कनकाई खबर / संसद् विघटन बाध्यकारी कदम भएको जनाउँदै मध्यावधि चुनावको पक्षमा माहोल तयार पार्न शक्ति प्रदर्शनमा उत्रिएको सत्तारुढ नेकपाले फागुन ८ गते विराटनगरमा आयोजना गर्ने सभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।
जनसभामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित, गृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य सुवास नेम्वाङलगायतले सम्बोधन गर्ने पार्टीका प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेले बताएका छन् ।
एकले अर्कोलाई काउन्टर दिने र बढी जनसहभागिता देखाउनकालागि जनसभा आयोजना गर्ने क्रममा विराटनगरमा ओली समूहले जनप्रदर्शनको तयारी गरेको हो ।जनसभाको पूर्व सन्ध्यामा झापामा समेत कार्यकर्ताको व्यापक उपस्थितीमा क्षेत्रीय स्तरका कार्यकर्ता भेला सम्पन्न भएका छन् । झापाको सुरुङ्गामा कार्यकर्ताको व्यापक उपस्थितीमा भएको क्षेत्र नं.४ का अगुवा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले विराटनगरको जनसभामा झापाबाट ३० हजार कार्यकर्ता सहभागी गराउँने गरी तयारीमा जुटेको भएपनि सो भन्दा बढी कार्यकर्ताको उपस्थितीकालागि जनलहर तयार भएको बताएका छन् । वर्तमान अवस्थामा राष्ट्रिय राजनीतिमा बिचलन देखिएपनि नेपाली जनता एकताका साथ समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल बनाउँने कार्यमा एकजुट हुन थालेको भन्दै पार्टीका झापा अध्यक्ष पाठकले कार्यकर्तालाई अब ढुक्क भएर निर्वाचनमा केन्द्रित हुन अनुरोध गरेका छन् । झापामा पाँचवटै निर्वाचन क्षेत्रका कार्यकर्ताको व्यापक उपस्थितीमा सत्तारुढ नेकपाले क्षेत्रीय स्तरका कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

कार्यकर्ता भेलामा झापाको निर्वाचन क्षेत्र नं. ४ ‘क’ र ‘ख’ मा क्रमशः ५१ / ५१ सदस्यीय प्रदेश क्षेत्रीय समन्वय कमिटी समेत गठन गरी सार्वजनिक गरिएको छ । क्षेत्र नं. ४ ‘क’ मा सत्यनारायण राजवंशी र ‘ख’ मा खेमनाथ मिश्र संयोजक रहने गरी कमिटी विस्तार भएका हुन् । त्यस्तै क्षेत्रीय संयोजक राधाकृष्ण खनालको नेतृत्वमा रहेको २७ सदस्यीय कमिटीको विस्तार गरी ८१ सदस्यीय क्षेत्रीय कमिटी सार्वजनिक गरिएको जिल्ला कमिटीका सचिवालय सदस्य भक्तबहादुर बानियाँले जानकारी दिएका छन् । नवनियुक्त क्षेत्रीय कमिटीका संयोजकसहित सदस्यहरुलाई नेकपाका केन्द्रिय कमिटी सदस्य तथा झापा ईञ्चार्ज देवेन्द्र दहालले सपथ ग्रहण गराएका थिए । नेकपाको प्रचण्ड—नेपाल समूहले सडकमा मुख छाडिरहेका कारण आफुहरु आधिकारिक पार्टी भएकाले संयमतापूर्वक सहेर अघि बढ्न ईञ्चार्ज दहालले कार्यकर्तालाई अनुरोध गरेका छन् ।
कनकाई उद्योग वाणिज्य संघको सभा हलमा क्षेत्रीय संयोजक राधाकृष्ण खनालको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ईञ्चार्ज दहाल, झापा क्षेत्र नं. ४ का पूर्व संघीय सांसद एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्य हीराकुमार थापा लगायतले प्रचण्ड—नेपालले पार्टीको एकलौटी नेतृत्व लिने बहानामा प्रारम्भिक चरणबाटै गरेको चलखेलका कारण आँफूहरु पनि बिग्रिए र जनतालाई पनि अनिर्णयको बन्दी बनाउँने प्रयास गरे पनि यो सफल हुन नसकेको बताएका छन् । देशको समृद्धिकालागि जनताले दुई तिहाई मत दिएका थिए तर पार्टीभित्रैबाट पद लोलुपताका कारण सरकारलाई काम गर्न अवरोध सिर्जना भएपछि प्रधानमन्त्री केपी ओलीबाट संसद् विघटन बाध्यकारी कदम भएको नेताहरुको प्रष्टोक्ति थियो ।
एकले अर्कोलाई काउन्टर दिने र बढी जनसहभागिता देखाउन जनसभा आयोजना गर्ने क्रममा विराटनगरमा ओली समूहले जनसभाको तयारी गरिरहेको छ ।
सत्तारुढ नेकपाले गठन गरेको प्रचार समितिका संयोजक राजेन्द्र गौतमले विराटनगरको जनसभा अहिलेसम्मकै ठूलो हुने दावी गरेका छन् । यो जनसभाले जनमत प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेको झल्काउने उनको भनाई छ ।
जनसभा तयारीका क्रममा फागुन ६ गते इटहरीदेखि विराटचौकलाई केन्द्र मानेर झापा, धरान, विराटनगर र इनरुवाबाट १० हजार जनाको मोटरसाइकल र्याली गरिने स्वयम्सेवक परिचालन समितिका सचिव पर्शुराम बस्नेतले जानकारी दिएका छन् ।