कनकाई खबर \ विश्व रक्तदाता दिवसको सवसरमा झापाको सुरुङ्गास्थित जेसीज भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोनाको कहरसँगै सरकारले गरेको लकडाउनका कारण जिल्लामा भएको रगतको अभावलाई मध्यनजर गर्दै कनकाई नगरको सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कनकाई नगरमा क्रियाशिल सामाजिक संस्थाहरु नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा, रोटरी क्लव अफ कनकाई सुरुङ्गा , सुरुङ्गा जेसिज, सुरुङ्गा सहकार्य युवा क्लवको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको रेडक्रस सुरुङ्गाका सभापति प्रविन तिम्सिनाले बताए । कार्यक्रममा पतन्जली योग कनकाई नगर समितिका अध्यक्ष शिक्षासेवी टिकाप्रसाद जमर कट्टेलले २७ औं पटक रक्तदान गरेका थिए ।
कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सहयोगी संस्थाका रुपमा जामुनखाडी कृषि सहकारी संस्था लि. र सूर्योदय युवा क्लव रहेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी विर्तामोड ब्लड बैंक शाखा रहेको रोटरी क्लव अफ कनकाईका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिएका छन् ।