कनकाई खबर / झापाको कनकाई नगर क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ता कुमारमणि पोखरेल नेपाल जेसीज वर्ष २०२१ को बोर्डमा प्रमुख अध्यक्ष सल्लाहकारका रुपमा चयन भएका छन् ।
नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई वर्ष २०२१ लाई थप उचाई प्रदान गर्ने कार्यमा पोखरेलको भूमिका महत्वपूर्ण हुने विश्वासका साथ प्रमुख अध्यक्ष सल्लाहकारका रुपमा मनोनित गरेको जनाएका छन् ।
राष्ट्रिय अध्यक्ष खनालले जेसीज अभियानलाई सार्थक परिणामसहित समयसापेक्ष, सफल, उत्कृष्ट र उपलब्धिमूलक बनाउन पोखरेललाई बोर्ड अफ डाइरेक्टर्सको प्रमुख अध्यक्ष सल्लाहकारमा चयन गरेको भन्दै आफ्नो मनोनयन पत्रमा उल्लेख गरेका छन् । सुरुङ्गा जेसीज वर्ष २०१० का अध्यक्ष, कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, रोटरी क्लब अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महा संघ १ नं. प्रदेशका सदस्य, कनकाई सुरुङ्गा प्रेस क्लव साथै युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका सल्लाहकार, पृथ्वी साकोसका अध्यक्ष, तुर्सा हेमरम स्मृति प्रतिष्ठानका सचिव लगायतका जिम्मेवारीमा रहेका पोखरेलले यो नियुक्तिलाई आफ्नो जीवनकै महत्वपूर्ण सम्मानका रुपमा लिएको बताएका छन् । नवनियुक्त प्रमुख अध्यक्ष सल्लाहकार पोखरेलले जेसीजलाई आफ्नो जीवनकै मातृसंस्थाका रुपमा हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।
कनकाई नगर क्षेत्रका एक कुशल बौद्धिक व्यक्तित्वका रुपमा युवाहरु माझ लोकप्रिय बनेका पोखरेलको यो जिम्मेवारीले सुरुङ्गा जेसीजलाई समेत थप उचाईमा पुर्याएको भन्दै सुरुङ्गा जेसीज वर्ष २०२१ की अध्यक्ष यदुका ओली उप्रेतीले खुशी व्यक्त गरेकी छन् ।