
कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा पाँच महिनापछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा इलाम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले कार्यभार सम्हालेका छन् ।
यस अघि २०७६ को चैत २६ गतेका दिन कनकाई नगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालेका रुद्रप्रसाद न्यौपाने ५ महिनापछि जिल्ला समन्वय समिति झापाको प्रमुख प्रशासकका रुपमा सरुवा भएर गएपछि कनकाईमा इलामबाट अर्का न्यौपाने आएका हुन् । सरकार स्थिर भए झैं जिम्मेवार कर्मचारी समेत छोटो समयमा फेरबदल नभई स्थिर हुनु पर्ने भन्दै कनकाई नगर क्षेत्रका अगुवाहरुले स्थानीय सरकारको ध्यानाकर्षण हुनु पर्ने बताए ।
भदौ ३१ गतेदेखि नै कनकाईको नवौं प्रमुख प्रशासकीय अधिकृतका रुपमा मोहनप्रसाद न्यौपानेले जिम्मेवारी सम्हाल्न थालेका हुन् । इलाम जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा ६ महिना मात्र कार्यसम्पादन गरेका न्यौपानेको स्थानीय तहको यो जिम्मेवारी पहिलो अनुभव हुने भएको छ । “स्थानीय तहमा काम गर्ने आफ्नो ईच्छा नहुँदा नहुँदै पनि जिम्मेवारी आएपछि सम्हाल्नै पर्यो” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कनकाई खबरसँगको भेटमा यसरी आफ्नो भावना पोखेका थिए । न्यौपानेको ईच्छा जस्तो भएपनि सम्बन्धित निकायबाट कम्तीमा पनि एक आर्थिक वर्ष सम्म जिम्मेवारी पूरा गर्न सक्ने कर्मचारीको व्यवस्थापन हुनु पर्ने सरोकारवाला बताउँछन् । इलाम आउनुभन्दा पहिले लामो समय सम्म कर्णाली बिकास आयोगको जिम्मेवारीमा रहेर त्यस क्षेत्रको विकास निर्माणको योजना तर्जुमा गर्ने विषयमा भने न्यौपानेले ठूलो अनुभव बटुलेको बताए ।
साविक सुरुङ्गा र घैलाडुवा गाविस एकिकृत भएर कनकाई नगरपालिका बनेपछिको ७ वर्षपछि कनकाईको नवौं प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हाल्न आएका न्यौपानेले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार तोकिएको काम, कर्तव्य र अधिकार क्षेत्र भित्र रहेर आँफूले कार्य सम्पादन गर्ने कनकाई खबरलाई जानकारी दिए । कनकाई नगरपालिकामा हाल सम्ममा ८ जना प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन गरीसकेको भए पनि एक वर्षको अवधि पूरा गर्नेमा दुई जना मात्र प्रमुख प्रशासकीय अधिकृत भएको पाइन्छ ।
कनकाई नगरपालिका घोषणा भएपछि २०७१ को बैशाख २५ गते पहिलो प्रमुख प्रशासकीय अधिकृतका रुपमा कनकाई नगरपालिकामा कार्यभार सम्हाल्न आएका रुद्रवहादुर कार्की करिव चार महिनापछि भदौ १३ गते विदाई भएका थिए । त्यसपछि २०७१ को भदौ १४ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हाल्न आएका सुनिल निरौला १० महिनापछि २०७२ को असार ३० गते विदाई भएका थिए । त्यसपछि क्रमशः अनुज गौतम २०७२ साउन १ गतेदेखि २०७३ जेठ ७ गते सम्म १० महिना, खगेन्द्र गिरी २०७३ जेठ ८ गतेदेखि २०७४ कात्तिक ५ सम्म १७ महिना, देबेन्द्र कार्की २०७४ कात्तिक ६ देखि २०७५ कात्तिक १२ सम्म एक वर्ष, गणेशप्रसाद बराल २०७५ मंसिर २० देखि २०७५को चैत ५ गते सम्म साडे तीन महिना, खरुदेब चुडाल २०७५ चैत्त ११ देखि २०७६ फागुन ६ गते सम्म ११ महिना सम्मको कार्यकाल विताएका हुन् । त्यस्तै रुद्रप्रसाद न्यौपानेले २०७६ को चैत २६ गतेदेखी २०७७ को भदौ ३० गते सम्म ५ महिनाको कार्यकाल बिताएका हुन् ।