् ।