-स्थानीय पहिचान, प्रकृति, संस्कृति र समृद्ध भविष्यको सपनालाई आधुनिक मूर्तिकलाको भाषामा अनुवाद गर्ने सृजनात्मक अभियान
̶ आधुनिक प्रस्तर मूर्तिकार हिम्मत नेम्बाङको परिकल्पना र सिर्जनामा आधारित सार्वजनिक कलाकृतिको कलात्मक तथा समालोचनात्मक विश्लेषण
झापाको कनकाई–३, सुरुङ्गा बजारको पश्चिमतर्फ, एसियन हाइवेसँगै उभिएको एउटा आकर्षक प्रस्तर संरचनाले यात्रु, स्थानीय बासिन्दा र आगन्तुकको ध्यान खिच्दै आएको छ । पहिलो दृष्टिमा यो एउटा सार्वजनिक स्मारकजस्तो देखिन्छ। तर केही समय त्यसलाई नियालेर हेर्ने हो भने यसको बाहिरी सौन्दर्यभन्दा निकै गहिरा तहमा विचार, प्रतीक, इतिहास, प्रकृति, संस्कृति र सामाजिक चेतनाका अनेक अर्थहरू क्रमशः खुल्दै जान्छन्।
कनकाई नगरपालिकाको लगानीमा केही वर्षअघि निर्माण गरिएको कनकाई धरोहर स्तम्भ केवल एउटा भौतिक संरचना वा नगरको सौन्दर्य बढाउने सजावटी स्मारक होइन। यो स्थानीय इतिहास, सांस्कृतिक विविधता, प्रकृतिप्रतिको सम्मान, सामाजिक उत्तरदायित्व, सिर्जनशीलता र समृद्ध भविष्यप्रतिको सामूहिक कल्पनालाई प्रस्तरको भाषामा अभिव्यक्त गर्ने सार्वजनिक कलाकृति हो।

यसको परिकल्पना तथा सिर्जना आधुनिक प्रस्तर मूर्तिकार हिम्मत नेम्बाङले गरेका हुन्। नेम्बाङको सिर्जनात्मक दृष्टिले यो स्तम्भलाई परम्परागत स्मारकभन्दा फरक पहिचान दिएको छ। यहाँ कुनै एक व्यक्तिको सालिक छैन, कुनै राजनीतिक व्यक्तित्वको महिमागान छैन र कुनै एक समुदाय वा धार्मिक आस्थालाई मात्र केन्द्रमा राखिएको छैन। बरु यसको केन्द्रमा स्वयं कनकाई छ– कनकाईको प्रकृति, भूगोल, संस्कृति, सामाजिक विविधता, नागरिक चेतना र साझा भविष्यको सपना।
यसैले कनकाई धरोहर स्तम्भलाई केवल हेर्ने वस्तुका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यो हेर्दाहेर्दै सोच्न बाध्य पार्ने कलाकृति हो। यसको प्रत्येक आकृति, रेखा, बनावट र प्रतीकभित्र एउटा विचार लुकेको छ। त्यसलाई पढ्न आँखाले मात्र पुग्दैनÙ चेतनाको दृष्टि पनि आवश्यक पर्छ।
स्मारकभन्दा माथि उठेको सार्वजनिक कला:
नेपालमा सार्वजनिक स्मारक र मूर्तिकलाको परम्परा लामो छ। विगतमा अधिकांश स्मारकहरू ऐतिहासिक व्यक्तित्व, धार्मिक आस्था, राजनीतिक घटना वा महत्वपूर्ण उपलब्धिको स्मृतिसँग जोडिन्थे। तर समकालीन सार्वजनिक कलाको अवधारणा विस्तार हुँदै गएको छ। सार्वजनिक कला अब केवल विगतलाई सम्झने माध्यम मात्र होइनÙ यसले वर्तमान समाजसँग संवाद गर्ने र भविष्यबारे सोच्न प्रेरित गर्ने भूमिका पनि निर्वाह गर्न थालेको छ।
कनकाई धरोहर स्तम्भलाई यही परिवर्तित दृष्टिकोणबाट हेर्न सकिन्छ। यसले विगतलाई सम्मान गर्छ, वर्तमानलाई स्वीकार गर्छ र भविष्यप्रति आशावादी दृष्टि प्रस्तुत गर्छ। त्यसैले यो विगतमा अडिएको स्मारक होइनÙ वर्तमानसँग संवाद गर्दै भविष्यतर्फ उन्मुख सार्वजनिक कलाकृति हो।
स्तम्भ निर्माणको अवधारणाबारे कलाकार हिम्मत नेम्बाङसँग भएको संवादले पनि यही कुरा प्रस्ट पार्छ। नेम्बाङका अनुसार यो स्तम्भ कुनै पूर्वनिर्धारित परम्परागत नमूनाको प्रतिलिपि होइन। यसको संरचना कनकाईको पहिचान, प्राकृतिक परिवेश, सामाजिक बहुलता र मानवीय मूल्यलाई समेट्ने गरी विकसित गरिएको अवधारणाको परिणाम हो।
कलाकारको चाहना एउटा साधारण स्मारक बनाउने थिएन। उनी यस्तो सार्वजनिक कलाकृति निर्माण गर्न चाहन्थे, जसले मानिसलाई केही क्षण रोकिएर हेर्न र त्यसपछि आफ्नो समाज, संस्कृति, प्रकृति तथा भविष्यका बारेमा सोच्न प्रेरित गरोस्।
उनको दृष्टिमा प्रत्येक आकृतिले एउटा अर्थ बोल्नुपर्छ, प्रत्येक बनावटले एउटा कथा सुनाउनुपर्छ र समग्र संरचनाले आफू उभिएको भूगोलको आत्मालाई अभिव्यक्त गर्न सक्नुपर्छ। यही अवधारणाले कनकाई धरोहर स्तम्भलाई साधारण संरचनाभन्दा माथि उठाएको छ।

चार प्राकृतिक प्रस्तरको दर्शन:
कनकाई धरोहर स्तम्भको सबैभन्दा उल्लेखनीय विशेषता यसको निर्माणमा प्रयोग भएका चारवटा प्राकृतिक प्रस्तर अर्थात् ढुङ्गाको संयोजन हो।
बाहिरबाट हेर्दा यो एउटा अखण्ड स्तम्भजस्तो देखिन्छ। तर यसको अवधारणालाई बुझ्दा चारवटा अलग प्राकृतिक प्रस्तरको एकीकृत रूप नै यसको गहिरो दार्शनिक आधार बनेको देखिन्छ।
कलाकार हिम्मत नेम्बाङका अनुसार चारवटा प्रस्तरलाई चार दिशा, चार पुस्ता र चार समुदायका रूपमा पनि बुझ्न सकिन्छ। अलग–अलग अस्तित्व भएका यी प्रस्तरहरू एक ठाउँमा आएपछि एउटा साझा आकृति जन्मन्छ। यो केवल निर्माण प्रविधि होइन, यसभित्र सामाजिक दर्शन छ।
मानिसहरू फरक हुन्छन्। उनीहरूको भाषा, संस्कृति, धर्म, विचार, परम्परा र जीवनशैली फरक हुन सक्छ। तर फरक हुनु विभाजित हुनु होइन। सहकार्य र साझा उद्देश्यले फरक–फरक अस्तित्वलाई एउटै सामूहिक पहिचानमा रूपान्तरण गर्न सक्छ।
चारवटा प्रस्तरको एकीकरणले यही सन्देश दिन्छ– विविधता विभाजनको कारण होइन, एकताको आधार बन्न सक्छ।
प्रकृतिले निर्माण गरेका फरक प्रस्तरहरू कलाकारको सिर्जनात्मक हस्तक्षेपबाट एउटै धरोहरमा परिणत भएका छन्। यसले मौन रूपमा एउटा प्रश्न पनि उठाउँछ– यदि प्रकृतिका फरक–फरक अंश एउटै संरचनामा जोडिन सक्छन् भने मानिसहरू साझा भविष्यका लागि किन जोडिन नसक्ने ? कनकाईजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका लागि यो प्रश्न अझ अर्थपूर्ण देखिन्छ।
प्रस्तर : समयको मौन अभिलेख
कनकाई धरोहर स्तम्भमा प्राकृतिक प्रस्तरको प्रयोग आफैंमा एउटा महत्वपूर्ण कलात्मक निर्णय हो। आज कृत्रिम निर्माण सामग्रीको प्रयोग अत्यन्त व्यापक भएको समयमा प्रकृतिले हजारौं–लाखौं वर्ष लगाएर निर्माण गरेको प्रस्तरलाई कलाको माध्यम बनाउनु प्रकृतिप्रतिको सम्मानको सांस्कृतिक वक्तव्य पनि हो।
प्रस्तर केवल ढुङ्गा होइन। त्यसको अस्तित्वसँग समयको लामो यात्रा जोडिएको हुन्छ। पृथ्वीको भूगर्भीय परिवर्तन, नदीको बहाव, वर्षाको स्पर्श, घामको ताप, मौसमको प्रभाव र प्रकृतिको निरन्तर प्रक्रियाले त्यसलाई आजको स्वरूप दिएको हुन्छ। त्यसैले कलाकारका लागि प्रस्तर केवल निर्माण सामग्री होइनÙ यो समयको मौन इतिहास हो।
कनकाई धरोहर स्तम्भमा प्राकृतिक प्रस्तरको प्रयोगले मानव सभ्यता र प्रकृतिबीचको सम्बन्धलाई स्मरण गराउँछ। मानिसले प्रकृतिबाट सामग्री लिन्छ, त्यसलाई कलामा रूपान्तरण गर्छ र त्यही प्राकृतिक स्मृतिलाई फेरि सार्वजनिक जीवनको केन्द्रमा स्थापित गर्छ।
यसले विकासबारे पनि एउटा महत्वपूर्ण प्रश्न उठाउँछ– विकास प्रकृतिको विनाश गरेर हुने कि प्रकृतिसँग सहकार्य गरेर ? कनकाईको प्राकृतिक भूगोल, नदी, वन, सिमसार तथा पर्यटकीय सम्भावनालाई हेर्दा यो प्रश्न अझ सान्दर्भिक बन्न पुग्छ।
प्रतीकहरूको मौन भाषा :
कनकाई धरोहर स्तम्भको वास्तविक शक्ति यसको प्रतीकात्मक संरचनामा रहेको देखिन्छ। कलाकारले आफ्ना विचारलाई लामो शब्द वा नाराका रूपमा लेखेका छैनन्। उनले आकृति, रेखा, घुमाउरो बनावट र दृश्य संकेतलाई भाषाका रूपमा प्रयोग गरेका छन्। यस अर्थमा यो स्तम्भ एउटा दृश्य कविताजस्तो पनि देखिन्छ।
प्रत्येक दर्शकले यसलाई आफ्नो अनुभव र चेतनाअनुसार पढ्न सक्छ। एउटै प्रतीकले फरक व्यक्तिका लागि फरक अर्थ खोल्न सक्छ। यही बहुअर्थता सार्वजनिक कलाको महत्वपूर्ण विशेषता हो।
कुची : कलाको शक्ति
स्तम्भको शीर्षभागमा अंकित कुची अर्थात् ब्रसले कलालाई प्रतिनिधित्व गर्ने कलाकार हिम्मत नेम्बाङको व्याख्या छ।
यहाँ कला विलासिताको विषय होइन। कला चेतना निर्माण गर्ने माध्यम हो। कला समाजको संवेदना जोगाउने शक्ति हो।
जहाँ कला जीवित रहन्छ, त्यहाँ प्रश्न जीवित रहन्छ। जहाँ प्रश्न जीवित रहन्छ, त्यहाँ चेतना जीवित रहन्छ। र जहाँ चेतना जीवित हुन्छ, त्यहाँ सभ्यताले नयाँ बाटो खोज्न सक्छ।
त्यसैले कुची एउटा सामान्य कलात्मक उपकरणबाट सामाजिक चेतना र सिर्जनात्मकताको प्रतीकमा रूपान्तरण हुन्छ।
कलम : साहित्य र सामूहिक स्मृति
स्तम्भको मध्यभागमा आँखाबाट माथितर्फ उक्लिएको कलमको निबले साहित्य र अभिव्यक्तिको प्रतीकात्मक अर्थ बोकेको कलाकारको भनाइ छ।
आँखाले देख्छ, मनले अनुभूति गर्छ, विचारले त्यसलाई अर्थ दिन्छ र कलमले त्यसलाई पुस्तासम्म पु¥याउँछ। साहित्य केवल शब्दहरूको संयोजन होइनÙ यो समाजको सामूहिक स्मृतिको अभिलेख पनि हो। मानिसका अनुभव, संघर्ष, संस्कृति, भाषा, भावना र जीवनका कथा साहित्यमा सुरक्षित हुन्छन्। यसरी कलमले कनकाईको स्थानीय स्मृति र पहिचानलाई पुस्तान्तरण गर्ने आवश्यकतालाई संकेत गर्छ।
लहरहरू : संस्कृति र जीवनको प्रवाह
स्तम्भमा लहरिँदै माथितर्फ उक्लिएका तीन तहका बनावटी रिलीफ रेखाहरूले सांस्कृतिक बहुलता, नदीका तरंग र जीवनको निरन्तर प्रवाहलाई एकैसाथ संकेत गर्ने कलाकारको दृष्टिकोण छ।
नदी कहिल्यै स्थिर हुँदैन, बगिरहन्छ, बाटोमा अनेक भूभाग भेट्छ, अनेक धारासँग जोडिन्छ र आफ्नो यात्रा अगाडि बढाउँछ। संस्कृति पनि त्यस्तै हो। संस्कृति स्थिर वस्तु होइन। पुस्ता, समुदाय, भूगोल र समयसँगै परिवर्तन हुँदै जाने जीवित प्रक्रिया हो।
त्यसैले स्तम्भका लहरहरू केवल सौन्दर्यका लागि बनाइएका आकृति होइनन्। ती जीवन, संस्कृति र सभ्यताको गतिशीलताको प्रतीक हुन्।
शंख : आस्था र सहिष्णुता
स्तम्भमा शंखको स्मरण गराउने आकृतिले धार्मिक सहिष्णुता र आध्यात्मिक चेतनाको संकेत गर्छ। यहाँ कुनै एउटा धार्मिक परम्परालाई अरूभन्दा माथि राखिएको छैन। बरु सबै आस्थाको अन्तिम उद्देश्य मानिसलाई नैतिकता, करुणा, मानवता र सहअस्तित्वतर्फ लैजानु हो भन्ने सार्वभौमिक भावलाई मूर्त रूप दिने प्रयास भएको देखिन्छ।
बहुल समाजमा आस्थाबीचको सम्मान र सहिष्णुता सामाजिक शान्तिको आधार हो। त्यसैले शंखको प्रतीकले धार्मिक भावनालाई मानवतासँग जोड्छ।
चाबी : बन्धनबाट मुक्त हुने आकांक्षा
स्तम्भको शीर्षभागमा समेटिएको चाबीको स्वरूप विशेष अर्थपूर्ण छ। कलाकार नेम्बाङले यसलाई …बन्ध निषेधÚको प्रतीकका रूपमा व्याख्या गरेका छन्। चाबीले सामान्यतः ताल्चा खोल्छ। तर यहाँ यसको अर्थ भौतिक ढोका खोल्नुभन्दा निकै व्यापक छ।
अज्ञानको बन्धन, विभेदको बन्धन, हिंसाको बन्धन, संकीर्णताको बन्धन र मानसिक बन्धनबाट मुक्त हुने आकांक्षा यस प्रतीकमा अभिव्यक्त हुन्छ।
स्वतन्त्रता केवल राजनीतिक अवस्था होइन। स्वतन्त्रता सोच्ने, प्रश्न गर्ने, सिर्जना गर्ने र अरूको अस्तित्वलाई सम्मान गर्ने चेतनाको अवस्था पनि हो। यस अर्थमा चाबी सामाजिक रुपान्तरण र स्वतन्त्र चेतनाको प्रतीक बन्न पुग्छ।
आँखा : जागरण र शान्तिको प्रतीक
स्तम्भको मध्यभागमा देखिने आँखाको लयात्मक विस्तारले पनि गहिरो अर्थ बोकेको छ। आँखा संसार हेर्ने अंग मात्र होइनÙ चेतनाको प्रवेशद्वार पनि हो। स्तम्भमा देखिएका घुमाउरा लहर र आँखासँग जोडिएको भावलाई कलाकारले शान्ति, करुणा, संवाद, सहिष्णुता र विवेकसँग सम्बन्धित गरेका छन्।
शान्ति भनेको केवल बाहिरी आवाज नहुनु होइन। वास्तविक शान्ति मानिसको चेतनाभित्र जन्मिन्छ। त्यसैले यहाँ शान्ति निष्क्रिय मौनता होइनÙ सक्रिय मानवता हो। अर्काको पीडा बुझ्नु, फरक विचार सुन्न सक्नु, संवाद गर्न सक्नु र हिंसाको सट्टा विवेक रोज्नु सामाजिक शान्तिको आधार हो।
बीऊबाट पलाएको टुसा :हरित भविष्य
स्तम्भको तल्लो भागमा अंकित बीऊबाट पलाएको टुसाले हरित विकास र पर्यावरणीय चेतनाको प्रतीकात्मक अर्थ बोकेको छ।
सानो बीऊभित्र एउटा विशाल वृक्षको सम्भावना लुकेको हुन्छ। एउटा टुसाभित्र भविष्यको ठूलो वनको सपना हुन्छ। यही अवधारणालाई कलाकारले विकास र प्रकृतिको सम्बन्धसँग जोडेको देखिन्छ।
कुनै पनि समाजको विकास प्रकृतिविनाको हुन सक्दैन। सडक, भवन र अन्य पूर्वाधारसँगै हरियाली, स्वच्छ पानी, वन, सिमसार र स्वच्छ हावाको संरक्षण आवश्यक हुन्छ।
कनकाईको प्राकृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दा यो प्रतीक विशेष अर्थपूर्ण देखिन्छ। विकासले प्रकृतिलाई समाप्त गर्ने होइन, प्रकृतिसँग सहकार्य गर्ने बाटो रोज्नुपर्छ। बीऊबाट पलाएको टुसा त्यही भविष्यको संकेत हो।
सफा नगर : नागरिक संस्कारको सन्देश
स्तम्भको बाहिरी आकृतिमा देखिने सफा र सुन्दर नगरको संकेत पनि केवल दृश्य सौन्दर्यको विषय होइन। कलाकारका अनुसार सफाइ नागरिक संस्कार हो। सार्वजनिक स्थल सफा राख्नु केवल स्थानीय सरकारको जिम्मेवारी होइनÙ प्रत्येक नागरिकको साझा कर्तव्य हो। सुन्दर नगर भौतिक पूर्वाधारबाट मात्र बन्दैन। मानिसको व्यवहार, सार्वजनिक सम्पत्तिप्रतिको सम्मान, अनुशासन र साझा जिम्मेवारीले पनि नगरको चरित्र निर्माण गर्छ। यस अर्थमा स्तम्भले मौन नागरिक शिक्षा पनि दिइरहेको छ– सुन्दर नगर निर्माण गर्ने जिम्मेवारी सबैको हो।
ज्योति : विनाश होइन, सिर्जनाको उज्यालो
स्तम्भको तल्लो भागबाट माथितर्फ फैलिएको ज्योतिको घुमाउरो स्वरूप यसको दार्शनिक केन्द्रविन्दुमध्ये एक हो। कलाकार हिम्मत नेम्बाङका अनुसार यो विनाशको आगो होइन, सिर्जनाको उज्यालो हो। समाजमा हिंसा, प्रदूषण र विनाशको आगो होइन, ज्ञान, सिर्जना, शान्ति र समृद्धिको प्रकाश फैलिनुपर्छ भन्ने अवधारणा यस प्रतीकमा व्यक्त भएको छ।
आजको सामाजिक जीवनसँग जोडेर हेर्दा यसको अर्थ अझ व्यापक हुन्छ। अन्धकारको सट्टा उज्यालो रोज्नु, हिंसाको सट्टा संवाद रोज्नु, अज्ञानको सट्टा ज्ञान रोज्नु र निराशाको सट्टा सिर्जनशीलता रोज्नु नै त्यो ज्योति हो। त्यसैले यो कुनै धार्मिक दीपको सीमित प्रतीक होइनÙ यो सामाजिक रुपान्तरणको आलोक पनि हो।
हिम्मत नेम्बाङ : प्रस्तरलाई विचारको भाषा बनाउने कलाकार
आधुनिक प्रस्तर मूर्तिकार हिम्मत नेम्बाङको सिर्जनात्मक दृष्टिकोणलाई बुझ्न कनकाई धरोहर स्तम्भ एउटा महत्वपूर्ण कृति हो।
नेम्बाङका लागि मूर्तिकला केवल ढुङ्गालाई काटेर आकार दिने सीप होइन। प्रस्तरमा आकृति सिर्जना गर्नु एउटा पक्ष होÙ त्यस आकृतिमार्फत समाजसँग संवाद गर्नु अर्को महत्वपूर्ण पक्ष हो। उनका सिर्जनामा प्रकृतिबाट प्राप्त सामग्री, मानवीय संवेदना, प्रतीक र दार्शनिक विम्बको संयोजन देखिन्छ।
कनकाई धरोहर स्तम्भ ती अनुभवहरूको परिपक्व अभिव्यक्तिजस्तो देखिन्छ। यहाँ स्थानीय भूगोल केवल पृष्ठभूमि होइनÙ स्वयं कलाको भाषा बनेर उभिएको छ। कलाकारले कुनै व्यक्तिको अनुहारलाई केन्द्रमा राखेनन्। कुनै एक समुदायलाई प्रतिनिधि बनाएनन्। बरु सबैलाई समेट्ने एउटा साझा प्रतीकात्मक संसार निर्माण गरे। यसैले यस स्तम्भको नायक कुनै व्यक्ति होइनÙ धार्मिक तथा पर्यटकीय नगरी साझा कनकाई हो।
स्तम्भ मात्र नहेरून्, विचार पनि पढून् :
कलाकार हिम्मत नेम्बाङको एउटा अभिव्यक्ति यस कृतिको उद्देश्य बुझ्न महत्वपूर्ण छ। नेम्बाङको चाहना मानिसले स्तम्भ मात्र नहेरून् , त्यसभित्र लुकेको विचार पनि पढून् , यदि कसैले यसलाई हेरेर आफ्नो समाज, आफ्नो संस्कृति, आफ्नो प्रकृति र आफ्नो जिम्मेवारीबारे एकछिन पनि सोच्यो भने आफ्नो सिर्जना सफल भएको हुनेछ – यो भनाइले नेम्बाङको कलादृष्टि स्पष्ट पार्छ।
उनका लागि मूर्तिकला आकार निर्माण गर्ने काममा मात्र सीमित छैन। प्रस्तरलाई काटेर आकृति बनाउनु प्राविधिक सीप होÙ तर त्यस आकृतिमार्फत समाजमा संवाद सुरु गर्नु कलाकारको सामाजिक जिम्मेवारी हो। कनकाई धरोहर स्तम्भमा यही जिम्मेवारीको खोजी गरिएको देखिन्छ।
स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर :
विश्वका धेरै शहरमा केही सार्वजनिक कलाकृति त्यहाँको सांस्कृतिक हस्ताक्षर बनेका छन्। कुनै शहर पुलबाट चिनिन्छ, कुनै चोकबाट, कुनै स्मारकबाट र कुनै सार्वजनिक मूर्तिबाट ।
त्यस्तै भविष्यमा कनकाई धरोहर स्तम्भ पनि कनकाई नगरको सांस्कृतिक पहिचानको एउटा महत्वपूर्ण चिनारी बन्न सक्ने सम्भावना बोकेको देखिन्छ। कुनै एउटा कलाकृतिले सम्पूर्ण नगरको पहिचान समेट्न नसक्ला। तर यसले स्थानीय स्मृति र साझा भावनालाई दृश्यरूपमा अभिव्यक्त गर्न सक्छ।
यस स्तम्भले स्थानीय बासिन्दालाई आफ्नो भूगोलसँग भावनात्मक सम्बन्ध जोड्न सक्छ। बाहिरबाट आउने मानिसलाई कनकाईको एउटा कलात्मक परिचय दिन सक्छ। नयाँ पुस्तालाई आफ्नै स्थानीय इतिहास, संस्कृति र प्रकृतिबारे प्रश्न गर्न प्रेरित गर्न सक्छ। यसका लागि यसको संरक्षणसँगै यसको अवधारणा र प्रतीकबारे सार्वजनिक विमर्श पनि आवश्यक हुन्छ।
समकालीन नेपाली सार्वजनिक मूर्तिकलाको सम्भावना:
समालोचनात्मक दृष्टिले हेर्दा यस कृतिको सबैभन्दा सबल पक्ष यसको प्रतीकात्मक संरचना हो। कलाकारले प्रत्यक्ष रूपमा कुनै लामो सन्देश लेखेका छैनन्। उनले प्रतीकहरूलाई बोल्न दिएका छन्।
यही कारण एउटा बालकले यसमा सौन्दर्य देख्न सक्छ। कलाकारले संरचनात्मक लय देख्न सक्छ। साहित्यकारले दृश्य कविता देख्न सक्छ। दार्शनिकले जीवन र सभ्यताको अर्थ खोज्न सक्छ। वातावरणप्रेमीले टुसामा भविष्य देख्न सक्छ। नागरिकले सार्वजनिक जिम्मेवारीको सन्देश पढ्न सक्छ। यो बहुअर्थता सफल सार्वजनिक कलाको महत्वपूर्ण विशेषता हो।
कनकाई धरोहर स्तम्भ परम्परागत सालिक निर्माणको अवधारणाभन्दा बाहिर गएर स्थानीय पहिचानलाई समकालीन कलाभाषामा व्यक्त गर्ने प्रयास हो। यसले आधुनिकतालाई स्वीकार गर्छ, तर स्थानीय आत्मा गुमाउँदैन। परम्परालाई सम्मान गर्छ, तर परम्पराको पुनरावृत्ति मात्र गर्दैन। यही सन्तुलनले यसलाई समकालीन नेपाली सार्वजनिक मूर्तिकलाको एउटा उल्लेखनीय उदाहरण बन्ने सम्भावना दिएको छ।
धरोहर : संरचना मात्र होइन, विचार पनि हो
अन्ततः प्रश्न उठ्छ– धरोहर भनेको के हो ?केवल ढुङ्गा, स्तम्भ, भवन वा स्मारक ? कि त्यसले पुस्तौँसम्म हस्तान्तरण गर्ने विचार पनि धरोहर हो ? कनकाई धरोहर स्तम्भको सबैभन्दा ठूलो शक्ति यही प्रश्नमा रहेको देखिन्छ। यदि एउटा प्रस्तर संरचनाले मानिसलाई आफ्नो इतिहास सम्झाउँछ भने त्यो धरोहर हो। यदि त्यसले प्रकृतिप्रति जिम्मेवार बनाउँछ भने त्यो धरोहर हो। यदि त्यसले फरक समुदायबीच सहअस्तित्वको भावना जगाउँछ भने त्यो धरोहर हो। यदि त्यसले नयाँ पुस्तालाई कला, साहित्य र सिर्जनातर्फ आकर्षित गर्छ भने त्यो धरोहर हो।
यदि त्यसले मानिसलाई …हामीले भावी पुस्ताका लागि कस्तो समाज छाडेर जाने ?Ú भनेर सोच्न बाध्य बनाउँछ भने त्यसको महत्व अझ ठूलो हुन्छ।
निष्कर्ष : कनकाईको आत्मासँग संवाद गर्ने प्रस्तर
मानिसले सभ्यता निर्माण ग¥यो। तर सभ्यतालाई टिकाइराख्ने काम केवल भौतिक संरचनाले गरेनÙ विचारले ग¥यो। विचारलाई पुस्तान्तरण गर्ने माध्यम कहिले साहित्य बन्यो, कहिले संगीत, कहिले चित्रकला, कहिले वास्तुकला र कहिले मूर्तिकला।
कनकाई धरोहर स्तम्भ पनि त्यही परम्पराको समकालीन अभिव्यक्ति हो। यसले प्रस्तरलाई भाषा बनाएको छ। प्रतीकलाई विचार बनाएको छ। सार्वजनिक स्थानलाई संवादको थलो बनाएको छ। स्थानीय पहिचानलाई आधुनिक कलाभाषासँग जोडेको छ।
यसले भन्छ– सभ्यता तब मात्र समृद्ध हुन्छ, जब कला सिर्जनासँग, साहित्य चेतनासँग, संस्कृति सहअस्तित्वसँग, धर्म मानवतासँग, स्वतन्त्रता जिम्मेवारीसँग, विकास प्रकृतिसँग र समृद्धि शान्तिसँग जोडिन्छ।
चारवटा प्राकृतिक प्रस्तरको एकताले विविधताभित्रको सहकार्य सम्झाउँछ। कुचीले सिर्जनाको शक्ति बोल्छ। कलमले साहित्य र स्मृतिको महत्व सम्झाउँछ। लहरले संस्कृति र जीवनको प्रवाह देखाउँछ। शंखले आस्था र सहिष्णुताको सन्देश दिन्छ। चाबीले बन्धनबाट मुक्त चेतनाको आकांक्षा जगाउँछ। आँखाले जागरण र विवेकको अर्थ खोल्छ। बीऊबाट पलाएको टुसाले हरित भविष्यको सपना देखाउँछ। सफा नगरको संकेतले नागरिक संस्कार सम्झाउँछ। र माथितर्फ फैलिएको ज्योतिले विनाशको अँध्यारोभन्दा सिर्जनाको उज्यालो रोज्न आग्रह गर्छ।
त्यसैले कनकाई धरोहर स्तम्भलाई केवल चारवटा प्रस्तर जोडेर बनाइएको संरचना भन्नु यसको अर्थलाई अत्यन्तै सीमित गर्नु हुनेछ। यो त कनकाईको सामूहिक स्मृति हो । सांस्कृतिक विविधताको दृश्य अभिव्यक्ति हो। त्यस्तै प्रकृतिप्रतिको सम्मान हो। नागरिक जिम्मेवारीको मौन पाठ हो। यो सिर्जनाको पक्षमा गरिएको कलात्मक हस्तक्षेप हो र भावी पुस्ताप्रति गरिएको एउटा सांस्कृतिक सम्बोधन पनि हो।
सुरुङ्गा बजारको पश्चिमतर्फ एसियन हाइवेसँगै उभिएको यो प्रस्तर संरचना दैनिक यात्राका क्रममा मानिसका आँखामा परिरहन्छ। तर यसको वास्तविक यात्रा आँखाबाट मन र मनबाट विचारसम्म पुग्ने यात्रा हो। कुनै कलाकृतिको जीवन कलाकारको हातबाट सकिँदैन। त्यो त दर्शकको आँखामा प्रवेश गरेपछि सुरु हुन्छ। मानिसले त्यसलाई कसरी बुझ्छ, कसरी संरक्षण गर्छ, कसरी नयाँ पुस्तालाई सुनाउँछ र त्यसबाट कस्तो सामाजिक चेतना ग्रहण गर्छ– त्यसले नै त्यसको वास्तविक धरोहर मूल्य निर्धारण गर्छ।
कलाकार हिम्मत नेम्बाङले प्रस्तरमा आफ्नो कल्पना कुँदेका छन्। तर त्यसको अर्थ पूरा गर्ने जिम्मेवारी समाजको पनि हो। सायद त्यसैले कनकाई धरोहर स्तम्भलाई हेर्दा अन्ततः एउटा प्रश्न मनमा उठ्छ–
धरोहर हामीले निर्माण गरेको संरचना मात्र हो, कि भावी पुस्तालाई हस्तान्तरण गर्ने विचार पनि हो ?
कनकाई धरोहर स्तम्भले यस प्रश्नको उत्तर शब्दमा दिँदैन। यसले आफ्नै मौन प्रस्तर–भाषामार्फत उत्तर दिइरहेको छ।
त्यो उत्तरमा कनकाईको नदी बगिरहेको छ। प्रकृतिको स्मृति बोलिरहेको छ।
विविध समुदायको सहअस्तित्व देखिएको छ। कलाको कुची चलिरहेको छ। साहित्यको कलम उठिरहेको छ। स्वतन्त्रताको चाबी घुमिरहेको छ। शान्तिको आँखा खुलिरहेको छ। बीऊबाट भविष्यको टुसा पलाइरहेको छ। र विनाशको अँध्यारोमाथि सिर्जनाको ज्योति फैलिरहेको छ।
यही अर्थमा कनकाई धरोहर स्तम्भ एउटा प्रस्तर संरचना मात्र होइन– कनकाईको आत्मा, सामूहिक स्मृति, सांस्कृतिक चेतना र उज्यालो भविष्यप्रतिको विश्वासलाई प्रस्तरमा कुँदिएको सृजनात्मक दस्तावेज हो।
यसलाई हेर्दा एउटा मूर्तिकला देखिन्छ – बुझ्दा एउटा विचार भेटिन्छ, अझ गहिरिएर पढ्दा एउटा दर्शन भेटिन्छ । सम्भवतः यही नै यसको सबैभन्दा ठूलो उपलब्धि हो– स्थानीय पहिचानलाई केवल नाममा होइन, कलामा अनुवाद गर्नु।
( कलाकार हिम्मत नेम्बाङसँगको संवादमा आधारित)
