कनकाई खबर / तत्कालिन पंचायती शासकद्धारा कनकाई माइको किनारमा २०४४ सालको मंसिर २७ गते गोली हानी हत्या गरिएका शहिद लक्ष्मी पाण्डेकी ८१ वर्षिय आमा मायादेवी पाण्डे सुरुङ्गास्थित शहिद पाण्डेको शालिक तर्फ हेर्दै आँखाभरी आँशु पार्दै बरबराईरहेकी थिइन् ।
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि झापाका दुईवटा विद्यार्थी समूह अलग अलग तरिकाले शहिद पाण्डेको स्मृति सभा मनाउँदै थिए । उनीहरु एकले अर्को समूहलाई होच्याउँदै आफ्नै नेतृत्व चाहिँ अब्बल रहेको भन्दै बहस गरिरहेका थिए । आफ्नो भाषणमा शहिद परिवारको आशा अनि अपेक्षाका बारेमा सम्बोधन गर्न नै भुलेका विद्यार्थी नेताहरुले वर्षमा एक पटक शहिदको सम्झना भने गर्दै आएका छन् ।
शहिद पाण्डेको शनिवार ३३ औं स्मृति दिवस हो । देश र जनताकालागि आफ्नो ज्यानको बलिदानी दिएको छोरालाई आज सम्म पनि सरकारले शहिद घोषणा नगरेकोमा दुःख व्यक्त गर्दै रोइरहेकी मायादेवीको अब एउटै ईच्छा छ, छोरालाई सरकारले शहिद घोषणा गरिदिए हुन्थ्यो । सरकारले केही गर्छकी भन्ने आशामा ३३ वर्ष बितिसकेको बताउँदै मायादेवीले अन्य ठूलो सहयोगको अब आशा हराएको बताउँदै आफू जिउँदो छँदै छोराको शहिद घोषणा भए हुने बताएकी हुन् । हरेक वर्ष स्मृति सभाको नाममा आँफूलाई दोसल्ला ओढाएर पुष्प गुच्छा हातमा राखिदिने साथै नेताहरुबाट चिल्ला आश्वासन बाहेक अरु केही पनि नभएको भन्दै शहिद पाण्डेकी आमा मायादेवीले दुःख व्यक्त गरेकी छन् ।
हाल सम्ममा सरकारले राहत स्वरुप परिवारलाई १ लाख रुपैंया दिएको बताउँदै शहिद पाण्डेकी भाउजु निर्मलाले त्यस यता सरकारबाट आश्वासन मात्र पाउँने गरेको गुनासो पोखेकी छन् । केही होलाकी भन्दा भन्दै अब त शासन सत्ताको आन्तरिक झगडाका कारण शहिदको सपना साकार हुन नसक्ने आशंका व्यक्त गर्दै शहिद पाण्डेकी भाउजु निर्मला पाण्डेले नेताहरुमा एकताको भावना आइदिए हुन्थ्यो भन्दै ईश्वरसँग प्रार्थना गरेकी छन् ।
विर्तामोड नगरपालिका ३ सैनिक मोडमा आफ्ना नाती दिपक पाण्डेसँग बस्दै आएकी शहिद पाण्डेकी आमा मायादेवी शनिवार आफ्ना छोराको स्मृति सभामा सहभागी हुन सुरुङ्गा आएकी थिइन् । हरेक वर्ष अनेरास्ववियू झापाले कनकाई बहुमुखी क्याम्पस नजिकै रहेको शहिद पाण्डेको शालिकमा स्मृति सभा गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको कनकाईमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि झापाका दुईवटा समूहले यस पटक शहिद पाण्डेको अलग अलग स्मृति सभा गरेका छन् ।
सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पस नजिकै रहेको शहिद पाण्डेको शालिकमा सर्व प्रथम प्रधानमन्त्री ओली निकट विद्यार्थीहरुले माल्यार्पण गरी संक्षिप्त रुपमा श्रद्धाञ्जली सभा सम्पन्न गरे पश्चात पार्टीका अर्का अध्यक्ष पुष्पकमल दहाल र माधव नेपाल निकट विद्यार्थीहरुले समेत सोही अनुरुपको सभा सम्पन्न गरेका छन् ।
स्मृति सभामा प्रधान मन्त्री ओली समूहका विद्यार्थी नेता जिल्ला संयोजक समर्पण खतिवडा को अध्यक्षतामा भएको सभामा मनोज ताम्ली , डम्बर अधिकारी, टिका मंग्राती, असारु राजवंशी, रोशन लामा लगायतले सम्बोधन गरेका थिए ।
त्यस्तै नेकपाका अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल र माधव नेपाल समूहका विद्यार्थी नेता जिल्ला संयोजक अनिल सुवेदीको अध्यक्षतामा भएको सभामा कुबेर श्रेष्ठ अरुण, खगेन्द्र सुवेदी, दुर्गा धमला, भक्त शंकर लगायातले सम्बोधन गरेका थिए ।
तत्कालिन सरकारले विं.स २०४४ सालमा भारतीय सरकारले मेघालयमा नेपालीभाषिमाथि गरेको दमनको विरुद्धमा विद्यार्थी आन्दोलन गरिरहेको वेला शहिद पाण्डेलाई कनकाई नगरपालिका ४ को माईखोलामा तत्कालिन शासकले बाटो छेकेर छातीमा गोली ठोकेर मारेका थिए । उनै लक्ष्मी पाण्डेले पुलिसहरुले नेपाली चेलीबेटीमाथि अभद्र व्यवहार गर्न थालेपछि बरु मेरो छातीमा गोली हान, चेलीबेटीलाई छाडिदे भनेर आफ्नो सर्टको टाक खोली छात्ती थापेका थिए ।
त्यही समयमा प्रहरीले गोली हान्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । शहिद पाण्डे मारिएको दिन मंसिर २७ गते हरेक बर्ष शहिद लक्ष्मी पाण्डेको शालिक स्थल कनकाई ४ लक्ष्मी मार्गमा स्मृतिसभाको आयोजना गरिँदै आएको छ ।