कनकाई खबर/ झापाको कनकाई नगर क्षेत्रमा सामुदायिक कुकुरवाट हुन सक्ने सडक दुर्घटना साथै रेविज रोगको खतरालाई न्युनिकरण गर्न संचालन गरिएको एक महिने अभियान समापन भएको छ ।
अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाको भातृ संगठनका रुपमा रहेको रोट्रयाक क्लव अफ सुरुङुगाले संचालन गरेको सामुदायिक कुकुरलाई टल्कने पेटि र रेबिज विरुद्धको खोप लगाउने अभियान समापन भएको हो । स्थापनाको प्रारम्भिक चरणबाटै सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको रोट्रयाक क्लवले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य लगायत सचेतनामूलक थप गतिविधी संचालन गर्दै अघि बढ्ने जनाएको छ ।
चोक बजार साथै सडक पेटीहरुमा स्वतन्त्र रुपमा घुमफिर गर्ने समुदायिक कुकुरलाई टल्कने पेटि लगाएपछि रातको समयमा टाढैबाट समेत कुकुर देखिने भएकाले मानिस सचेत हुने साथै रेविजको खोप लगाएकोले टोकिहाले पनि खतरा कम हुने भएकोले अबका दिनमा कनकाईमा सामुदायिक कुकुरवाट हुने दुर्घटना साथै रेविज रोगबाट हुन सक्ने खतरा न्युनिकरण हुन सक्नेमा आँफू विश्वस्त रहेको क्लवका अध्यक्ष डाक्टर मनिष उप्रेतीले बताए । कनकाई नगरपालिकाको विशेष सहयोगमा संचालन भएको एक महिने अभियानमा स्थानीयस्तरका एकसय बढी सामुदायिक कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन र टल्कने पेटी लगाइएको क्लवका अध्यक्ष डाक्टर उप्रेतीले जानकारी दिए । यसअघि चाडपर्वलाई लक्षित गरेर ग्रामिण क्षेत्रका बिपन्न बालबालिकालाई नयाँ कपडा वितण, स्थानीय संघसंस्थासँगको सहकार्यमा सुरुङ्गा बजार क्षेत्रको सरसफाईमा समेत क्लवले सक्रिय सहभागिता जनाइसकेको छ ।

क्लवका अध्यक्ष डाक्टर उप्रेतीको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको एक महिने अभियान समापना कार्यक्रम धार्मिक तथा पर्यटकीय क्षेत्र कोटीहोम परिसरमा सम्पन्न भएको हो ।

कुकुरलाई पेटि र खोप लगाउन पशुपन्छी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेज बहादुर पौडेल , भेट्नरी अधिकृत केबि गुरुङ्ग लगायत चार जनाको टोलीले प्राविधिक सहयोग गरेको बताइएको छ । । क्लवकी कोषाध्यक्ष सारीका गिरीको स्वागत तथा सचिव प्रतापबाबु जमरकट्टेलको संचालन रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं.४ का वडाअध्यक्ष गोविन्दप्रसाद पौडेल, कार्यपालिका सदस्य एवम् कोटीहोम धार्मिक संस्थाका अध्यक्ष नवलकिशोर दत्त, रोटरी क्लव सुरुङ्गाका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल , बर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल लगायतले मन्तव्य राखेका थिए ।