कनकाई खबर \ यातायात मजदुरहरुको हक हितकालागि १२ वर्ष अघि झापाको सुरुङ्गामा स्थापना भएको स्वतन्त्र मजदुर भलाई मञ्चले तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।

कनकाई सामुदायिक वन समुहको सभा हलमा मंगलवार सम्पन्न साधारण सभाले प्रशन्न प्रसाईं(प्रेम) को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा जयकिशोर सहनी, सचिवमा प्रकाश मैनाली, सहसचिवमा मोहन पौडेल र कोषाध्यक्षमा धनवहादुर पाचकोटी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः भक्ति कडरीया, बिमल ठकुरी, टेकबहादुर गुरुङ्(बौवा) र खेम चौधरी चयन भएका छन् । समितिको पहिलो बैठकले थप चारजना सदस्यहरु मनोनित गरी १३ सदस्यीय कार्यसमिति निर्माण गर्ने योजना रहेको अध्यक्ष प्रसाईँले बताएका छन् ।
साधारण सभाको अवसरमा संस्थाको स्थापनाकालदेखि हालसम्म पनि संस्थालाई महत्वपूर्ण सहयोग गर्दै आएका स्थानीय रोशन चुडाललाई विशेष सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर वडा नं.३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, स्वतन्त्र मजदुर भलाई मञ्चका संस्थापक अध्यक्ष रघुनाथ खड्का लगायतले सम्मान पत्रका साथ चुडाललाई विशेष सम्मान गरेका हुन् ।
कुनै पनि राजनीतिक दलको भातृ संगठन नभईकन विशुद्ध मजदुरहरुको हितकालागि काम गर्ने संस्थाका रुपमा स्थापित यस संस्थाले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको संस्थाका अध्यक्ष खगेन्द्र शिवाकोटी(रमेश) ले बताएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोराना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर लगायत बिपन्न परिवारकालागि थोरै भएपनि सहयोग गर्ने उद्येश्यले केही दिनअघि मात्र संस्थाका तर्फबाट २ लाख ३७ हजार बराबरको अतिआवश्यक खाद्य सामाग्री वितण गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिएका छन् । संस्थाका तर्फवाट केही वर्ष अघि भूकम्प पिडितहरुलाई समेत राहत सामाग्री वितरण गरेको बताइएको छ । स्वतन्त्र मजदुर भलाई मञ्चमा झापा जिल्लाभरीका २ सय बढी यातायात मजदुरहरु आवद्ध रहेको बताइएको छ । संस्थालाई आगामी दिनमा थप व्यवस्थित बनाउँदै अघि बढाउँने योजना रहेको नवनिर्वाचित अध्यक्ष प्रसाईँले प्रतिवद्धता जनाएका छन् ।
संस्थाका अध्यक्ष खगेन्द्र शिवाकोटी(रमेश)को सभापतित्व एवम् कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओली, कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती, ट्राफिक प्रहरी सुरुङ्गाका प्रमुख चन्द्रकुमार बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव अरुण यादबले स्वागत गरेको कार्यक्रमको संचालन सुरुङ्गा ट्याक्सी व्यवसायी परिवारका अध्यक्ष ओमनाथ लुइटेलले गरेका थिए ।