कनकाई खबर / सस्तो र सुलभ स्वास्थ्य सेवा दिने उद्येश्यका साथ झापाको सुरुङ्गामा रहेको प्रस्तावित नगरस्तरीय स्वास्थ्य अस्पतालमा एक्स —रे, इसिजी साथै ल्याब सेवा संचालनमा आएको छ ।
सोमवार एक कार्यक्रमका विच कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, नगर स्वास्थ्य प्रमुख ब्रजेश मेहेता लगायतले थप स्वास्थ्य सेवाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्येश्यका साथ सेवा विस्तार भएको स्वास्थ्य अस्पतालमा आगामी साउन १ गतेदेखि विशेषज्ञ सेवाका साथै जतिसक्दो चाँडो भिडियो एक्स—रे सेवा समेत संचालनमा आउँने कनकाई नगरका स्वास्थ्य प्रमुख ब्रजेश मेहेताले जानकारी दिएका छन् । स्वास्थ्य अस्पतालवाट सवै नागरिकलाई अत्याधुनिक उपकरणसहितको निशुल्क स्वास्थ्य सेवा पुर्याउँने सरकारको नीति अनुसार आवश्यक जनशक्ति सहित सेवा विस्तार गरिएको नगर स्वास्थ्य प्रमुख मेहेताले बताए ।
कनकाई नगर लगायत आसपासका नगरपालिका शिवसताक्षी र अर्जुनधारा, गाउँपालिका तर्फ झापा गाउँपालिका र बाह्रदशी लगायतका स्थानवाट पनि बिरामीको स्वास्थ्य उपचार सेवा हुन सक्ने यस नगर अस्पतालमा थप सेवा विस्तारकालागि स्थानीय सरकारले अब कसैको बाटो नहेर्ने कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । समृद्ध नेपाल र सुखी नेपालीको पहिलो आवश्यक्ता नै स्वस्थ जीवन भएकाले जनताको भावनालाई बुझेर स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमीक्तामा राखेको नगर प्रमुख पोखरेलले वताए ।
अस्पताल व्यवस्थापन समितिका संयोजक समेत रहेका कनकाई नगर प्रमुख पोखरेलको सभापतित्व एवम नगर स्वास्थ्य प्रमुख मेहेताले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपाने, विभिन्न वडाका वडाअध्यक्षसहित कार्यपालिका साथै वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । नगर उपप्रमुख मन्जु प्रसाई, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, नेकपा कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल लगायतले मन्तव्य राखेको औपचारीक कार्यक्रमको संचालन वडा नं.३ का वडा सदस्य युवराज चम्लगाईँले गरेका थिए ।