कनकाई खबर डेक्स \ वैदेशिक रोजगारीलाई सुरक्षित र भर पर्दो बनाउँने उद्येश्यका साथ कारितास नेपालले कनकाई नगरमा सचेतना अभियान संचालन गरेको छ ।
सचेतना अभियानलाई थप व्यवस्थित गर्दै अघि बढ्न कनकाई नगरपालिकाको कार्यालयमा सहायता कक्ष संचालन गर्ने योजना बनाएको कारितास नेपाल क्षेत्रीय कार्यालय दमकका प्रमुख देवेन्द्र पोखरेलले बताएका छन् । ग्रामिण क्षेत्रमा रहेका आदिबासी, जनजातीहरुलाई लक्षित गरेर कनकाई ३ स्थित झरनाबस्तीका सन्थाल समुदायमा एकदिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको हो । कारितास नेपालको “सुरक्षित वैदेशिक रोजगार परियोजना ” द्वारा आयोजित कार्यक्रममा क्षेत्रीय कार्यालय दमकका प्रमुख पोखरेलको सभापतित्व एवम् कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँको प्रमुख आतिथ्य रहेको थियो । कनकाई नगरपालिकाले समन्वय गरेको कार्यक्रमको संयोजन सुरुङ्गा सामुदायिक सिकाई केन्द्रले गरेको बताइएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संचालन गरिएको कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो । सोही कार्यक्रमको सहजीकरण परिवार नियोजन संघ झापाकी प्रवन्धक सुजन काफ्लेले गरेकी थिइन् । सचेतना कार्यक्रममा सिकाई केन्द्रका तर्फबाट वडामा गठन गरिएको महिला समूहलाई बचत प्रोत्साहन स्वरुप रु.१० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
सिकाई केन्द्रका अध्यक्ष राजकुमार कट्टेल र कार्यक्रमकी प्रमुख अतिथी उपप्रमुख मन्जु प्रसाईँले संयुक्त रुपमा कनकाई ३ को झरना बस्तीस्थित सिकाई केन्द्र महिला समूह नं.३ का प्रतिनिधिलाई चेक हस्तान्तरण गरेका हुन् । सिकाई केन्द्रले कनकाई नगरका नौ वटै वडामा एक/एक वटा महिला समूह गठन गरी प्रत्येक समूहलाई बचत प्रोत्साहनकालागि सहयोग गर्दै आएको संस्थाका अध्यक्ष कट्टेलले जानकारी दिए ।
बचत कार्यक्रमले ग्रामिण क्षेत्रका महिलाहरुमा आयआर्जन तर्फ उत्साह जगाउँने विश्वास गरिएको छ भने यसको प्रभावले स्वरोजगार बन्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । बढ्दो बेरोजगारी समस्याका कारण असुरक्षित वैदेशिक रोजगारीमा सयौं युवाहरु समस्यामा पर्ने भएकाले विपन्न वर्ग र समुदायलाई लक्षित गरेर कारितास नेपालले समेत पहिलो चरणमा कनकाई नगरका वडा नंं ३, ४ र ८ लाई प्राथमिक्तामा राखी सचेतना अभियान संचालन गर्दै आएको कारितास नेपाल कनकाई नगरका प्रमुख विवेक शिवाकोटीले जानकारी दिएका छन् । शिवाकोटीका अनुसार विपन्न वर्गका युवाहरुलाई स्वरोजगार बनाउँन कारितास नेपालले पहिलो चरणमा कनकाई नगरमा विभिन्न किसिमका तालिम संचालन गर्ने भएको छ ।
कारितास नेपाल क्षेत्रीय कार्यालय दमकका प्रमुख देवेन्द्र पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी संस्थापक अध्यक्ष सारदा पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सिकाई केन्द्रकी सचिब लिलादेवी प्रसाई सिवाकोटीले गरेकी थिइन् ।