कनकाई खबर \ झापाको कनकाईमा मेयर आवास कार्यक्रम अन्तर्गत स्थानीय मुसहर बस्तीका विपन्न परिवारलाई शौचालयसहितको घर हस्तान्तरण गरिएको छ ।
घरबार बिहिन विपन्न परिवारलाई टिनको छानो भएको घरमा बसोबासको व्यवस्था मिलाउँने अभियानमा क्रियाशिल स्थानीय सरकार कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरता स्वरुप कनकाई ४ स्थित मुसहर बस्तीका १४ परिवारलाई टिनको छानो भएको शौचालयसहितको घर हस्तान्तरण गरेको हो ।

ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घरहरु निर्माण कार्य सम्पन्नपछि ह्याविट्याट नेपालकी राष्ट्रिय निर्देशक क्रिष्टी स्टीक्नी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्त रुपमा मेयर आवासको चावी परिवारजनलाई हस्तान्तरण गरेका हुन् । चावी हस्तान्तरणसँगै आवास क्षेत्रको अनुगमन समेत गरिएको थियो ।
जन्मदै घरवार विहिन भएर वषौैंसम्म कष्टकर जीवन विताउँदै आएका मुसहर परिवारले शौचालयसहितको घर पाउँदा भगवानको नजर परेको भन्दै खुशी व्यक्त गरेका छन् । परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका मुसहर बस्तीका हरी रिसिदेव, सञ्जय रिसिदेव, चन्द्रा रिसिदेव लगायतले टिनको छानो भएको तीन कोठे घर पाएपछि आँफूहरुले नयाँ जीवन पाएको अनुभव सुनाए ।
झापाको कनकाई नगरपालिकाले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै विभिन्न दातृनिकाय र संघसंस्थाहरुसँगको सहकार्यमा २ सय १९ वटा घर निर्माण कार्य सम्पन्न गरी परिवारजनमा हस्तान्तरण गरिसकेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख पोखरेलले आगामी आर्थिक बर्षमा कनकाई नगरपालिकालाई जीर्ण घरमुक्त नगरपालिकाको रुपमा घोषणा गर्ने अभियानमा आँफूहरु लागेको बताएका छन् । पोखरेलले यसै आर्थिक बर्षमा समेत अन्य दातृ निकायसँग साझेदारीमा काम गर्नकालागि २ करोड रुपैँया बिनियोजन गरिसकिएको जानकारी दिए । नगरप्रमुख पोखरेलले आफूले अर्को बर्ष अन्य विकासको बजेट कटौती गरेर भएपनि कनकाईलाई देशकै पहिलो जीर्ण घरवास मुक्त नगर घोषणा गर्ने उद्घोष गरे । नेपालको पहिलो उज्यालो नगरी घोषणाको तयारीमा रहेको कनकाई नगरपालिका यस अघि देशकै पहिलो बिद्युत चुहावट मुक्त नगर घोषणा भएको छ ।
सरकारको सुखी नेपाली समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने अभियानमा कनकाई नगरपालिका अग्रस्थानमा देखिएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले खुशी व्यक्त गरे । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी लिएसँगै जनतालाई घर घरमै सिंहदरबार आएको अनुभुति हुन थालेको भन्दै प्रमुख जिल्ला अधिकारी तिम्सिनाले यस अभियानमा कनकाई नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा साझेदारी संस्थाका रुपमा रहेको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले झापामा कनकाई, बाह्रदशी, झापा गाउँपालिका, बिर्तामोड, गौरीगंञ्ज सहित प्रदेश १ मा स्थानीय सरकारसँगको साझेदारीमा हालसम्म १ हजार ८ सय ४ वटा घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । पाँच वर्ष यता ह्याविट्याट नेपाल, सहारा नेपाल र स्थानीय तहसँगको त्रिपक्षीय साझेदारीमा जम्मा रकम १४ करोड ९९ लाखको लागतमा छाना कार्यक्रम अन्तर्गत सामुदायिक आवास निर्माण योजना सम्पन्न भएको सहारा नेपालका कार्यकारी निर्देशक गिरीले बताए ।
घर निर्माणको साझेदारी संस्था ह्यावीट्याट नेपालका कार्यक्रम निर्देशक युवम मल्लले सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था ह्यावीट्याट नेपाल एउटा माध्यम मात्र भएको कुरा व्यक्त गर्दै विपन्न परिवारको घर निर्माणकालागि कनकाई नगरपालिकाका प्रमुखको सक्रियताका कारण यहाँका विपन्न परिवारलाई यो अवसर प्राप्त भएको बताए । मल्लले अन्य विपन्न परिवारको घर निर्माणकालागि समेत हातेमालो गर्न संस्था तयार रहेको जानकारी दिए ।
कार्यक्रममा कनकाई—४ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता गोबिन्दप्रसाद पौड्यालले निर्वाचनका बेला जनप्रतिनिधिले गरेको प्रतिवद्धता पूरा गर्ने कार्यमा स्थानीय सरकार क्रियाशिल रहेको भन्दै थप विपन्न परिवारको पहिचान गरी घर निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिवद्धता जनाए । कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँले स्वागत गरेको मेयर आवास हस्तान्तरण कार्यक्रमको संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।