कनकाई खबर \ कमलबजार नगरपालिका अछाममा कार्यरत ईन्जिनियर नरेश न्यौपानेलाई नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टका छोराले कुटपिट गरेका छन् ।

नगर प्रमुखका छोराले कर्मचारीलाई कुटपिट गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै स्थानीय तह कर्मचारी हकहित मञ्च जिल्ला तदर्थ समिति झापाले घोर भत्सना गर्दै कुटपिटको घटनाप्रति खेद प्रकट गरेको छ । काम नभएको योजनाको बिल बनाउन दवाब दिइएको साथै गैरकानुनी काम गर्न अस्वीकार गर्दा उनलाई कुटपिट गरीएको भन्दै तदर्थ समिति झापाका संयोजक कृष्णप्रसाद रिमाल, सहसंयोजक पूर्णचन्द्र मैनाली“उदय” र सचिव देवराज आचार्यद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा जनाइएको छ ।
नगरपालिकाका कुनै पनि कर्मचारीबाट काम गर्ने क्रममा गल्ती भएमा कानूनी उपचार गर्न मिल्ने प्रावधान हुँदा हुँदै भौतिक आक्रमण गर्नु कानूनी राज्यको उपहास भएको ठहर गर्दै कर्मचारी हकहित मञ्च झापाले आज विहिबार प्रेस विज्ञप्ती मार्फत घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
देश र जनताको सेवामा अहोरात्र खटिने कर्मचारीलाई गैरकानूनी काम गराउन खोज्ने र काम नगरे दबाब दिने प्रवृत्तिले कर्मचारीको मनोबल गिर्नुका साथै अभ्यासको क्रममा रहेको संघीयता नै असफल हुन सक्ने कर्मचारी हकहित मञ्च झापाको ठहर रहेको समितिले जनाएको छ ।
राष्ट्रसेवक कर्मचारीलाई हातपात गर्नेलाई हदै सम्मको कार्वाही गर्नु पर्ने साथै घाइतेको उपचारको माग गर्दै प्रेस विज्ञप्ती मार्फत ईन्जिनियर नरेश न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना गरीएको छ ।