कनकाई खबर / ईलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यालय प्रमुखको रुपमा १८ महिना अघि जिम्मेवारी सम्हाल्न आएका प्रहरी नायब निरीक्षक पदमसुन्दर लिम्बूको यस क्षेत्रमा क्रियाशिल दुई दर्जन बढी विभिन्न क्रियाशिल सामाजिक संघसंस्थाहरुले विशेष सम्मानका साथ विदाई गरेका छन् ।
विदाईकै अवसरमा ईलाका प्रहरी कार्यालय आसपासका स्थानीयबासी, समाजसेवी, अग्रज व्यक्तित्वहरु समेतले स्वतस्फूर्त रुपमा कार्यालय परिसरमै गएर खादा, पुष्पगुच्छा, मायाको चिनो हस्तान्तरण गर्दै सम्मानसहित विदाई गरेका छन् । ईलाका प्रहरी कार्यालय सुरुङगाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा यस क्षेत्रको शान्ति सुरक्षा कायम राख्दै अपराध रोकथाम तथा नियन्त्रण, लागुऔषध बिक्री बितरण तथा सेवनमा रोकथाम तथा नियन्त्रण,सवारी दुर्घट्ना न्युनिकरणकालागि प्रहरी नायब निरीक्षक लिम्बूले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै स्थानीयबासीले स्वतस्फूर्त रुपमा सम्मानजनक विदाई गरेका छन् ।
यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्दै जनमानसमा त्रास रहितको वातावरण सृजना गरी जनधनको सुरक्षामा थप सहयोग पुर्याएका कारण लिम्बूको कार्यकाल सफल भएको भन्दै स्थानीयबासीबाट मंगलबार विहानैदेखि सम्मानसहितको विदाई कार्यक्रममा सम्मान ग्रहण गर्नमा लिम्बू व्यस्त देखिन्थे ।
सुरुङ्गासहित समग्र कनकाई नगर क्षेत्रकै शान्ती सुरक्षाका निम्ति पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै लिम्बूलाई यस क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले समेत सम्मानजनक विदाई गरेका छन् । झापा जिल्लाकै मध्य भागमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई नगरीको सुरुङ्गामा २०७६ बैसाख २६ देखी यहाँको शान्ति सुरक्षाकोे जिम्मेवारी सम्हाल्दै आएका लिम्बूको नेतृत्वमा रहेको चुस्तदुरुस्त सुरक्षा व्यवस्थाका कारण सुरुङ्गाबासीलाई राहतको महसुश भएको सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष साथै सुरुङ्गा प्रहरी कार्यालय भवन निर्माण समितिका संयोजक समेत रहेका समाजसेवी टिकाप्रसाद पोखरेलले बताएका छन् । प्रहरी नायब निरीक्षक लिम्बूको नेतृत्वमा रहेको ईलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले स्थानीयबासीसँगको सहकार्यमा सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण गतिविधि गर्दै आएको पोखरेलले बताए ।
विश्वव्यापी महामारीका रुपमा पैmलिएको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणकालागि स्थानीय स्तरमा आफ्नो ज्यानलाई समेत जोखिममा राखी अत्यन्तै बफादार प्रहरीको रुपमा लिम्बूले आफ्नो जिम्मेवारी पूरा गरेको कनकाई २ का वडाअध्यक्ष परशुराम गिरीले बताए । आउँदो समयमा सुरुङ्गाबासीलाई प्रहरी नायव निरीक्षक लिम्बूको अभाव खड्कीने पो होकी भन्दै वडाअध्यक्ष गिरीले सुरुङ्गा प्रहरी प्रमुख लिम्बूको विदाईसँगै नवआगन्तुक प्रहरी नायब निरीक्षक उदयसमशेर राणालाई स्वागतसहित ध्यानाकर्षण गराएका थिए । नव आगन्तुक प्रहरी नायब निरीक्षक राणा जिल्ला कारागार भद्रपुरबाट आएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय ईलाममा सरुवा भएका लिम्बूको स्थानीय स्तरमा भएको विशेष सम्मानजनक विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले खुशी व्यक्त गरेका छन् । राष्ट्रसेवक कर्मचारीहरुले लोभ लालचबाट टाढै बसेर समाजमा रहेका असल व्यक्तिको संगत गरेको खण्डमा सेवाबाट सफल हुने प्रहरी प्रमुख कोइरालाले बताएका छन् । विदाई तथा स्वागत कार्यक्रमकै अवसरमा प्रहरी प्रमुख कोइरालाले प्रहरी आचरण विपरीत काम गरे बापत झापामा ७ जना प्रहरी निलम्बनमा परेको समेत जानकारी गराएका थिए ।
दुई दर्जन बढी स्थानीय संघसंस्थाहरुबाट संयुक्त रुपमा भएको विदाईसँगैको स्वागत कार्यक्रम कनकाई उद्योग वाणिज्य संघ र लायन्स क्लव अफ कनकाई सुरुङ्गाको संयोजनमा संघको सभा हलमा सम्पन्न भएको थियो । वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरीयाको सभापतित्व एवम् प्रदेश सभा सदस्य हिरा थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजाल, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, विदाई हुँदै गरेका सुरुङ्गा प्रहरी प्रमुख लिम्बू लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा लायन्स क्लवका अध्यक्ष मनोज बस्नेतको स्वागत तथा वाणिज्य संघका महासचिव तुलसी विमलीको संचालन रहेको थियो ।
माता मनकुमारी र पिता रणबहादुर लिम्वूको सु–पुत्रको रुपमा २०३६ पौष ५ गतेका दिन मोरङ जिल्लाको लेटाङ्मा जन्मिएका लिम्बूका श्रीमति भीमादेवी मादेन तथा दुई छोरी र एक छोरा छन् । वि.स. २०५५ भाद्र १ गतेका दिनदेखी नेपाल प्रहरी जवानको सेवामा प्रवेश गरी प्रहरी हवल्दार, प्रहरी सहायक निरिक्षक हुँदै प्रहरी नायव निरिक्षकमा पदोन्नती भएका लिम्बू सेवा प्रवेशदेखि नै नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा निष्ठा र ईमान्दारीताका साथ क्रियाशील रहँदै आएका थिए ।
प्रहरी प्रमुख लिम्बुको विदाई र नयाँ प्रहरी प्रमुख राणाको स्वागत कार्यक्रम स्थानीय स्तरमा ज्ञानज्योती युवा क्लवको संयोजनमा समेत एक दर्जन बढी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा सम्पन्न भएको सो क्लवका अध्यक्ष नारायण भेट्वालले वताएका छन् । त्यस्तै कनकाई नगरपालिकाको कार्यालयमा समेत विदाई तथा स्वागतको कार्यक्रम रहेको बताइएको छ ।