कनकाई खबर / नेपाल सुनचाँदी व्यवसायी संघ शाखा सुरुङ्गाको अध्यक्षमा पुनः टिकाराम बराल सर्वसम्मत रुपमा चयन भएका छन् ।
आजभन्दा २० वर्ष अघि स्थापना भएको यस शाखाको संस्थापक सचिव समेत रहेका बराल शिवशंकर ज्वेलरी सुरुङ्गाका संचालक हुन् । यस अघि पनि संघको नेतृत्व सफलतापूर्वक सम्पन्न गरिसकेका बरालले आफ्नो कार्यकालमा अन्य सामाजिक संघसंस्थाहरुसँग सहकार्य गर्दै संघका तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । अन्य सामाजिक संघसंस्था सरह नै संघले यस अघिदेखि नै विपन्न वर्ग, समुदाय साथै कोरोना पिडितहरुलाई सहयोग लगायत विभिन्न सामाजिक गतिविधि गर्दै आएको अध्यक्ष बरालले बताएका छन् ।
शाखाको नवौं साधारणसभा र तेस्रो अधिवेशनले बरालको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नवराज बिमली, उपाध्यक्षमा राजु पाठक, सचिवमा खेमप्रसाद प्रसाईँ, कोषाध्यक्षमा नवीन श्रेष्ठ र सहसचिवमा युवराज शंकर चयन भएका छन् । सदस्यहरुमा रोहित ल्वागुन, रमेश लोहार, दुर्गा दियाली, बिनोद बराइली, श्यामकुमारी सुब्बा र सुनिल गजमेर रहेको बताइएको छ ।

त्यसैगरी समितिको सल्लाहकारमा स्थानीय अगुवा व्यवसायी मिलन खरेल, सपन बर्मन, जगत पोर्तेल, मेघराज दियाली, ज्योति श्रेष्ठ र रेवत दियालीलाई चयन गरिएको छ । सुरुङ्गा शाखामा कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाको माईधार क्षेत्रका सुनचाँदी व्यवसायीहरु संलग्न रहेका छन् । साधारण सभाको अवसरमा संघले दुईजना जेहेन्दार कालीगडलाई सम्मान पत्रका साथ विशेष सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा सुरुङ्गा निवासी तीलक गजमेर र भारतीयमूलका बाबु मण्डल रहेका छन् ।
स्थानीय होटल डिलाइटमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आतिथ्य रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी संघ शाखा सुरुङ्गाका संसथापक अध्यक्ष गौरीलाल श्रेष्ठ, संघका जिल्ला उपाध्यक्ष तुलसी बिमलीको विशेष आतिथ्य रहेको कार्यक्रममा कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्याम ओली, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख उदय शमशेर जबरा लगायतले सुनचाँदी व्यवसाय सुरक्षित रुपमा र कानुनी प्रावधान अपनाएर गरेमा कुनै समस्या नहुने बताएका थिए ।
