कनकाई खबर \झापाको शिवसताक्षी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि व्यवस्थापन गरेको नगरस्तरीय बिपत कोषको आय व्यय सार्वजनिक गरेको छ ।
आय व्यय विवरण सार्वजनिक गरेसँगै शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले कोरोना भाइरसको प्रभाव, विकास निर्माण साथै नगरको भावी योजना लगायतका विषयमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । नगरप्रमुखको कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा नगरका प्रमुख शेर्माले राहत कोषमा ९० लाख २५ हजार ५ सय ४६ रुपैयाँ संकलन भएको जानकारी दिए । उनका अनुसार कोषबाट ५१ लाख ५३ हजार ५ सय ७५ खर्च भएको छ । साथै हाल सम्म कोषमा ३८ लाख ७१ हजार ९ सय ७१ मौज्दात रहेको बताइएको छ ।
शिवसताक्षी नगर क्षेत्रमा कोरोना नियन्त्रणकालागि भएको व्यवस्थापन प्रभावकारी भएकै कारण कोरोना नदेखिएको नगर प्रमुख शेर्माले बताएका छन् । उनले हालसम्म क्वारेन्टिनमा १ सय ७ जनालाई राखिएको जानकारी दिए । जसमा आर डिटि विधिबाट ५९ जना र पिसिआर विधिबाट ५८ जनाको कोरोना परीक्षण गरी नेगेटिभ रिर्पोट आएपछि सबैलाई घर पठाइएको नगर प्रमुख शेर्माले बताए । हाल क्वारेन्टिनमा १७ जना रहेका छन् । स्वाब संकलनकालागि ४ सय ५० भिटिएम किट र आर डि टी परिक्षणकालागि करिब ५ सय किट नगरमा मौज्दात रहेको समेत जानकारी गराइएको थियो ।
नगरपालिकाका प्रबक्ता नबिन इजमले आय व्यय विवरणको विस्तृत रुपमा जानकारी दिँदै कोषको आम्दानी तर्फ नगरपालिकामा प्राप्त दाताहरुको १७ लाख १७ हजार ६८५, नगरपालिकाबाट १० लाख, जनप्रतिनिधिहरुबाट ४ लाख २८ हजार रहेको बताए । त्यस्तै कर्मचारीहरुबाट १ लाख ९७ हजार ३७४, प्रदेश सरकारबाट १० लाख, नगरको प्रकोप व्यवस्थापन कोषको ४६ लाख ८२ हजार ४८७ रहेको प्रबक्ता इजमले बताए ।
कोरोनाका कारण मुलुकभरी नै लकडाउन भएपछि विपतमा परेका ३ हजार ३ सय २४ परिवारलाई दुई चरणमा गरी नगरपालिकाले राहत वितरण गरेको नगर उपप्रमुख भोजकुमारी नेपालले पत्रकार सम्मेलनमा जानकारी दिएकी छन् । लकडाउन केही खुकुलो बन्दै गएपछि नगर क्षेत्रभित्र विकास निर्माणको काम गर्ने अवस्था सिर्जना गरेको, नगरपालिकामा प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १ सय ८३ जनालाई रोजगार दिइरहेको उपप्रमुख नेपालले बताएकी छन् । सामाजिक सुरक्षा भत्ता समेत वितरण गरेर स्थिती सहज बनाउँदै गएपछि पनि कोही नगरवासीको घरमा चुलो नै नबल्ने अवस्था सिर्जना भएमा विकाश निर्माणको कामलाई रोकेर भएपनि नगरबासीलाई भोकै मर्न नदिने शिवसताक्षी नगरकी उपप्रमुख नेपालले उद्घोष गरेकी छन् ।
पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, प्रमुख लेखा अधिकृत प्रकाश योङहाङ, स्वास्थ्य शाखाका संयोजक हरी विमली लगायतको सहभागिता थियो ।