



कनकाई खबर डेक्स \ कनकाई उद्योग वाणिज्य संघको आसन्न साधारण सभाले यतिवेला व्यवसायीहरु विचमा चुनावी चहलपहल बढाएको छ ।
यहि मंसिर २७ गतेका दिन संघको चौथो साधारण सभा हुँदैछ । आजभन्दा दुई वर्ष अगाडी निर्वाचन प्रक्रियावाट संघको तत्कालिन विधान अनुसार दुई वर्षे कार्यकालका लागि स्थानीय सामाजिक व्यक्तित्व तथा सक्रिय व्यवसायी कुमारमणि पोखरेलको नेतृत्वमा एउटा जुझारु कार्यसमिति निर्वाचित भएको थियो । जिम्मेवारी सम्हालेको एक वर्षपछि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको विधानलाई अनुसरण गर्नु पर्ने भएकाले यस अघिको साधारण सभाले वाणिज्य संघको विधान संशोधन गरी कार्यसमितिको कार्यकाल तीन वर्षे रहने व्यवस्था गरेको छ ।
विधान संशोधन भएपनि वर्तमान नेतृत्वले आँफू निर्वाचित भएको अवस्थामा रहेको संघको विधान अनुसार नै साधारण सभा गर्न लागेको वताएको छ । साधारण सभामा संशोधित विधान अनुसारको तीन वर्षे कार्यकालको प्रस्ताव पेश हुन सक्ने अवस्था समेत रहेको संघका एक जिम्मेवार पदाधिकारी वताउँछन् । तीन वर्षे कार्यकालको प्रस्ताव साधारण सभाले पास गरेको अवस्थामा वर्तमानमा रहेको संघको नेतृत्वले अरु एक वर्षसम्म जिम्मेवारी सम्हाल्न पनि सक्ने वताइएको छ ।
यदि त्यसो नभएर निर्वाचन प्रक्रियामा जानु पर्ने भएमा साधारण सभाले चयन गरेको निर्वाचन मण्डलले सर्वसम्मत नेतृत्व चयनका लागि तीन दिन सम्मको समय उपलव्ध गराउँने व्यवस्था रहेको छ । साधारण सभाले चयन गरेका व्यक्तित्वहरु रहेको निर्वाचन मण्डलले आँफूले पाएको जिम्मेवारी अनुसार सर्वसम्मत नेतृत्व चयनका लागि महत्वपूर्ण भूमिका खेल्ने वताइएको छ । निर्वाचन मण्डलको प्रयास विफल भएमा निर्वाचनका कार्यक्रम सार्वजनिक हुने वताइएको छ ।
आगामी तीन वर्षे कार्यकालका लागि हुने संघको निर्वाचनमा करिव १२ सय व्यवसायीहरु मतदाताका रुपमा रहने संघको कार्यालय सचिव गोमा कार्कीले वताएकी छन् । व्यवसायीहरुको संस्था कनकाई उद्योग वाणिज्य संघमा करीव २५ सय व्यवसायीहरुको दर्ता भएको भए पनि पान अथवा भ्याटमा दर्ता भइ नविकरण भएका व्यवसायीहरु मात्र निर्वाचनको प्रक्रियामा भाग लिन पाउँने व्यवस्था रहेको संघको कार्यालयले जनाएको छ ।
विगतलाई हेर्दा व्यवसायीहरुको साझा संस्थाको रुपमा हेरिने गरेको वाणिज्य संघको निर्वाचनले स्थानीय निर्वाचनको झल्को दिने गरेको छ । वाणिज्य संघमा लामो समयदेखी प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न जिम्मेवारीमा रहँदै महत्वपूर्ण योगदान दिँदै आएका व्यवसायीहरु नै संघको नेतृत्वका लागि आकांक्षीका रुपमा रहेका छन् ।
कनकाई नगरमै हाल सम्मको सुविधा सम्पन्न भवनका रुपमा रहेको कनकाई अतिथी सदन संघको बलियो आर्थिक स्रोतका रुपमा रहनु साथै यस अघि विभिन्न चरणमा रेहेको सफल नेतृत्वका कारण जिल्लामै यस संघको अग्रस्थान स्थापित हुनु जस्ता कुराको निरन्तरताका लागि पनि यस संस्थाले सफल र सक्षम नेतृत्वको अपेक्षा राखेको स्थानीय वुद्धिजिवी वताउँछन् । व्यवसायीहरुको हितमा रहेर विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापित वाणिज्य संघको अवको नेतृत्व हाँक्नका लागि केही अगुवा व्यवसायीहरु आकांक्षीका रुपमा देखिए पनि नेतृत्व सर्वसम्मत हुन सक्ने सम्भावना वढेर गएको वताइएको छ ।
कनकाई नगर साथै झापा गाउँपालिका समेत कार्य क्षेत्र रहेको यस वाणिज्य संघको क्षेत्र भित्रका हरेक चोक,वजारका चियापसलदेखि लिएर गाउँघर सवैतिर अहिले उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा विभिन्न अड्कलवाजी हुन थालेका छन् । कनकाई नगरमा रहेका संघसंस्थाको सर्वसम्मत नेतृत्व चयनका लागि पहल हुँदै गरेको वर्तमान अवस्थामा संघको नेतृत्व सर्वसम्मत आउँन सक्ने सम्भावना पनि वढेर गएको अनुमान गरिएको छ ।
वर्तमान कार्यसमितिवाटै सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेकाले निर्वाचन हुने सम्भावना न्युन रहेको संघका एक पदाधिकारीले वताए । निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था आएमा वाणिज्य संघको वर्तमान कार्यसमितिवाट अध्यक्षका लागि एक जना भन्दा वढीको उम्मेद्वारी नहुने स्रोतले जनाएको छ । जसको प्रत्यासीका रुपमा अन्य कुनै उम्मेद्वारी खडा भएमा निर्वाचन हुने नत्र सर्वसम्मत नेतृत्व चयन हुन सक्ने सम्भावना रहेको वताइएको छ ।
वाणिज्य संघको अवको नेतृत्वका लागि वर्तमान कार्यसमितिाका अध्यक्ष कुमारमणि पोखरेल, उपाध्यक्ष मिनाल तिम्सिना र महासचिव सोमनाथ उप्रेती मध्ये एकजनाको नाम सर्वसम्मत हुनेमा सम्भावना वढेर गएको स्रोतले जनाएको छ । हालको कार्यसमितिका चर्चामा रहेका तिनैजना अगुवा व्यवसायी विच अघिल्लो निर्वाचनका समयमा पनि सहकार्य भएका आधारमा यस पटकको नेतृत्वका लागि पनि सहज निकास आउँनेमा विश्वास गरिएको छ ।
वर्तमान कार्यसमिति वाहेक व्यवसायीहरुसँग नजिक रहेका साथै यस अघिको संघको निर्वाचनमा समेत अध्यक्षका प्रत्यासी वनेका स्थानीय व्यवसायी लिलाप्रसाद चिमरीया पनि वाणिज्य संघको नेतृत्वका लागि आकांक्षीका रुपमा देखिएका छन् । कनकाई नगरमा रहेका आम व्यवसायीहरुसँगको सहकार्य निरन्तर रुपमा भइरहेकाले संघको नेतृत्वका लागि एक पटक व्यवसायीहरुको साथ आँफूले पाँउनेमा चिमरीया विश्वस्त छन् ।
संघको वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीहरु विचमा लोकप्रिय वन्दै आएका समाजसेवी एवम् वर्तमान कार्यसमितिका उद्योग उपाध्यक्ष कृष्ण चुडाल आकांक्षीका रुपमा देखिएका छन् भने उपाध्यक्षका लागि मारवाडी सेवा समिति कनकाई नगरका अध्यक्ष समेत रहेका वर्तमान कार्यसमितिका सदस्य अनिल गोयल आकांक्षीका रुपमा रहेको वताइएको छ ।