राम निरौला,
कनकाई खबर \ झापाको कनकाईमा पाँच दिन अघि सिल गरिएका १५ घर फुकुवा भएका छन् । कोरोना संक्रमणको आशंकामा असार ८ गते कनकाई नगरपालिका वडा नं. ७ का १५ घर सिल गर्दै रातो झण्डा गाडिएको थियो । यसका साथै असार १३ गते शनिवार रातको १२ बजे सम्मलाई नगर क्षेत्रमा बन्द गरिएको अन्य सेवा खुल्ला गरिएको छ ।
पछिल्लो चरणमा कनकाई नगरपालिकाको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षिय एक महिलाको कोरोना भाइरसको पिसिआर रिपोर्ट पोजेटिभ देखिएसँगै समुदायमा कोरोना संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै कनकाई नगरपालिकाले नगर क्षेत्रमा थप कडाई गरेको थियो ।
कुबेतवाट आएकी कनकाई नगरपालिका ७ निवासी ती महिलाको सम्पर्क समुदायमा समेत भएको हुँदा कोरोना भाइरस फैलिने उच्च जोखिमका कारण सम्वन्धित व्यक्तिको घरपरिवारसहित ३१ जनाको कन्टेक ट्रेसिङसहित स्वब संकलन गरिएको थियो । स्वब संकलनको पिसिआर रिपोर्ट सवै नेगेटिभ आएपछि सिल गरिएको कनकाई नगर क्षेत्रका १५ परिवार साथै सेवा बन्द गरिएको नगरका सात वटा वडालाई खुल्ला गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभएको छ ।

यस अघि भएको पाँच दिनकालागि अत्यावश्यक सेवा बाहेक कनकाई नगरका वडा नं.१ देखी वडा नं.७ भित्रका सम्पूर्ण बजार/पसल, शैक्षिक संस्था, नगरपालिका कार्यालय, वडा कार्यालयहरु, बैंक तथा बित्तिय संस्थाहरु, सहकारीहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय शनिवार रातको १२ बजेदेखी फिर्ता भएको नगर प्रमुख पोखरेलले जानकारी दिनुभएको छ । नगर प्रमुख पोखरेलका अनुसार थप जटिलता नआए सम्म आइतवारदेखि नगर क्षेत्रमा हाल बन्द रहेका हाट बजार साथै नेपाल सरकारको सर्कुलर अनुसारका अन्य सेवा सुचारु हुने जनाइएको छ ।