कनकाई खबर / झापा गाउँपालिकाको कार्यालयमा एक वर्षदेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा सरुवा भएको छ । पुर्वी पहाडको तत्कालीन अवस्थामा विकट मानिने खोटाङको ऐसेलुखर्कदेखि सुगम झापाको दुर्गम स्थानीय तह झापा गाउँपालिका सम्मको कर्मचारी संयन्त्रको नेतृत्व सम्हालेका निरौलाको स्थानीय तहमा करिब साडे तीन वर्षको निरन्तर सेवा तत्काललाई पूरा भएको हो ।
गाउँपालिकाको सभा हलमा शुक्रबार एक विशेष कार्यक्रमका विच प्रमुख प्रशासकीय अधिकृत निरौलालाई फुलमाला, अविर तथा दोसल्ला ओढाएर सम्मानजनक विदाई गरिएको छ । स्थानीय जनप्रतिनिधी, राजनीतिक दल, कर्मचारी लगायत गाउँपालिका क्षेत्रका क्रियाशिल संघसंस्थाहरुको उपस्थितीमा उनको विदाई गरिएको हो । अधिकृत निरौला झापा गाउँपालिकाको चौथो प्रमुख प्रसाशकीय अधिकृतका रुपमा २०७६ साल कार्तिक १४ गते हाजिर भएका थिए । यस अघि २०७३ फागुन २७ देखि क्रमशः राजेन्द्रप्रसाद पराजुली, चोलाराज दंगाल र गणेशराज कार्कीले गाउँपालिकामा कर्मचारी संयन्त्रको जिम्मेवारी सम्हालीसकेका छन् ।
गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकाल थप रचनात्मक बनेको बताएका छन् । निरौलाको नेतृत्वमा रहेको कर्मचारी संयन्त्रबाट प्रशासनीक क्षेत्रमा समेत सुधार भएका कारण विकास निर्माणका काममा थप सहज भएको अध्यक्ष शाहले बताए । झापा गाउँपालिकाको समृद्धिकालागि कर्मचारी संयन्त्रका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत निरौलाको नेतृत्व प्रभावकारी रहेको भन्दै गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले निरौलाको आगामी कार्यकालको सफलताको कामना गरेकी छन् । गाउँपालिकाका कर्मचारी पूर्णचन्द्र मैनालीले संचालन गरेको कार्यक्रममा खड्गप्रसाद खरेल, प्रेम न्यौपाने, दिपेन्द्र न्यौपाने, रिता बर्देवा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अब झापा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा को आउने भन्ने कुरा अन्यौलमा रहेको बताइएको छ ।
सुचना विभागबाट २०६८ मा निजामति सेवामा प्रवेश गरेका निरौलाले सोही विभागमा चार वर्षको नयाँ अनुभव हाँसिल गरेका थिए । त्यसपछि श्रम तथा रोजगार मन्त्रालयमा एक वर्षको सेवा पूरा गरेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अधिकृत स्तरको जिम्मेवारीमा ६ महिनाको अनुभव बटुलेका निरौलाले २०७३ को चैत्र महिनादेखि २०७६ को कार्तिक पहिलो साता सम्म खोटाङस्थित ऐसेलु खर्क गाउँपालिकामा कर्मचारी संयन्त्रको नेतृत्व सम्हालेका थिए ।
झापा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर एक वर्षको कार्यकाल बिताएपछि एक विशेष कार्यक्रमका विच विदाई भएका निरौलाले भावुक बन्दै आफ्नो फेसबुक स्टाटसमा यसरी आफ्ना भावना पोखेका छन् ः (उनकै शव्दमा जस्ताको तस्तै ) ः—
“समग्रमा स्थानीय तहको करिब साडे तीन वर्षको निरन्तर सेवाको समयलाई तत्कालकालागि विराम लगाउँदैछु । यो समय ब्यक्तिगत र सामाजिक जीवनलाई परिपक्व बनाउँदै सार्वजनिक सेवामा समाहित गर्न ऐतिहासिक रह्यो, पुर्वी पहाडको तत्कालीन अवस्थाको विकट खोटाङको ऐसेलुखर्क देखि सुगम झापाको दुर्गम स्थानीय तह झापा गाउँपालिका सम्मको अनुभव गर्न पाइयो । एउटा शाखा अधिकृत स्तरको कर्मचारीलाई संघीय सरकारले सुम्पेको गहन जिम्मेवारी यी दुबै स्थानीय तहमा रहँदा प्रभावकारी बनाउन कुनै कसर बाँकी राखिएन ,सकेको गरियो, नसकेको नसक्ने समेत गर्न पर्छ भनेर साहस गरियो, कर्मचारीका कारण बिकास रोक्न हुन्न असल नियत राखेर राम्रा कामलाई प्रवद्र्धन गरियो । संघीयता सफल बनाउँन वास्तवमा हामी कर्मचारीको अहम भुमिका रहन्छ, सकारात्मक रुपमा हेर्दा स्थानीय तहमा पछिल्ला तीन वर्षमा भएका परिवर्तनले धेरै आशाका किरण छरेको छ । यसलाई अझै धेरै सुधार सम्भव छ ।
झापा गाउँपालिकाबाट बिदा हुँदै गर्दा केही अधुरा कामहरुको सदैव सम्झना रहनेछ, आशा छ त्यसले छिटो पुर्णता पाउनेछ । यो अवधीमा धेरै बिकास निर्माणका कामहरु सम्पन्न भएका छ्न, प्रशासनीक क्षेत्रमा केही सुधार भएको छ, । सबैलाई चित्त बुझाउँन सायदै सकिएन होला , यसमा मलाई पछुतो रहनेछैन । संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त, शसर्त तर्फबाट प्राप्त हुने बजेटबाट सबै योजना सम्पन्न हुनसक्नु र यस विषम परिस्थितिमा समेत करिब ८५ प्रतिशत पूँजीगत खर्च हुन सक्नु सकारात्मक रुपमा लिएको छु । एउटा पात्रले मात्र चाहेर सबै सुधार सम्भव थिएन र छैन , सामुहिकताको खाँचो हुन्छ, सबैबाट सहयोग नै पाएको महसुस गरेको छु । राम्रा कामलाई कराएर सुनाउनुपर्ने बिडम्बना रहेको हाम्रो समाजमा प्रत्येकले आआफ्नै किसिमले कामको मुल्यांकन गरिरहेको हुन्छ । विकासका लागि राजनीति गर्नु महानताहो तर बिकासमाथि राजनीति गर्नु अपरिपक्वता हो ।
झापा गाउँपालिकामा रहँदा सबै प्रकारले निरन्तर मार्गनिर्देशन सहित बजेट कार्यान्वयनमा सहयोग गर्नुहुने सम्पुर्ण जनप्रतिनिधिज्युहरु, प्रतिनिधि तथा प्रदेश सभाका माननीय प्रतिनिधि ज्युहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरु, राजनैतिक दलका जिल्लास्तरीय एव स्थानीय नेताज्युहरु, सबै संघ , सस्थाका प्रतिनिधि ज्युहरु,बैंक तथा बित्तीय सस्थाका साथीहरु , सन्चारकर्मी महानुभावहरु सबैमा आभार व्यक्त गर्दछु । मेरो नेतृत्वलाई अनुसरण गर्दै प्रभावकारी सेवा प्रवाहमा लाग्नु हुने कार्यालय र मातहतका सबै सबै कर्मचारी साथीहरू , सुरक्षा कर्मी साथीहरू , विभिन्न बिसयगत समितिका सबै पदाधिकारीहरुप्रती हार्दिक आभारी छु ।
अन्त्यमा मेरो सरुवा यस गाउँपालिकाको विकास र समृद्धिको कारक बनोस हार्दिक शुभकामना ।”