कनकाई खबर / कनकाई नगरपालिका ३ सुरुङ्गास्थित श्री भगवती बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा यस क्षेत्रका सामाजिक अभियन्ता खेमप्रसाद प्रसाई सर्वसम्मत रुपमा चयन भएका छन् ।
कोरोना कहरका विच पनि संस्थाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै यहि मंसिर १९ देखि २५ सम्मको अवधिमा विभिन्न चरणमा गरी २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभावाट अध्यक्षमा प्रसाईँसँगै सचिवमा लिलादेवी प्रसाईँ शिवाकोटी, महिला सदस्यहरुमा चन्द्रकला ओली, ममता सेडयाईँ र गीतादेवी पाण्डे भेट्वाल चयन भएका छन् ।
त्यस्तै खुल्ला सदस्य तर्फ युवराज संग्रौला, होमनाथ खतिवडा र दिनेशकुमार उप्रेती र लेखा समितिको संयोजकमा लिलाप्रसाद उप्रेती साथै दुईजना सदस्यमा सुरेशकुमार कडरीया र टोमप्रसाद बाह्रकोटी सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक ईश्वरीप्रसाद शिवाकोटीले बताएका छन् । निर्वाचन समितिमा संयोजक शिवाकोटीसहित सदस्यहरुमा सोमनाथ उप्रेती र जुना मैनाली रहेका थिए भने संस्थाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्नकालागि गठन गरिएको सहजीकरण उपसमितिले समेत थप महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
संस्थाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न हुँदा सम्म संस्थाको उपाध्यक्ष पदमा भने दुईजनाको उम्मेद्वारी परेका कारण सर्व सम्मत हुन नसकेपछि उपाध्यक्ष बाहेक अन्य सवै पदाधिकारी साथै सदस्यहरु सर्वसम्मत भई पदभार ग्रहण गरेका हुन् । नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक ईश्वरीप्रसाद शिवाकोटीले पदभार ग्रहण गराउँदै सपथ खुवाएका थिए । सोही कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य सोमनाथ उप्रेतीले गरेका थिए ।
संस्थाका अध्यक्ष तिलचन्द्र उप्रेतीको सभापतित्व एवम् कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाको तर्फवाट अध्यक्ष उप्रेतीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । आ.व. २०७६/०७७ मा संस्थाको शेयर पँुजीको लक्ष्य ४ करोड ५० लाखको भएपनि यथार्थमा ३ करोड ९२ लाख ६७ हजार पुगेको बताइएको छ । त्यस्तै संस्थाले आ.व.२०७७÷०७८ मा तीन सय शेयर सदस्य थप गरी शेयर पुँजी समेत वृद्धि गर्ने लक्ष्य लिएको बताइएको छ ।
वचत तथा ऋण सहकारीका रुपमा मात्र सिमित नभई संस्थाले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण गतिविधि गर्दै आएको संस्थाका अध्यक्ष तिलचन्द्र उप्रेतीले बताएका छन् । संस्थाका उपाध्यक्ष प्रभाखर कडरीयाले स्वागत गरेको कार्यक्रमको संचालन संचालक समितिका सदस्य लीलाप्रसाद भेट्वालले गरेका थिए ।