कनकाई खबर \ कोरोना भाइरसको संक्रमण अत्यन्तै बढ्न थालेपछि जोखिमलाई मध्यनजर गर्दै कनकाई नगरपालिकाको कार्यालयले अत्यावश्यक सेवा बाहेक अनश्चितकालकालागि कार्यालय बन्द गरेको छ ।
तीनदिन अघि २८ गते बुधबार नगरपालिकाका कर्मचारी, क्वारेन्टिन साथै होम आइसोलेशनमा बसेकाहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारी गरि ६८ जनाको स्वब संकलन भएको थियो । जस मध्ये केही नगरपालिकाका कर्मचारीसहित ३८ जनाको रिपोर्ट रिटेष्ट (पुनपरिक्षण गर्नु पर्ने) भनेर आएपछि आवश्यक सतर्कता अपनाउँनु पर्ने देखिएको कारण नगरपालिकाको कार्यालय मात्र अर्को सुचना नआउन्जेल सम्मकालागि बन्द गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए । कनकाई नगरपालिकाको कोटीहोमस्थित पिसिआर परिक्षण प्रयोगशालामा स्वब परिक्षण भएको बताइएको छ । वडा कार्यालयहरुबाट हुने सम्पूर्ण सेवा नियमित सुचारु हुने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिएका छन् ।
हाल सम्म कनकाई नगरपालिकामा ६९ जना कोरोना संक्रमित पुष्टि भएकोमा ३ जनाको निधन भएको छ भने ५८ जना निको भएर घर फर्किसकेको कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोशी अञ्चल अस्पताल विराटनगरमा १ जना र विराट मेडिकल कलेजको आइसोलेशनमा १ जना साथै अन्य ६ जना होम आइसोलेशनमा रहेको शाखाले जनाएको छ । आजै मात्र नगरपालिकाका अधिकांश कर्मचारी, क्वारेन्टिन र आइसोलेशनमा रहेकाहरुसहित ८५ जनाको स्वब संकलन गरिएको नगरको स्वास्थ्य शाखाले कनकाई खबरलाई जानकारी दिएको छ ।
कनकाई नगरपालिकाको वडा नं.१ मा हिजो मात्र एक ५१ वर्षिय पुरुषको निधन भएपछि उनको कनकाई घाटमा परिवार, गाउँघर र आफन्तजनसहित परम्परागत दाहसंस्कार गरियो । मुटुको रोगी भएका ती पुरुषको निधन हुनु अघि संकलन गरिएको स्वबको रिपोर्ट भने आज पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जसका कारण पनि अब लक्षणका आधारमा कन्ट्रयाक ट्रेसिङलाई नगरपालिकाले थप सक्रिय बनाउँने बताइएको छ ।