काठमाडौं \ यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेको बताएको छ ।
महासचिव सिटौलाले रातो प्लेटबाट कोरोना नसर्ने जसरी कानूनविपरित भाडा उठाएर रातो प्लेटका सवारीले यात्रु बोकिरहेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरिएको बताए । उनले सरकारले दिएको निर्देशनअनुसार यातायात व्यवसायीहरु अनुशासित भएर बसेको अवस्थामा निजी सवारीहरुले यसैलाई मौका बनाएर कमाउधन्दा चलाइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाए । अनलाइन खवरबाट