कनकाई खबर / अन्तर्राष्ट्रिय सामाजिक संस्थाको रुपमा स्थापित रोटरी क्लव अफ सुरुङ्गाको भातृ संगठनका रुपमा गठनको प्रक्रियामा रहेको रोट्रयाककालागि सुरुङ्गामा प्रारम्भिक चरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२०/२१ का अध्यक्ष टिकाप्रसाद जमरकट्टेलको सभापतित्व रहेको अन्तरक्रिया कार्यक्रमको रोट्रयाकका केन्द्रिय उपाध्यक्ष सन्नी गोयल, रोट्रयाक विर्तामोडका संस्थापक अध्यक्ष सरद जोशी, दमकका संस्थापक अध्यक्ष बिरोध सुबेदी, विर्तामोड मिडटाउनकी वर्तमान अध्यक्ष प्रकृति न्यौपाने लगायतले सहजीकरण गरेका थिए ।

युवाहरुमा अन्तरनिहित क्षमताको विकास गर्दै सकारात्मक सोचका साथ सामाजिक क्षेत्रमा लाग्ने प्लेट फर्मका रुपमा लिन सकिने रोट्रयाक क्लब विश्वका १ सय ८४ वटा देशमा ८ हजार २ सय ३२ वटा क्लब स्थापना भइसकेको रोट्रयाकका केन्द्रिय उपाध्यक्ष सन्नी गोयलले जानकारी दिएका छन् । नेपालमा १ सय ३२ वटा क्लब संचालनमा रहेको रोट्रयाकमा विश्वभरीमा १ लाख ९० हजार सदस्य रहेको बताइएको छ ।
समाजमा समस्या देखाउँने मात्र होइन, आएका समस्याको समाधान गर्न पनि अग्रसरता देखाउँने संस्थाको रुपमा रोट्रयाकको भूमिका महत्वपूर्ण हुने भन्दै भविष्यमा केही गर्ने सम्भावना बोकेका युवा बर्गलाई मार्ग निर्देश गर्ने उद्येश्यका साथ सुरुङ्गामा रोट्रयाक स्थापना गर्न लागिएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले बताएका छन् ।
रोटरी क्लब अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेतीको स्वागत तथा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले औचित्यमाथि प्रकाश पारेको अन्तरक्रिया कार्यक्रममा सहभागि प्रशिक्षार्थीका तर्फवाट डाक्टर मनिष उप्रेती र सारिका गिरीले आआफ्नो बिचार राखेका थिए ।
सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्वहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले स्थापनाको छोटो समयमै विभिन्न सामाजिक गतिविधि गर्दै आएको बताउँदै रोटरीयन शिब कडेलले चाँडै रोट्रयाक क्लब गठन गरी सार्वजनिक गरिने बताएका छन् । अन्तरक्रिया कार्यक्रमको संचालन क्लबका महासचिव तुलसी बिमलीले गरेका थिए ।