कनकाई खबर / पूर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई नदीको पूर्वी किनारमा सरसफाई गरिएको छ ।
रोटरी क्लब अफ सुरुङ्गा र रोट्रयाक क्लब अफ सुरुङ्गाको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । धार्मिक आस्थाका रुपमा रहेको यस पवित्र स्थललाई सफा राख्नु हरेक नागरिकले आफ्नो नैतिक जिम्मेवारी सम्झनु पर्ने कुरालाई मध्य नजर गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुको संस्था रोटरी क्लवको अगुवाईमा सरसफाई गरिएको क्लवका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले बताउँनुभएको छ । साँस्कृतिक महत्वको धरोहरका रुपमा रहेको कनकाई घाट आसपासको सरसफाइकालागि क्रियाशिल सामाजिक संघसंस्थाहरुले विशेष चासो राख्नु पर्नेमा निवर्तमान अध्यक्ष पोखरेलले जोड दिनुभएको छ ।

दैनिक हजारौंको संख्यामा जाने गरेका मलामी र तिर्थयात्रीहरुले पानी खाएर फ्याँक्ने गरेका पानीका बोतल, अन्य प्लाष्टिक जन्य फोहोरले कनकाई घाट क्षेत्र अत्यन्तै प्रदुषित बन्दै गएको थियो । यस तर्फ सरोकारवालाहरुको ध्यान जानु पर्नेमा जोड दिँदै कार्यक्रम संयोजक एवम् क्लवका उपाध्यक्ष सुशिलकुमार श्रेष्ठले कनकाई घाट क्षेत्रको सरसफाईमा एक जुट हुन क्रियाशिल सामाजिक संघसंस्थाहरुलाई अनुरोध गर्नुभएको छ । फोहोरमैलाका कारण पवित्र धार्मिक क्षेत्र दिनप्रतिदिन दुषित बन्दै गएपछि क्लवले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत सरसफाई कार्यक्रमको आयोजना गरेको संयोजक श्रेष्ठले बताउँनुभएको छ । कम्तीमा महिनामा एक पटक यस क्षेत्रको सरसफाई अनिवार्य हुनु पर्ने भन्दै क्लवले सचेतनामूलक कार्यक्रम सहित कनकाई घाट आसपासको सरसफाई गरेको हो ।

क्लवका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलको सभापतित्व रहेको सचेतनामूलक सरसफाई कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेलले कनकाई घाटको सरसफाईमा स्थानीय सरकारका तर्फबाट विशेष योजनाका साथ अघि बढ्ने जनाउँनुभएको छ । यस कनकाई घाट क्षेत्रको सरसफाईकालागि तत्काल आवश्यक्ता अनुसार डस्वीनको व्यवस्था मिलाउँने प्रवक्ता पौडेलले प्रतिवद्धता जनाउँनुभएको छ ।
सचेतनामूलक सरसफाई कार्यक्रममा रोट्रयाक क्लव अफ सुरुङ्गाका अध्यक्ष डा.मनिष उप्रेतीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कनकाई नदी आसपासमा भएको फोहोरमैलाको दिगो व्यवस्थापनकालागि तत्काल ध्यान जानु आवश्यक रहेको बताउँनुभएको छ ।