कनकाई खबर / झापाको मेचीनगर ५ निवासी ७२ वर्षीय एक महिलाको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतवार राती ९ बजे निधन भएको छ ।
कोभिड राजनीतिले जनस्वास्थ्यमा समेत प्रभाव पारेको भन्दै उचित स्वास्थ्य उपचार नपाएकै कारण महिलाको निधन भएको परिवारले दाबी गरेको छ । श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारकोलागि झापाकै कनकाई अस्पताल बिर्तामोडमा असोज १ गते भर्ना गरिएको थियो । अस्पतालको आइसियु कक्षमा भएको उपचारका क्रममा बिरामीको कोरोना परिक्षणकालागि बिर्तामोडसहित भद्रपुरका समेत नाम चलेका अस्पतालमा केमिकल नभएको भन्दै स्वाब संकलन हुन नसकेपछि बिरामीको उपचारमा थप जटिलता आएको पारिवारीक स्रोतले जनाएको छ ।
जसका कारण बिरामीको अवस्था झन जटिल बन्दै गएका कारण तीन दिनपछि अस्पतालले बिरामीलाई धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएका थिए । तर धरानमा ३ घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समेत समयमा उपचार नपाएकै कारण ती महिलाको निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
महिलाको निधनपछि अस्पतालले कोरोना परिक्षणका क्रममा गरेको स्वब संकलनको रिपोर्ट पोजेटिभ आएको परिवारलाई जानकारी गराएको थियो । कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको सोमबार बेलुका ८ बजेको समयमा झापाको कनकाई घाटमा परिवारका सदस्य, आफन्तजनका साथमा नेपाली सेनाले दाहसंस्कार गरेको बताइएको छ । दाहसंस्कारकै क्रममा पनि कोरोना संक्रमण पुष्टी भएको प्रमाणको कागज समेत परिवारलाई सम्बन्धित अस्पतालले उपलव्ध नगराएको भन्दै सम्बन्धित परिवारका सदस्यहरुले आक्रोस पोखेका थिए ।