कनकाई खबर / झापाको कनकाई सामुदायिक वन क्षेत्रमा ६ करोड ९० लाखको लागतमा विज्ञान पार्क बन्ने भएको छ । वैज्ञानिक वनस्पति उद्यान सहित निर्माण हुन लागेको विज्ञान पार्कको नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकालले स्थलगत अनुगमन गरेका छन् ।
सोही अवसरमा मन्त्री ढकालले विज्ञान पार्कको आवश्यक्ता र यसको महत्वका बारेमा कनकाई सामुदायिक वनका पदाधिकारी साथै स्थानीय जनप्रतिनिधिहरुलाई थप सुझाव दिँदै यसको व्यवस्थापनमा एकजुट हुन अनुरोध गरेका छन् । यसै क्रममा धार्मिक तथा पर्यटकीय क्षेत्र धनुषकोटी र भिमसेन थान मन्दिरको समेत स्थलगत अनुगमन भएको बताइएको छ ।
अनुगमन अघि कनकाई नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रदेश नम्बर १ मा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु मध्ये कनकाई नगर क्षेत्र पर्यापर्यटनकालागि उर्वर भूमि भएकाले यसको संरक्षण र प्रवद्र्धनकालागि स्थानीयबासीले थप सक्रियता देखाउँनु पर्ने धारणा राखेका छन् । स्थापित साथै सम्भावित पर्यापर्यटकीय क्षेत्रको प्रवद्र्धनकालागि सरकार सधैं सकारात्मक रहेको भन्दै मन्त्री ढकालले प्राकृतिक पर्यटकीय क्षेत्र जंगल, जमिन, जलाधार र बन्यजन्तुहरुको बासस्थानलाई उचित संरक्षण सहित सदुपयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा संघिय सांसद एलपी साँबा लिम्बूले कनकाई सामुदायिक वन क्षेत्रमा ६ करोड ९० लाखको लागतमा निर्माण हुन लागेको विज्ञान पार्क ३ बर्षभित्रमा संचालनमा ल्याउँन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताए । यस क्षेत्रमा बन्न लागेको विज्ञान पार्कले शैक्षिक र मनोरञ्जनात्मक पर्यटनलाई प्रवद्धन गर्ने सांसद साँवाले बताएका छन् ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरक्षेत्रभित्र रहेका धार्मिक , प्राकृतिक र शैक्षिक पर्यटकीय क्षेत्रको अवस्था र यसको सम्भावनाका बारेमा जानकारी गराएका थिए । नगरप्रमुख पोखरेलले यस क्षेत्रमा निर्माण हुन लागेको विज्ञान पार्कले विद्यार्थीका लागि थप सिकाई केन्द्र र पर्यटकका लागि नयाँ गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।
वैज्ञानिक वनस्पति उद्यान सहित निर्माण हुन लागेको विज्ञान पार्क स्थानीय सरकारबाट २ करोड ४१ लख ५० हजार र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट ४ करोड ४८ लाख ५० हजार रुपैँया अनुदान सहित कुल ६ करा्ेड ९० लाखको लागतमा निर्माण हुन लागेको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीले बताए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख मन्जु प्रसाईको स्वागत तथा संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपानेले गरेका थिए ।
