राम निरौला,
कनकाई खबर / ग्रामिण क्षेत्रका अधिकांश युवाहरु यतिबेला कृषिमै आफ्नो भविष्य खोज्ने कार्यमा व्यस्त छन् ।
खाडी मुलुकमा गरेको श्रम र त्यहाँ बगाएको पसिना भन्दा आफ्नै माटोमा परिवारका साथ भएको उत्पादनमा मिठो स्वाद पाउँन सकिने भन्दै युवाहरुले कृषिलाई प्राथमिक्तामा राखेका हुन् । समाजका यस्तै यस्तै युवाहरु मध्येका एक प्रतिनिधी पात्रका रुपमा यतिबेला झापा कनकाई नगरको एक ग्रामिण बस्तीका युवा—लोकनाथ घिमिरेको परिश्रमलाई उदाहरणका रुपमा लिन सकिन्छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट जोगीन सवैजना गुप्तबास बसेका बेला पनि कृषिलाई जिविकोपार्जनको मुख्य आधार बनाउँने प्रयासमा लागेका घिमिरे यतिबेला कृषि कर्ममै रमाउँन थालेका छन् ।

थोरै मात्र श्रम र समय दिएर पनि कृषिबाट राम्रै आम्दानी हात पार्न सकिने घिमिरेको बुझाई छ । घरमा पाँच जनाको परिवार भए पनि कृषि कार्यमा घिमिरेलाई आफ्नी श्रीमतिले भने राम्रै सहयोग गर्दै आएकी छन् । घिमिरे दम्पतीले यस पटक १५ कठ्ठा जमिनमा मकै र ८ कठ्ठामा चैते धान लगाएका छन् । बिहान बेलुका मात्र खेतीलाई समय दिँदै आएका घिमिरे दिउँसोको समयमा एक सहकारी संस्थाको बजार प्रतिनिधीका रुपमा कार्यरत छन् ।
यस पटक मकै १ सय मन र चैते धान ५० मन उत्पादन हुन सक्ने घिमिरेको अनुमान छ । घिमिरे दम्पतीले लकडाउनको सदुपयोग गर्दै आफ्नो करेसाबारीमा फलाएको सब्जीले आफ्नालागि मात्र नभएर छिमेकी र आफन्तजनकालागि समेत सहज भएको छ । अन्न बाली साथै सब्जीमा कुनै पनि विषादीको प्रयोग नगरेको बताउँने घिमिरेले हाल सम्म गोबर मलका साथमा गहुँत र पिनाको प्रयोग गर्दै आएका छन् । समयको व्यवस्थापन मिलाउँदै बिहान बेलुका मात्र कृषिलाई समय दिएर पनि राम्रो उत्पादन गर्दै आएका घिमिरेले परम्परागत कृषि प्रणालीलाई बैज्ञानीक बनाउँन सकेमा हरेक युवाहरुलाई स्वदेशमै आत्म निर्भर बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।