कनकाई खबर / एकका लागि एक अभियानले झापाको कनकाई ४ स्थित कोटीहोममा स्थापना गरेको पिसिआर परीक्षण ल्याबको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रशंसा गरेका छन् ।

संचालनको तयारीमा रहेको पिसिआर ल्याबको स्थलगत निरीक्षणपछि शुक्रबार मुख्यमन्त्री राईले ल्याब आँफूले सोचेभन्दा धेरै नै व्यवस्थित र उत्कुष्ट रहेको बताएका छन् ।
मुख्य मन्त्री राईले नागरिकको पहलमा सरकारलाई सहयोग गर्ने उद्येश्यले स्थापना गरिएको ल्याब सञ्चालनकालागि आँफू गम्भीर रहेको बताएका छन् । जनस्तरबाट भएको आर्थिक सहयोगका कारण स्थापना भएको पिसिआर ल्याब हाल सम्म पनि संचालनमा आउँन ढिलाई भइरहेकोमा दुःख व्यक्त गर्दै मुख्य मन्त्री राईले संचालनकालागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
समुदायमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला गम्भीरताका साथ परीक्षणको दायरा बढाउनुपर्ने भन्दै एकका लागि एक अभियानले स्थापना गरेको ल्याब चाँडै सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री राईले प्रदेशबासीमा कोरोनाप्रति सजग रहन आग्रह पनि गरेका छन् । प्रदेश १ बाट कोरोनालाई पराजित गर्नकालागि सबैजनाले आआफ्नो ठाउँबाट कोरोना विरुद्धको अभियानमा सक्रियता देखाउँन समेत मुख्य मन्त्री राईले अपिल गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल लगायतले कोटीहोममा स्थापना भएको पिसिआर ल्याब तत्काल संचालनमा ल्याउँन सबै क्षेत्रबाट आवश्यक पहल गर्नु पर्ने बताएका छन् । अभियानका संयोजक महेन्द्रकुमार गिरीले पिसिआर ल्याब स्थापनाको पृष्ठभूमि र उद्देश्यका बारेमा प्रष्ट पार्दै नागरिकको पवित्र भावनालाई कमजोर ठान्न नहुने बताएका छन् । कार्यक्रमको सहजीकरण अभियानका सदस्य एवम् नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।
मुख्यमन्त्री राईले सहारा नेपालद्धारा कोटीहोममा संचालनमा ल्याइएको सहारा कनकाई सर्पदंश उपचार केन्द्रको समेत अनुगमन गर्दै यसलाई थप व्यवस्थित गर्न प्रदेश सरकारको तर्फवाट आवश्यक पहल गर्ने बताए ।