कनकाई खबर / झापाको सुरुङ्गामा एक हप्ताअघिदेखि संचालन भएको योग सप्ताह कार्यक्रम शुक्रवार समापन भएको छ ।
सुरुङ्गा रोटरी क्लवको नेतृत्वमा पतञ्जली योग कनकाई नगर समिति र सुरुङ्गा योग साधना केन्द्रको संयोजनमा योग सप्ताह कार्यक्रम संचालन भएको हो । योग सप्ताह समापन कार्यक्रमलाई सम्बोधन गर्दै झापा निर्वाचन क्षेत्र नं.४ का प्रदेश सभा सदस्य हिरा थापाले योग अभ्यासको माध्यमबाट स्वस्थ खानपान साथै सकारात्मक सोचको विकास हुने भएकाले यस किसिमको अभ्यासलाई हरेक टोल टोलमा अभियानका रुपमा संचालन गर्नु पर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य थापाले शारीरीक र मानसिक रुपमा समेत अस्वस्थ बन्दै गएको मानव समुदायमा योगअभ्यासको भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् । हरेक अभिभावकले आफ्ना सन्ततीकालागि सम्पत्ति भन्दा पनि संस्कार दिनु पर्ने आजको आवश्यक्ता रहेको भन्दै थापाले योगअभ्यासको माध्यमवाट सभ्य समाजको निर्माण हुन सक्ने कुरामा जोड दिएका छन् ।
पतञ्जली योग समिति कनकाई एवम् सुरुङ्गा रोटरी क्लव वर्ष २०२०/०२१ का अध्यक्ष टिकाप्रसाद जमरकट्टेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा योगअभ्यास संचालनको औचित्यमाथि प्रकाश पार्दै सुरुङ्गा रोटरीका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले स्वस्थ र सभ्य समाज निर्माणकालागि योगअभ्यासलाई क्लबले वार्षिक कार्ययोजनाका रुपमा अघि बढाउँने बताएका छन् । क्लवकै सक्रियतामा सुरुङ्गामा योग साधना केन्द्र स्थापना गरी नियमित संचालन भइरहेको बताइएको छ ।

युवा योग गुरु प्रतापबाबु जमरकट्टेलले सहजीकरण गरेको योग सप्ताह कार्यक्रममा कनकाई घाट समितिका अध्यक्ष प्रभाखर कडरीया, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडा, कनकाई नगर वडा नं. ३ का वडा सदस्य युवराज चम्लगाईँ, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बू लगायतले कनकाई नगरलाई योगको हब बनाउँनु पर्नेमा जोड दिएका छन् । सुरुङ्गा योग साधना केन्द्रकी संयोजक गोमादेवी निरौला ढुङ्गेलको स्वागत मन्तव्य रहेको औपचारीक कार्यक्रमको संचालन योगसमिति कनकाईका महासचिव रामप्रसाद निरौलाले गरेका थिए ।