राम निरौला,
कनकाई खबर / झापाको कनकाईमा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाको भातृ संस्था रोट्रयाक क्लब अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
स्थापनाको पहिलो वर्षदेखि नै शिक्षा, स्वास्थ्य साथै सामाजिक क्षेत्रमा विभिन्न सचेतनामूलक गतिविधि संचालन गर्दै आएको क्लवले आफ्नो वार्षिक क्यालेण्डर अनुसार “शिक्षा हाम्रो अधिकार” नामक कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको बताइएको छ ।
स्थानीय सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त यस क्लवले कनकाई नगरको वडा नं.१ प्रजापतिस्थित पशुपति प्राथमिक विद्यालययमा अध्ययनरत ७६ जना वालवालिकाको आवश्यक्तालाई मध्यनजर गर्दै शैक्षिक सामाग्री वितरण गरेको हो । कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्येश्यका साथ रोट्रयाक क्लबले यस अघि “म पनि पढ्छु नि” नामको पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ ।
अत्यन्तै विपन्न र सिमान्तकृत समुदायका वालवालिकाहरु अध्ययनरत ग्रामिण क्षेत्रको विद्यालयलाई लक्षित गरी क्लवले विद्यालयका वालवालिकालाई स्कूल ब्याग, कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरेको रोट्रयाक क्लब सुरुङ्गाका अध्यक्ष डा.मनिष उप्रेतीले बताएका छन् । रोटरी क्लवका सचिव एवम् चेलीबेटी ज्वेलरी सुरुङ्गाका संचालक युवा व्यवसायी तुलसी बिमली एवम् पशुपति अंग्रेजी मावि सुरुङ्गाको २०६५ सालको एसएलसी ब्याजले शैक्षिक सामाग्रीको स्पोन्सर गरेको कार्यक्रम संयोजक योगेन्द्र कार्कीले जानकारी दिएका छन् ।
सामाजिक क्षेत्रमा निस्वार्थ ढङ्गले रचनात्मक कार्य गर्दै आएको रोटरी क्लवले आफ्नो भातृ संस्थाको रुपमा रहेको रोट्रयाक क्लवसँगको सहकार्यमा भएको यस किसिमको गतिविधिबाट विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा समेत थप टेवा पुग्ने विश्वास गरिएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले बताएका छन् । सुरुङ्गा रोटरीले स्थापना वर्षदेखि नै स्थानीय स्तरमा लक्षित वर्गलाई न्यानो कपडा वितरण, शुद्ध पिउने पानी तथा सरसफाई, आधारभूत शिक्षामा सहयोग, शारीरिक रुपमा अशक्त भएका वालवालिकाहरुकालागि ह्वील चेयर वितरण लगायत समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको क्लवका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिएका छन् ।
रोट्रयाक क्लवका अध्यक्ष डा.मनिष उप्रेतीको सभापतित्व एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको सामाग्री वितरण कार्यक्रममा अध्यक्ष पोखरेलले रोटरीले गरेको सहयोगबाट विद्यालयको शैक्षिक स्तर वृद्धिमा थप टेवा पुग्ने आशा पलाएको बताए । अधिकांश विपन्न समुदायका वालवालिकाहरु अध्ययनरत यस विद्यालयमा आम्दानीको अन्य स्रोत केही नभए पनि शैक्षिक स्तर वृद्धिकालागि विद्यालयले नर्सरी कक्षाबाट अंग्रेजी माध्यमको शिक्षा सुरुवात गरिसकेको अध्यक्ष पोखरेलले बताएका छन् । नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन अध्यापन हुँदै आएको ग्रमिण क्षेत्रको यस विद्यालयलाई नमूना विद्यालयको रुपमा अघि बढाउँन निरन्तर दाताहरुको सहयोगको आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए ।
विद्यालय परिसरमा सम्पन्न सामाग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द चौहान, क्लवका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यालयका शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको थियो । रोट्रयाक क्लवकी कोषाध्यक्ष सारिका गिरीले स्वागत तथा कार्यक्रम संयोजक योगेन्द्र अधिकारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्पोन्सरका तर्फबाट चेलीबेटी ज्वेलरीका संचालक तुलसी बिमलीले थोरै भएपनि शैक्षिक संस्थामा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । औपचारिक कार्यक्रमको संचालन सचिब प्रतापबाबु जमरकट्टेलले गरेका थिए ।